भूकम्पमा हामफालेका २० वर्षेको गोडा भाँचियो, पूर्वबाट क्षतिको विवरण आउँदै
आज बिहानको भूकम्पमा घरबाट हामफालेका एक जनाको गोडा भाँचिएको छ । काठमाडौंको नागार्जुन १०, स्युचाटारमा एक तले घरबाट हामफालेका २० वर्षे ऋषिकेश थापा घाइते भएको बताइएको छ ।
चीनको सिचाङ (तिब्बत) स्थित टिङ्ग्री काउन्टी केन्द्रविन्दू बनाएर गएको ६.८ म्याग्निच्युडको भूकम्प काठमाडौंलगायत नेपालको पूर्वी भाग, भारतको उत्तरपूर्वी भेग, भुटान र बंगलादेशसम्म महशुस गरिएको थियो । तिब्बतमा मध्यान्हसम्म ५३ जनाको मृत्यु र ३८ जना घाइते भएको समाचारमा जनाइएको छ ।
प्रहरीका अनुसार यता, सोलुखुम्बुको थुलुङ्ग दुधकोशी गाउँपालिका ७, देउसास्थित हर्क बहादुर खत्रीको कच्ची घर चर्किएको छ । ओखलढुगाको सिद्धिचरण नगरपालिका २, चुहानछापका हिमाल कार्कीको ढुङ्गा माटोले बनेको घर पनि चर्केको छ ।
त्यस्तै ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ५, सिरिसेका इन्द्रबहादुर परियारको जीर्ण घर भत्किएको छ । त्यस्तै रामेछापको मन्थली नगरपालिका २, टेकनपुरस्थित सानु खत्रीको गोठ पनि चर्केको बताइन्छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ मा रहेको नारायणथान प्रहरी चौकीको २ तले पक्की भवन पनि चर्किएको खबर छ ।
भूकम्पपछिको उद्धार तथा क्षति विवरण संकलनका लागि सशस्त्र प्रहरी बलले कोशी, मधेश र बाग्मती प्रदेशमा तत्काल जनशक्ति परिचालन गरेको बताइन्छ । सशस्त्रका अनुसार विभिन्न युनिटहरुका बिहान ७ बजेको समयमा झण्डै दुई हजार जना परिचालन गरिएको हो ।
टिप्पणीहरू