अदालतमाथि आक्रमणमा मानहानीको मुध्दा आकर्षित
प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुध्द आन्दोलनमा उत्रिएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट युवा नेता महेश बस्नेतले न्यायपालिकामाथि अभद्र,अमर्यादित र अशोभनीय टिप्पणी गरेकोलाई सर्वोच्च प्रशासनले गम्भीरतापूर्वक लिएको छ । अदालतको फैसला अस्वीकार गर्ने खुला चुनौती दिएका बस्नेतले अदालत सेटिङमा चलिरहेको आरोप लगाएसङ्गै यसलाई मानहानीको विषय बनाउन लागिएको हो ।
फैसला बाहिरिएलगत्तै आन्दोलनको नेतृत्व गर्दै माइतीघर मण्डला पुगेका बस्नेतले उग्र भाषण गरेका थिए । भाषणका क्रममा उनले सर्वोच्च अदालतलाई ‘घाँस खुवाएर’ सेटिङ्गमा फैसला गराएको गम्भीर आरोप लगाए ।
प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको नामै किटेर बस्नेतले एमालेलाई हराउन मन भए कांग्रेस प्रवेश गरेर चुनावमा आउन चुनौती दिए । बस्नेतको उग्र भाषण त्यतिमै रोकिएन,प्रधानन्यायाधीश राणाले अर्को खिलराज रेग्मी प्रकरण निम्त्याउन खोजेको पनि बताए ।
कुनै हालतमा फैसला कार्यान्वयन गर्न नदिने बस्नेतको अभिव्यक्तिलाई एक जना कानुन व्यवसायीले लोकतान्त्रिक चरित्र विपरित भएको बताए । अदालतको फैसलाप्रति विमति राख्न पाइन्छ तर अस्वीकार गर्छु भन्न पाइँदैन । तर,बस्नेतले फैसला कार्यान्वयन गर्न नदिने भन्दै न्यायपालिकामाथि गरेको अमर्यादित टिप्पणीले उनलाई मानहानीको मुध्दा लाग्ने ती कानून व्यवसायी बताउँछन् । उनले बस्नेतविरुद्ध आफैँ रिट लिएर अदालत जानसक्ने पनि बताएका छन् ।
टिप्पणीहरू