श्रीमानबाटै मलद्वारमा लौरो घुसाएर यौनाङ्ग क्षतविक्षत पारी मारिएकी गीता माझीका बालिका छोरीहरु अब के गर्लान् ? कसरी होला उनीहरुको व्यवस्थापन ?

श्रीमानबाटै मलद्वारमा लौरो घुसाएर यौनाङ्ग क्षतविक्षत पारी मारिएकी गीता माझीका बालिका छोरीहरु अब के गर्लान् ? कसरी होला उनीहरुको व्यवस्थापन ?

यसै महिना चितवनमा एउटी महिलाको आफ्नै श्रीमानबाट क्रुर, बर्बर हत्या भयो । खैरहनी नगरपालिका–१०, कठारस्थित मुसहरबस्तीमा बस्ने रामचन्द्र माझीले रक्सीको मातमा कुटपिट गर्दै श्रीमती गीताको योनि र मलद्वारबाट हात र लौरो घुसाएर यौनाङ्ग नै च्यातिदिएका थिए । भरतपुर अस्पतालमा उपचारको क्रममा गीता माझीको गत सोमबार मृत्यु भयो । रामचन्द्रलाई प्रहरीले पक्रेर कारबाही प्रक्रिया अगाडि बढाइसकेको छ ।

सुरुमा जाहेरी दिने मान्छे कोही नभएपछि आफ्नै प्रतिवेदनको आधारमा प्रहरीले जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर रामचन्द्रमाथि कारबाही चलाएकोमा गीताको मृत्यु भएको भोलिपल्ट छोरी पुष्पाले बाबुविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान अन्तर्गत जाहेरी दिएकी छन् ।

उनीहरुका तीन छोरीमध्ये जेठी छोरी पुष्पाको वीरगंजमा बिहे भइसकेको हो । घरमा दुईवटी बालिका छोरी छन्, निशा र सुस्मिता । अब उनीहरुको के होला ? कसले हेर्ला यी बच्चीहरुलाई ? सर्वत्र चासो र चिन्ताको विषय बनिरहेका बेला उनीहरुको जिम्मा लिन माइती नेपाल अघि सरेको छ । घटनाबारे थाहा पाएपछि माइती नेपालकी संस्थापक/प्रबन्धक अनुराधा कोइरालाले चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीलाई फोन गरेर आवश्यक प्रक्रिया अगाडि बढाउन भनेकी छिन् ।

सोही अनुसार गिरी गत बुधबार उक्त मुसहरबस्तीमा पुगेर पीडित बालिका र आफन्तजनलाई भेटे । गिरीले बुधबारै जिल्ला प्रशासन कार्यालय चितवनबाट सिडिओको सिफारिस पनि लिइसकेका छन् । माइती नेपाल जस्तो ख्यातिप्राप्त संस्थाले यी बालिकाहरुको जिम्मा लिएर लग्ने भएपछि खुशी हुँदै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सिफारिस गरिदिएका हुन् ।

तर खैरहनी नगरपालिकाले भने तुरुन्तै सिफारिस दिएको छैन । माइती नेपाल जस्तो संस्थाले लान खोज्दा आफूहरु सकारात्मक नै रहेको भन्दै नगरप्रमुख शशीकुमार खनियाँले भने, ‘तर यी बच्चीहरुको यहाँ जुन शैलीबाट जीवनयापन भएको छ, सबै ठाउँमा उनीहरु एड्जस्ट होलान्, नहोलान् । भोलि भागेर गए, गायब भइदिए भने लैजाने संस्थालाई नै टाउको दुखाइ होला’ उनीहरुका आफ्नै काकाकाकी र दिदीभिनाजु पनि छन्, सबैको मनसाय बुझेर आवश्यक निर्णय लिइने नगरप्रमुख खनियाँले बताए । केही उपाय लागेन भने आफूहरुले यहीँ उनीहरुको संरक्षण गर्ने, खानपिनको लागि रासनपानीको व्यवस्था र शिक्षामा लगानी गर्ने बताउँदै नगरप्रमुख भन्छन्, ‘यी बच्चीको, नगरवासीको हामी पनि त गार्जियन हौं ।’ उनीहरुको जिम्मा लिन अरु संघ–संस्था पनि आएको नगरप्रमुख खनियाँले बताएका छन् ।

