सदस्य बन्न डिएलएदेखि बूढानीलकण्ठसम्म दौड
न्यायपरिषदमा रिक्त सदस्य पदका लागि चाँडो नाम पठाउन यतिबेला नेपाल बार एशोसिएसनलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतदेखि परिषद्का सदस्यसम्मले दबाव दिइरहेका छन् ।
बारको सिफारिसमा सदस्य बनेका रामप्रसाद श्रेष्ठले गत पुस १५ गते अवकाश पाएपछि रिक्त एक सिटमा कांग्रेसनिकट आधा दर्जन ‘वरिष्ठ’ हरूको आँखा परेको छ । प्रधानन्यायाधीशको अध्यक्षता रहने पाँच सदस्यीय न्यायपरिषदमा एक जना वरिष्ठ न्यायाधीश र कानुनमन्त्री पदेन सदस्य रहने संवैधानिक प्रावधान छ । राष्ट्रपतिबाट प्रधानमन्त्रीको सिफारिसमा एकजना र नेपाल बारको सिफारिसमा अर्को एक सदस्य नियुक्त हुन्छन् । परिषद् सदस्यको अभावका कारण सर्वोच्चमा पाँच र उच्चमा १८ न्यायाधीशहरूको पद रिक्त हुँदा पनि निर्णय हुन सकेको छैन ।
न्यायाधीशको नियुक्तिदेखि कारबाहीसम्मको अधिकार भएकाले परिषद्को सदस्य हुन दौडधुप हुने गर्छ । बारमा कांग्रेसनिकट डेमोक्रेटिक लयर्श एशोसिएसन (डिएलए) को बहुमत रहेका कारण त्यतैबाट जाने बढी सम्भावना छ । स्रोतले जनाएअनुसार वरिष्ठ अधिवक्ता हरिशंकर निरौला, प्राडा अम्बरप्रसाद पन्त, प्राडा रजितभक्त प्रधानांग, महादेव यादव, दामोदर खड्का, सुजन लोप्चन र रेवत खरेल आकांक्षी छन् । निरौला सर्वोच्च बारका अध्यक्ष हुन् । पन्त त्रिभुवन विश्वविद्यालय कानुन संकायमा डिन थिए । प्रधानांग ल क्याम्पसका पूर्वप्रमुख हुन् । फौजदारी कानुनका विज्ञ मानिन्छन् ।
यादव शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला महान्यायाधिवक्ता थिए । लोप्चन तराई, मधेस तथा थरुहट आन्दोलनका क्रममा राज्यबाट भएको शक्ति प्रयोगबारे जाँचबुझ गर्न २०७३ मा गठित लाल आयोगमा सदस्य थिइन् । खरेलले हालै सर्वोच्चबाट वरिष्ठको उपाधि पाएका थिए । खड्का सर्वोच्च बारको निर्वाचनमा पराजित भएका कारण सहानुभूति पाउने आशामा छन् । बूढानीलकण्ठ नगर कांग्रेस सभापति भइसकेका व्यक्ति हुन् ।
परिषद् सदस्यका लागि दामोदरलाई पूर्व न्यायाधिवक्ता खम्मबहादुर खाती र बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काको जोडबल रहेको स्रोतले जनाएको छ । कांग्रेसबाट राष्ट्रिय सभामा सांसद रहिसकेका र देउवा प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेका कारण यादवलाई बलियो दाबेदारका रूपमा हेरिएको छ । कांग्रेस महाधिवेशन ताका केन्द्रीय निर्वाचन समितिको संयोजकबाट राजीनामा दिनुलाई भने कमजोरीका रूपमा लिइएको छ ।
यादवको राजीनामापछि हाल बार अध्यक्ष रहेका गोपालकृष्ण घिमिरेले समिति संयोजकको जिम्मेवारी सम्हालेका थिए । घिमिरे भने अहिलेसम्म कतैतिर खुलेका छैनन् । अध्यक्ष घिमिरे कोइरालानिकट मानिन्छन् । देउवाले कसैका लागि भने पनि सितिमिति घिमिरेले मान्नेमा आशंका छ । डिएलए अध्यक्ष सीताराम केसी पनि कोइराला खेमाकै हुन् ।
बारभित्र देउवा खेमाको बहुमत छ । त्यहाँ कांग्रेसनिकट डिएलएमा आबद्ध कानुन व्यवसायीको दुई तिहाइ छ । २५ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित १५ जना डिएलए निकट छन् । यस्तै, ५ जना माओवादीनिकट छन् भने ४ जना नेकपा एकीकृत समाजवादी हुन् । उपेन्द्र यादव नेतृत्वको जसपानिकट १ जना छन् ।
टिप्पणीहरू