उपेन्द्रविरुद्धको मोर्चाबन्दीमा यता र उताका सबै सामेल

उपेन्द्रविरुद्धको मोर्चाबन्दीमा यता र उताका सबै सामेल

अध्यक्ष उपेन्द्र यादवविरुद्धको मोर्चाबन्दी कसिलो बन्दै जाँदा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजनको संघारमा पुगेको छ । एमसीसी विवादले बालबाल जोगिएको जसपा पछिल्लो समय नेताहरुको त्रिपक्षीय शक्ति संघर्षले पुन: फुटको दिशामा अघि बढेको हो ।

स्रोतका अनुसार कार्यकारी अध्यक्ष उपेन्द्रको अधिकार कटौती गर्न संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई,वरिष्ठ नेता अशोक राई र कृषि मन्त्रीसमेत रहेका नेता महेन्द्र राय यादव एक ठाउँमा उभिएपछि जसपामा विभाजनको रेखा कोरिएको हो । भट्टराई र महेन्द्र उपेन्द्रविरुध्द खुलेरै लागेको र अशोकले पर्दा पछाडिबाट भूमिका खेलिरहेको बताइएको छ ।

यादवकै प्रस्तावमा पछिल्लो कार्यकारिणी समितिको बैठकबाट चुनावको टिकट वितरणको महत्वपूर्ण जिम्मेवारी पाएका अशोक राईलाई आफूतिर तानेर बाबुरामले पार्टी विभाजनको ग्राउण्ड तयार पारिरहेको संस्थापन निकट स्रोतको दाबी छ ।

भट्टराई-महेन्द्र खेमाले अस्ति कार्यकारिणी समितिको बैठक बहिष्कार गरेर अलग्गै भेला बोलाएको थियो । उक्त भेलाले सकेसम्म संख्या पुर्याएर आफू अनुकूल पार्टीमा नेतृत्व फेर्ने र त्यो सफल नभए अलग्गै पार्टी बनाउने गरी रोडम्याप तयार पारेको बताइन्छ । उक्त भेलामा सामेल नभएको अशोक राई खेमाको समेत त्यसमा समर्थन रहेको बुझिएको छ ।

‘जसपा बाबुरामहरुको कब्जामा जाँदा महन्थहरुसँग मिलाउन जति सहज हुन्छ,उपेन्द्र हुँदा सकिंदैन भन्ने उस (भारत)लाई परेको छ । त्यसैमा लक्ष्मण थारु,रेशम चौधरीलगायत अरु पनि मधेशी दलहरुलाई जोड्ने र निर्वाचनमा एमालेसँग गठबन्धन गराएर राम्रै शक्तिका रुपमा स्थापित गराउन सकिन्छ भन्ने उनीहरुको आकलन होला ।”

जसपाको ३४ सदस्यीय कार्यकारिणी समितिमा बाबुराम भट्टराईका आठ जना छन् । त्यस्तै संस्थापनसँग सन्तुष्ट नरहेका पूर्वराजपा समूहबाट महेन्द्र रायका चार जना छन् । ३४ सदस्यीय कार्यकारिणी समितिमा जम्मा १२ जनामात्र जुटेपछि बाबुराम-महेन्द्र खेमाले अध्यक्षको आश्वासन दिएर अशोकलाई तानेको स्रोतको भनाइ छ । पार्टीमा उपेन्द्रलाई एक्ल्याएर मनोवैज्ञानिक त्रास फैल्याउन अशोकको साथ खोजेको बाबुराम खेमाले उनलाई महन्थको ठाउँमा खालि रहेको अध्यक्ष बनाउने प्रस्ताव गरेको बताइन्छ ।

‘बाबुरामहरु त घोषित रुपमै पार्टी कब्जा गर्ने रणनीतिमा थिए, पछिल्लो समय अशोक राईसमेत अध्यक्षको आसमा लोभिएर दोहोरो भूमिकामा देखिनुभएको छ । यसले एकतावध्द पार्टी बनाउने हामी सबैको प्रयत्न खेर जाने हो कि भन्ने चिन्ता बढेको छ’,संस्थापनतर्फका एक नेताले भने ।

बताइएअनुसार बाबुरामहरुको अस्तिको छुट्टै भेलाले उपेन्द्रको कार्यकारी अधिकार बाबुराममा सार्ने गरी रणनीति बनाएको छ । अहिले उपेन्द्र कार्यकारी अध्यक्ष र बाबुराम संघीय परिषद अध्यक्ष छन् ।