माइती नेपाल काठमाडौंमा अहिले पाँचसय भन्दा बढी महिला, बालबालिका संरक्षित रहेको गिरी बताउँछन् । सुरक्षित वातावरणमा खाने, बस्ने सुविधा सहित उनीहरुलाई त्यहाँबाट विभिन्न सीपमूलक तालिम तथा औपचारिक–अनौपचारिक शिक्षा प्रदान गर्ने गरिएको उनले बताए । यहाँ पढेर कतिपय डाक्टर, इन्जिनियर समेत भएको गिरीले जनाए ।

गीता माझीकी कान्छी छोरी १४ वर्षीया सुस्मिताले दुई कक्षा पढेर पढाइ छोडेकी हुन् । १६ वर्षीया निशाले पनि दुई कक्षा भन्दा माथि पढिनन् । त्यसपछि दुवै दिदीबहिनीले खेतबारीमा मजदूरी पनि गर्न थाले । काठमाडौंमा गएर होटलमा समेत काम गरेकी निशाले कुनै संस्थामा नजाने, आफ्नै घरमा बस्ने बताइन् । ‘कसैले सीपहरु सिकायो भनेचाहिँ सिक्ने हो’, उनले भनिन् । माइती नेपालले लैजान चाहेको विषयमा ठूली दिदी पुष्पा भन्छिन्, ‘नानीहरुको इच्छा, खै जान्छन् कि जाँदैनन्’ एक्लै आमाको किरिया बसिरहेकी सुस्मिताले संस्थामा जाने र पढ्ने चाहना व्यक्त गर्दा नजिकै रहेकी उनकी हजुरआमा (गीताकी आमा)ले आफ्नै भाषामा केही भनेपछि उनले भनिन्, ‘नजा भन्छन्, जान दिँदैनन् ।’

सोही मुसहर बस्तीमा बस्ने बच्चीका आफ्नै काका रामु माझीले भने यी छोरीहरुको भविष्य राम्रो हुन्छ भने संस्थामा पठाउने अभिलाषा जनाए । उनले भने, ‘मेरा पनि आफ्नै केटाकेटी छन्, अब यी छोरीहरुलाई पनि कसरी चित्त बुझाएर राख्न सकुँला र ?’ उनीहरुलाई अहिले दाहसंस्कार र काजकिरिया खर्चमा पनि विभिन्न संघ–संस्थाबाट सहयोग भइरहेको छ । यहाँ २८ घरपरिवार मुसहरका लागि सरकारले नै घर बनाइदिएको हो ।

गत जेठ १२ गते घटना भएको दिन छोरीहरु कोही पनि त्यस घरमा थिएनन् । विवाहिता पुष्पा आफ्नै घरमा हुने भइन् । निशा फूपूको घरमा गएकी थिइन् । सुस्मिता सौराहाको मुसहरबस्तीमा आफन्तकोमा गएकी थिइन् । त्यो दिन दिउँसैदेखि रामचन्द्र र गीता ढोका थुनेर भित्र बसेका थिए । मासु पनि ल्याएका थिए । श्रीमान्–श्रीमती दुवै रक्सी खान्थे । सो साँझ ६ बजेतिर उनीहरु खाना खाँदै थिए । एक्कासि श्रीमती चिच्याइन् । सधैं कराउने भनेर छिमेकीले त्यति वास्ता गरेनन् । पछि फेरि पनि ऐय्या भन्दै गीता बेस्सरी कराउन थालिन् । ढोका थुनेर कुट्न थाल्यो कि भनेर वरपरका महिलाहरु ढोका ढक्ढक्याउन गए । ढोका खोल्दा रामचन्द्रलाई नांगै देखेपछि उनीहरु फर्किए । त्यसको १०/१५ मिनेटपछि श्रीमतीलाई घिसार्दै बाहिर निकाले रामचन्द्रले । रक्ताम्य थिइन् गीता । यौनाङ्ग क्षतविक्षत भएको थियो । सामुन्ने घर भएकी सुनिता माझीले भनिन्, ‘मेन्टल जस्तै थियो रामचन्द्र । पहिला–पहिला आफ्नो हातखुट्टा पनि आफैंले काट्थ्यो । एकपटक आफैंले पालेको कुकुरलाई पनि मा¥यो ।’

टिप्पणीहरू