राजमार्गमा चैं कोरोना लाग्दैन र !

राजमार्गमा चैं कोरोना लाग्दैन र !

कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि भन्दै सरकारले जारी गरेको निषेधाज्ञा कायम छ । काठमाडौँ उपत्यकालगायत देशका मुख्य शहरहरु अहिले पनि निषेधाज्ञामै छन् । राजधानीसहित देशका अधिकांश ठाउँमा निषेधाज्ञा गरिएपनि राजमार्गहरुमा भने सवारी साधनको ताँती बढिरहेको छ ।

निषेधाज्ञालाई नै चुनौती दिने गरी पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गमा देखिएको सवारी साधनको चापले नेपालमा कोरोना महामारी छ भन्ने नै बिर्साइदिन्छ । अघिल्लो महिना साइरन बजाउँदै राजमार्गमा हुँइकिने एम्बुलेन्सको संख्या अहिले निकै कम देखिन थालेको छ । त्यतिबेला अस्पतालहरु भरिभराउ थिए । बिरामीहरुको चाप पनि उत्तिकै थियो र एम्बुलेन्सहरुको व्यस्तता उस्तै थियो ।

उपत्यकाबाट त्यसरी निस्फिक्री बाहिरिएकाहरुले गाउँ-गाउँमा कोरोना फैलाए त्यसले ल्याउने परिणाम कति भयावह होला ?

अहिले सडकमा एम्बुलेन्सको संख्या घटेको छ । तर,अन्य सवारी साधनको भीड बाक्लिएको छ । राजमार्गमा लामो दूरीका यात्रुवाहक सार्वजनिक बस,साना सवारी साधनहरु,मालवाहक ठूला ट्रक,आयल नियमका ग्याँस र इन्धन बोकेका ट्यांकर,बस,ट्रक, टिपर,ट्याक्टरलगायतका सवारी साधनको ताँती लागिरहेको छ । राजमार्गमा बढेको सवारी चापले काठमाडौँको निषेधाज्ञालाई गिज्याइरहेको भान हुन्छ ।

सडकमा बढेको सवारी साधनको चाप देख्दा देशमा कोरोनाको भयावह अवस्था छ र सरकारले नियन्त्रणका उपाय अपनाइरहेको छ भन्ने नै लाग्दैन । नागढुंगामा उपत्यकाबाट बाहिरिनेलाई निस्फिक्री छोडिएको छ । थानकोट मुनि अलिकति चेकजाँच कडाई त छ,तर रोकेको छैन । नागढुंगामा राजधानी प्रवेश गर्नेलाई केही कडाई गरेको देखिन्छ,बाहिरिनेलाई कुनै बन्देज छैन । नाकामा भित्रिनेलाई कडाइ गर्दा उपत्यका छोड्नेलाई बेहिसाब किन छोडिएको हो बुझिनसक्नु छ । यो देख्दा कोरोना संक्रमण नियन्त्रण र रोकथाम उपत्यकाका लागि मात्र गरिएको हो कि भन्ने लाग्छ । उपत्यकाबाट त्यसरी निस्फिक्री बाहिरिएकाहरुले गाउँ-गाउँमा कोरोना फैलाए त्यसले ल्याउने परिणाम कति भयावह होला ? त्यसतर्फ सरकारको ध्यान पुगेको देखिंदैन ।

एकातिर कोरोनाको कहर, अर्कोतिर बाढी पहिरोको जोखिम । राजमार्ग छेउछाउमा बाढी पहिरो गैरहेको छ । ठाउँ ठाउँमा पुल भत्केका छन् । बाटो बिग्रेको छ । तै पनि राजमार्गमा दौडिने सवारी साधनको संख्या बढिरहेको छ ।

राजमार्गको तुलनामा बरु उपत्यकाका सडकहरुमा सवारी साधनको संख्या कम देखिन्छ । यात्रुवाहक बस नचलेको भएपनि प्राइभेट र सरकारी गाडीको फ्लो भने उपत्यकाका सडकमा पनि उस्तै छ । तर,त्यसरी बाहिर निस्केका सवारी साधनलाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै कम्तिमा होल्डमा राख्ने गरिएको छ । जसका कारण सापेक्षित रुपमा काठमाडौँ उपत्यकामा कम भीडभाड देखिन्छ ।

निषेधाज्ञाको विकल्प के हुनसक्थ्यो,त्यो अलगै बहसको विषय बन्न सक्ला । तर,कोरोना नियन्त्रणका लागि भनेर गरिएको बन्दाबन्दी कायम रहेकै बेला बेहिसाब आवागमन खुला गर्नु र सडकमा सवारी साधनको चाप अत्यधिक हुनुले महामारीप्रति हाम्रो संवेदनशीलता देखाउँदैन र !

महिनौँ लामो लकडाउन जारी रहेकै बेला सरकारले स्मार्ट लकडाउनको कुरा गरेको छ । तर,त्यो के हो थाहा छैन । कस्तो प्रकृतिको हुने हो बुझिएको छैन । कि ‘स्मार्ट लकडाउन’ भनेको सडकमा सवारी साधनको भीड बढ्नु हो !

(असार ३ गते काठमाडौँबाट बाहिरिएर ५ गते दाङ्ग छिचोलेका हाम्रा संवाददाताले राजमार्गमा प्रत्यक्ष अनुभव गरेको आधारमा तयार गरिएको सामाग्री)

टिप्पणीहरू