एमाले नेताकी पत्नी संलग्न सहकारी डुब्नुको रामकहानी

एमाले नेताकी पत्नी संलग्न सहकारी डुब्नुको रामकहानी
सुन्नुहोस्

मोरङको धनपालथान गाउँपालिका–४, कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारीको बचत हिनाममिन गरेको कसूरमा जिल्ला अदालतमा २६ जनालाई प्रतिवादी बनाइएको छ । सहकारीका सञ्चालक समिति सदस्य रोशन राजवंशी बाहेक अरु सबै फरार छन् ।

जवंशीलाई मोरङ जिल्ला अदालतले गत मंसिर २८ गते पुर्पक्षका लागि कारागार पठाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकीलको कार्यालयले सार्वजनिक लेखा समिति सभापति ऋषि पोखरेलपत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध सहकारी रकम हिनामिनाको कसूर लगाएको छ । राजवंशीले सहकारी डुब्नुमा आफूहरु सबै जिम्मेवार रहेको बताउँदै बयानमा भनेका छन् : 

मोरङको धनपालथान गाउँपालिका–४, कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्था लिमिटेडको दर्ता १३ वर्षअघि वि.सं. २०६८ सालमा भएको थियो ।संस्थाको अध्यक्षमा मेरा चिनजानका शम्भुप्रसाद रौनियार थिए । म शुरुवातदेखि नै यस सहकारीको बचतकर्ता हुँ । यापारका लागि केही रकम आवश्यक परेको थियो । सहकारीले १४ प्रतिशत ब्याजमा कर्जा दिने थाहा पाएपछि अध्यक्ष रौनियारसँग कुरा गरेँ । 

उनले मलाई आफ्नो घरको सदस्यको जग्गा धितो राखेर कर्जा निकाल्छु अनि तपाईं लैजानु भने । साथै, उनले संस्थाको शेयर सदस्य बन्न सुझाव दिए । राम्रो चलेको संस्था ठानेर म शेयर सदस्य बन्न राजी भएँ । २०७१ असोज २६ गते मलाई सहकारीले सञ्चालक समितिमा मनोनित गर्यो । म सञ्चालक हुँदा अध्यक्षमा रौनियार, उपाध्यक्षमा दिलमाया राई, सचिवमा आलम अन्सारी, कोषाध्यक्षमा शम्भुप्रसाद सिंह र सदस्यहरुमा मित्रप्रसाद शिवाकोटी, अशोककुमार विश्वासलगायत थिए । 

२०७३ मा अध्यक्ष रौनियारले मेरी आमा होमकुमारीको नाममा रहेको कर्सिया बजारको एक कठ्ठा १६ धुर जग्गा सिभिल बैंक, बिराटनगरमा धितो राखेर उमागौरी सहकारीको नाममा ८० लाख रुपैयाँ कर्जा लिए । तर, मलाई उनले ३० लाख मात्र दिए । बाँकी रकम उनले सहकारीको लगानी ब्याजसहित चाँडै आउने अनि जग्गा फुक्का गरिदिने आश्वासन दिइरहे । 

२०७४ मा मैले नेपाली काँग्रेसबाट वडाध्यक्षको टिकट पाएँ र निर्वाचित भएँ । वडा कार्यालयको काममा व्यस्त हुन थालेँ । म सहकारी आउँदिन थिएँ । सहकारीमा के भइरहेको छ भन्ने मलाई जानकारी हुँदैन्थ्यो । अध्यक्षले निर्णय पुस्तिकामा हस्ताक्षर गराउन वडा कार्यालयमै पठाउँथे । उनले फरक पर्दैन भन्दै सही गराउँथे । 

मलाई बैंक तथा वित्तिय संस्थाबाट के–कति कर्जा गयो ? कति रकम आयो ? भन्ने थाहा हुँदैनथ्यो । २०७३ पुस २ गते साधारण सभाबाट विराटनगर निवासी अञ्जला कोइराला सञ्चालक सदस्यमा मनोनित भएर आइन् । उनका पति राजनीतिक पहुँचवाला थिए । २०७९ फागुनमा अध्यक्ष रौनियार र सचिव अन्सारीविरुद्ध आएसडिसी लघुवित्तले जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा चेक बाउन्स मुद्दा दर्ता गर्यो । 

त्यसपछि मात्र मैले संस्थामा हिनामिना भएको कुरा थाहा पाएँ । अनि राजीनामा बुझाएँ । तर, अध्यक्षले त्यसमाथि कुनै सुनुवाई गरेनन् । संस्थाको रकम कहाँ–कहाँ र कसरी लगानी भएको छ ? हिसाबको विवरण खोइ ? भनेर सोधखोज गर्दा सबै ठीक छ भनेर जवाफ दिन्थे । यसबीच शेयर सदस्य, ऋणी र बचतकर्ताहरुले कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयमा लिखित उजुरी दिए । 

त्यसपछि उनीसहित हामीहरुले १५ दिनभित्र सबैको रकम फिर्ता गर्ने आपसी सहमति जनायौं । तर, संस्थाको हिसाबकिताबबारे सम्पूर्ण जानकारी भएको अध्यक्ष रौनियार भागिभागि हिँड्न थाले । अन्य सहकारीका सञ्चालक पनि भूमिगत भए । हामीले अध्यक्ष रौनियारविरुद्ध सहकारीको रकम दुरुपयोग भएको भनि उजुरी दिने तयारी गरिरहेका थियौं । 