अब अशोकसहित तीनजना अध्यक्ष रहने, बाबुरामलाई संसदीय दलको नेता बनाउने र सबै निर्णयमा तीन जनाको हस्ताक्षर र सहमति चाहिने गरी विधान संशोधन गर्न बाबुराम,महेन्द्र र अशोकबीच समझदारी जुटेको छ । यसैलाई अब बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्तावका रुपमा ल्याउने गरी उनीहरुले आन्तरिक गृहकार्य गरेको दाबी छ ।

तर,पहाडमा राजनीतिक ग्राउण्ड नभएका बाबुराम र अशोकको माग कुनै हालतमा स्वीकार नगर्ने उपेन्द्रले निकटहरुलाई बताइसकेका छन् । हुन पनि जसपाको अहिलेको शक्तिको स्रोत भनेको मधेशी जनमत नै हो । मधेशमा बलियो स्थिति नभएको भए जसपा अहिले सत्तासिन हुने थिएन । यहि बुझेर बाबुरामहरुले चुनावमा टिकट वितरणलगायतका महत्वपूर्ण अधिकार लिने र आफू अनुकूल टिकट बाँडेर मधेशमा शक्ति आर्जन गर्ने रणनीति बनाएको बताइन्छ ।

‘पार्टीमा अहिले देखिएको विवाद कुनै वैचारिक,राजनीतिक होइन, कसले पार्टी कब्जा गर्ने भन्ने कुराले अहिलेको स्थिति निम्तिएको हो । एउटा पक्ष अध्यक्षको अधिकार कटौती नगरी नछोड्ने अनि अर्कोपक्ष त्यसलाई नस्वीकार्ने अवस्था रहिरहँदा यो स्थिति आएको हो । यो बढ्दै जाँदा त फुट कसले रोक्न सक्छ र !’, अर्को खेमाका नेताले भने ।

जसपाको यो विवादलाई कतिपयले भारतीय स्वार्थको परिणामका रुपमा पनि विश्लेषण गरेका छन् । मधेशमा माओवादी र एकीकृत समाजवादीसँग चुनावी तालमेल गर्ने उपेन्द्रको तयारी र त्यसलाई नरुचाएको भारतले नेताहरुलाई प्रयोग गरेर पार्टी फुटाउन खोजेको आशंका स्वयं जसपाकै केही नेताले गरेका छन् । जसपाबाटै फुटेर गएका महन्थ ठाकुरहरुलाई उध्दार गर्न भारतले खुलेरै आफ्नो पार्टीमा खेलिरहेको एक नेताले दाबी गरे । उनका अनुसार जसपा एकतावध्द हुँदा महन्थहरुले चुनावमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन नसक्ने भएकाले उताको चिन्ता बढेको हो ।

उपेन्द्रलाई कमजोर बनाएर आफू अनुकूलको पात्रलाई शक्तिमा पुर्याउने र सिंगै जसपा महन्थहरुसँग मिलाउने योजनाअनुरुप नै शक्ति संघर्ष टकराएको बताइन्छ । त्यसरी बन्ने बलियो शक्तिलाई एमालेसँग गठबन्धन गराएर नेपालमा आफू अनुकूलका पार्टी र पात्रलाई निर्णायक तुल्याउने भारतको भित्री रणनीति रहेको ती नेताको भनाइ छ ।

‘जसपा बाबुरामहरुको कब्जामा जाँदा महन्थहरुसँग मिलाउन जति सहज हुन्छ,उपेन्द्र हुँदा सकिंदैन भन्ने उस (भारत)लाई परेको छ । त्यसैमा लक्ष्मण थारु,रेशम चौधरीलगायत अरु पनि मधेशी दलहरुलाई जोड्ने र निर्वाचनमा एमालेसँग गठबन्धन गराएर राम्रै शक्तिका रुपमा स्थापित गराउन सकिन्छ भन्ने उनीहरुको आकलन होला । त्यसो हुँदा पहाडमा एकाध ठाउँ एमालेले बाबुराम लगायतका ठूला नेताहरुलाई जिताउने र मधेशमा पनि उपेन्द्रहरुलाई पत्तासाफ पार्न सकिन्छ भन्ने उनीहरुको बुझाइ देखिन्छ ।’

केही दिनअघि लोसपाका राजेन्द्र महतो र बाबुराम छुट्टाछुट्टै लैनचौरस्थित भारतीय दूतावासमा गएका थिए । के र कुन सन्दर्भमा उनीहरु त्यहाँ गएका हुन् भन्नेबारे प्रष्ट जानकारी बाहिर आएको छैन । तर,पूर्वप्रधानमन्त्री र पटक-पटक मन्त्री भैसकेका पार्टीका शीर्ष नेता कूटनीतिक मर्यादाविपरित लुरुलुरु दूतावास धाउनुका पछाडि ठूलै खेलोमेलो भैरहेको आशंका उपेन्द्र पक्षका नेताहरुले गरेका छन् ।

टिप्पणीहरू