लालबहादुरले पाटन जान नमानेपछि दिपक श्रीमानलाई तनाव
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारलाई पाटन उच्च अदालतको न्यायाधीश बनाउने न्यायपरिषद बैठकको निर्णय अप्ठ्यारोमा परेको छ । कायममुकायम प्रधानन्यायाधीश दिपक कार्कीको अध्यक्षतामा केही दिनअघि सम्पन्न परिषद् बैठकले मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई त्यहाँबाट झिकेर पाटन उच्च अदालतको न्यायाधीश बनाई पठाउने निर्णय गरेको थियो । तर, कुँवरले प्रोटोकल नमिलेको भन्दै न्यायाधीश बन्न अस्वीकार गरेपछि निर्णय विवादित बनेको बताइन्छ ।
अदालतमा न्यायाधीश पद सचिवसरहको मानिन्छ । उच्चका न्यायाधीश सचिवकै हैसियतमा कार्यरत रहन्छन् । तर,मुख्य रजिष्ट्रारलाई उच्चमा पठाउँदा मुख्य न्यायाधीश बनाउने व्यवस्था गरिएको छ । त्यसैले आफूलाई न्यायाधीश मात्र बनाएर पाटन पठाउन लागिएपछि कुँवर असन्तुष्ट बनेको र उनले निर्णय मान्न नसक्ने जानकारी गराइसकेको सर्वोच्च स्रोतले जनाएको छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणानिकट मानिने कुँवरलाई सर्वोच्चबाट हटाउने पूर्वयोजनाका साथ पाटन पठाउन खोजिएको आरोप उनीनिकटहरुले लगाएका छन् । कि मुख्य न्यायाधीश बनाएर पठाउनुपर्ने अन्यथा सर्वोच्चमै सोही पदमा निरन्तरता पाउनुपर्ने अडानमा कुँवर रहेको निकटहरुको भनाइ छ ।
चोलेन्द्रले अदालतमा बेथिति भित्र्याएको आरोपमा इजलास नै बहिष्कार गर्नेसम्मको आन्दोलन गर्नेहरुले नै अहिले आफूखुशी निर्णय गरेकाले असन्तुष्टी बाहिरिएको सर्वोच्च प्रशासनका एक कर्मचारीले बताए ।
कामु प्रधानन्यायाधीश कार्कीले पूर्ण प्रधानन्यायाधीशकै हैसियतमा दीर्घकालीन महत्वका निर्णयहरु गरेको भन्दै आपत्ति जनाउनेहरु पनि छन् । चोलेन्द्रमाथिको महाभियोग कुनै पनि बेला फिर्ता हुने या निस्क्रिय हुनसक्ने आकलन गरेर भट्टाभट निर्णय गरिएको उनीहरुको आरोप छ । चोलेन्द्र अहिले निलम्बित मात्र भएकाले दैनिक अत्यावश्यक बाहेकका काम गर्न कामुलाई अधिकार नहुने उनीहरुको दावी छ ।
यता, प्रधानन्यायाधीश चोलेन्द्र हटाउने अभियानको नेतृत्व गरेको बारमा आवद्ध वकिलहरुले भने न्यायपरिषद बैठकको निर्णयको प्रतिरक्षा गरेका छन् । एकजना वकिलले तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दिपक जोशीको उदाहरण दिएर दिपक श्रीमानको बचाउ गरे । त्यतिबेला प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएपछि जोशी कामु बन्नुभएको थियो । जोशीले संवैधानिक इजलास बसाउनेदेखि अन्य थुप्रै महत्वपूर्ण निर्णयहरु गरेको उनले स्मरण गरे ।
तर,त्यतिबेला र अहिलेको स्थितिलाई एकै रुपमा बुझ्न नहुने चोलेन्द्र निकटहरुको धारणा छ । जोशीको पालामा प्रधानन्यायाधीश पद नै रिक्त रहेकाले कामुको हैसियतमा जोशीले गरेका निर्णयलाई अहिले तुलना गर्न नमिल्ने उनीहरुको तर्क छ । पराजुलीले राजीनामा दिएको र अर्को प्रधानन्यायाधीश नआइसकेको अवस्थालाई अहिले चोलेन्द्रको निलम्बनसँग जोड्नु सरासर गलत हुने यो खेमाको जिकिर छ ।
‘अहिले चोलेन्द्र श्रीमानमाथि महाभियोग दर्ता मात्र भएको हो, पास भैसकेको होइन । अहिलेसम्म सर्वोच्चको साइटमा पनि उहाँकै नाम छ ।’ यस्तो तर्क गर्नेहरुको प्रश्न छ, ‘भोलि महाभियोग फिर्ता या निस्तेज भएर उहाँ (चोलेन्द्र) अदालतमा फिर्ता हुनुभयो भने अहिले गरेका निर्णयहरु के हुन्छ ?”
अघिल्लो बैठकको निर्णयमाथि प्रश्न उठिरहेका बेला दिपक श्रीमानले भने आज भोलिमै फेरि न्यायपरिषद बैठक राखेर जिल्ला न्यायाधीशहरु हेरफेरको तयारी गरेको सर्वोच्चका कर्मचारीबीच चर्चा छ ।
टिप्पणीहरू