त्यहीँ बेला अध्यक्ष रौनियारसहित नौ जना सञ्चालक सदस्यविरुद्ध पक्राउ पूर्जी जारी भयो । गत मंसिर २ गते म आफैं प्रहरीमा उपस्थित भए । म आफैं पीडित भएको हुँदा निवेदनसहित प्रहरीकहाँ पुगे । मुद्दाको बयानको क्रममा मिसिलमा रहेका विभिन्न कागजातहरुमा मेरो हस्ताक्षर अरुले नै गरेको देखिएको छ । यसैले सहकारी रकम हिनामिनामा मेरो संलग्नता छैन । कसूरकर्ता अध्यक्ष रौनियार हुन् । 

मैले बुझेअनुसार उमागौरीबाट ऋण प्रवाह गर्दा एक लाखसम्म बिना धितो र त्योभन्दा बढीका लागि जग्गा धितो राखेर सहकारी आफैंले बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर लगानी गर्ने गरेको थियो । सबै लगानी अध्यक्षले हामी सञ्चालकसँग नगरी एकलौटी रुपमा गरेका हुन् । २०७४ मा उमागौरी र नबिल बैंकबीच ४ प्रतिशत ब्याजमा १० लाखसम्म महिला उद्यमी कर्जा दिने सम्झौता भएको थियो । 

सहकारीले बैंकबाट लिएको कर्जाभन्दा थोरै मात्र ऋणीहरुलाई दिने गरेको रहेछ । पछि ऋणीहरुबाट रकम हिनामिना गरेको व्यापक गुनासो आउन थालेपछि म आफैं नबिल बैंक, विराटनगर शाखामा गएर व्यवस्थापक सुभाष आचार्यसँग भेटे । उनले ऋणीहरुको ऋण स्वीकृत भएको तर उनीहरुको खाताको ऋणको रकम अन्यले पनि झिक्न पाउने कागजातले संस्थाका कर्मचारीहरुले नै ऋणीको रकम निकालेर लैजाने गरेको जानकारी गराए । 

त्यसपछि रौनियारसँग सोधखोज गर्दा शेयर सदस्यहरुले माग फाराम भरेअनुसार मात्र ऋण उपलब्ध गराएको र बैंकबाट निकालेको रकम आफूले समेत प्रयोग गर्ने गरेको बताए । उनले केही समयमै चुक्ता गर्छु नआत्तिनु भने । आर्थिक वर्ष २०७४–०७५ मा उमागौरीको सञ्चालक समितिमा अध्यक्ष रौनियार, उपाध्यक्षमा राई, सचिवमा आलम अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह र सदस्यहरुमा आमोद मण्डल, अन्जला कोइराला र म थियौं । लेखा समितिमा संयोजक सञ्जिव विष्ट र सदस्यहरु सुरेन्द्र राजवंशी र परमानन्द झा थिए । 

२०७५–०७६ सालमा लेखा समिति संयोजक विजयकुमार यादव र सदस्य अशोककुमार विश्वास मनोनित भए । म सञ्चालक समितिमा यथावत् रहे । २०७८–०७९ को साधारण सभाबाट मसहित उपाध्यक्ष राई र सदस्य कोइरालाको राजीनामा स्वीकृत भयो । उपाध्यक्ष उपासी राजवंशी, सदस्यमा जितमान ठाकुर र मेरो ठाउँमा यशोदाकुमारी राजवंशी चयन भए । अघिल्लो वर्ष भएको बाह्रौं साधारण सभाबाट उपाध्यक्षमा लक्ष्मण साह चयन भए । सहकारीमा सबै पदाधिकारी र सञ्चालक सदस्यहरु अध्यक्ष रौनियारले छानेकै चयन हुन्थें । किनकी तिनले हिसाबकिताब उनले भनेझैं मिलाउन सहयोग गर्थें । सहकारीका बचतकर्ता, ऋणी र शेयर सदस्यहरुको रकम अपचलन गर्ने रौनियार नै हुन् । यस कार्यमा उनलाई तत्कालीन उपाध्यक्ष राईले पनि साथ दिएकी थिइन् । 

यता, सहकारीको ख्याति बढाउन मात्र सदस्यमा कोइरालालाई राखिएको हो । उनको श्रीमान् राजनीतिक रुपमा प्रतिष्ठित व्यक्ति भएकाले रौनियारले समितिमा राखेका हुन् । कोइराला र मलगायतले संस्थाको यो हविगत हुन नदिन आफ्नो दायित्व पुरा गर्न नसक्नु हाम्रो कमजोरी हो । कर्मचारीहरु सोनु यादव र मोहम्मद नजामुद्दिनको पनि सहकारी डुबाउनमा उत्तिकै हात छ । उनीहरुले रौनियारको निर्देशनमा बचतकर्ता, सदस्य र ऋणीहरुको रकम बैंकमा डिपोजिट गर्ने र भुक्तानी लिने गर्दथें । संस्थामा सबै पदाधिकारीको सराबरी दायित्व हुने भएकाले हामी सबै सहकारी डुब्नुमा जिम्मेवार छौं ।

टिप्पणीहरू