भोलिदेखि चिकित्सा शिक्षाको जाँच, १ सय ११ स्थानमा परीक्षा केन्द्र

भोलिदेखि चिकित्सा शिक्षाको जाँच, १ सय ११ स्थानमा परीक्षा केन्द्र

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको केन्द्र तोकिएको छ । भोलिदेखि आगामी सोमबारसम्म हुन लागेको परीक्षाका लागि एकसय ११ स्थानमा परीक्षा केन्द्र तोकिएको हो ।

परीक्षामा ३४ हजार ६ सय ६५ जना परीक्षार्थी सहभागी हुने चिकित्सा शिक्षा आयोगले जनाएको छ । जसमा पहिलो दिन १९ हजार पाँच सय, दोस्रो दिन १२ हजार दुई सय ६२ र तेस्रो दिन दुई हजार आठ सय ९५ जना परीक्षार्थी सहभागी हुनेछन् ।

काठमाडौं उपत्यकामा मात्र सञ्चालन हुने परीक्षालाई मर्यादित र व्यवस्थित तुल्याउन लागि आवश्यक सहयोग गर्न आयोगले सबैमा अनुरोध गरेको छ ।विगतमा सञ्चालन भएका परीक्षामा कतिपय अनाधिकृत व्यक्ति तथा क्षेत्रबाट अस्वाभाविक र परीक्षाको मर्यादाविपरीत गरिएका अनर्गल प्रचार र सामाजिक सञ्जालमा गरिएका अमर्यादित प्रचारबाजीलाई गम्भीर रुपमा लिई त्यसबारे अध्ययन गर्न आयोगले समितिसमेत गठन गरेको थियो ।

उक्त समितिले त्यस्ता अमर्यादित प्रचार प्रसार गर्ने व्यक्तिको नामसहित प्रतिवेदन पेश गरेको अवस्थामा आसन्न परीक्षामा लगनशील र संवेदनशील भएर परीक्षाको तयारी गरिरहेका परीक्षार्थीलाई त्यस्ता गलत र भ्रामक प्रचार–प्रसारबाट गम्भीर असर पर्न जाने निश्कर्ष निकालेको छ ।

टिप्पणीहरू