सान्दाने भिडन्तमा अस्ताएका ‘उदय’

सान्दाने भिडन्तमा अस्ताएका ‘उदय’

आज त्यही दिन हो वैशाख २९ गते । २०६२ को वैशाख २९ को त्यो दिन, आज स्मृतिमा झल्झली छ । त्यो दिन जुन दिन सान्दाने भिडन्तबाट यो शरीर बाँचेको थियो । र आज आफू बाँचेको भिडन्तलाई स्मरण गर्दै छ । त्यो दिन जुन दिन, बन्दीपुर मोर्चाबाट फर्कंदै गर्दा बाटोमा भिडन्तपछि शाही सेनाले आत्मसमर्पण गरेको थियो । उत्तम खड्का (क.उदय) अमृता थिङ (क.सुभद्रा) प्रेमलाल स्याङतान (क.आमुल) ले सहादत प्राप्त गरेको दिन ।

मेरा प्रियजनहरूको चिहानघारीको साक्षी हुँ म । तिनीहरूको चिहान नजिकै गएर खोतल्ने गर्छु म तिनका कालो भएका अस्तुहरू । एकान्तमा बस्दा मलाई त्यही मसानघाटमा जलेका आत्माहरूले घाँटी निमोठ्छन् । चिहानघारीको समिपबाट चिच्चाइरहेको आभास गर्छु म विगतका मेरा सहयोद्धाहरूको आवाज । खै किन आभास गर्छु म आजकाल यो चिच्याहटलाई ? थाहा छैन ।

त्यो दिन

कफन निधारमै छ, अघिल्लो दिनको । फुकाउने समय पनि थिएन । घाइते साथीहरू स्टेचरमा बोक्दैमा फुर्सद छैन ।

अघिल्लो दिन कमला खोला तर्नेबेला भिजेका जुत्ता मोजा, टाटेपाटे ड्रेस सुकेकै छैन । चिसोले गोडाका औँला कट्कटी खाइरहेको छ । अघिल्लो दिन जुन स्थानबाट गएका थियौं भोलिपल्ट त्यही बाटो भएर फर्कनुको विकल्प थिएन हामीसँग ।

क्षितिजमा उदाएको प्रभातले संकेत गरिसकेको छ, बिहानीको ।

चुुरेको होचा थुम्का नजिकबाट शाही सेनाको अमेरिकी आधुनिक हतियारसहित ४ वटा नाइट भिजन हेलिकप्टर र एम आइ १७ बाट ८१को सेल जिपिएमजी÷एलएमजीबाट भीषण आक्रमण भयो । त्यसको कुनै पनि प्रभाव छैन जनमुक्ति सेनामा ।

कमला खोलाको बगरमा हिजो जुन उत्सुकता थियो त्यो अलि मत्थर छ आज । हिँडेका बाटाहरू सरल मात्र कहाँ हुन्छन् र ? घुमाउरो र अप्ठ्यारो पक्कै पनि छन् । आखिर युद्ध पनि सिक्काको दुई पाटो नै त हो ।

अहिले सत्ताधारीलाई जति सजिलो भएको छ नि † गणतन्त्र नेपाल भनेर गीत गाउन, त्यसको रचना गर्ने कुरा बिना बलिदान र कुर्वानीले कहाँ सम्भव भएको हो र ? त्यस्तै कुर्वानीको एउटा मोर्चाको स्मरण हो यो ।

बन्दीपुर मोर्चाका घाइते काभ्रेका बुद्धिमान मोत्तान (क.शक्ति)को घुँडा भन्दा तल २ इन्च मोर्टारको सेल लागेर छिनेको शरीर छ । उनी असह्य पीडाले चिच्चाइरहेका छन् ।

‘म बाँच्न चाहन्छु, मलाई बचाऊ’

हरेक योद्धा आफ्नो युद्धको मोर्चामा बिना जित मर्न चाहन्नँ, छियाछिया शरीरमा श्वास हुन्जेल योद्धा मात्र जितकै पर्खाइमा हुन्छ ।
विडम्बना बमबाणले तितर–वितर भएको मेडिकल ग्रुप र साथमा भएकाहरूसँग भिटामिन ‘के’ को इन्जेक्सन नहुँदा उनी चिच्चाई चिच्चाई शहीद बने । त्यही चुरेमै । अघिल्लो दिन शक्तिले देखेको सपना भोलिपल्ट विलिन भयो । त्यो योद्धा र उसको सपना चुरेको बालुवामा बिलायो ।
यस्तै–यस्तै छ हामीले लडेको जनयुद्ध अनि यसका कथाहरू ।

२२ वर्षको युवाले देखेको संसार जित्ने सपना किन पुरा भएन ? शक्तिजस्तै १७ हजार मान्छेको बलिदानले ल्याएको गणतन्त्रले क–कसको जीवनशैली फेरियो ? आन्दोलनमा लडेका असली सिपाहीहरू अहिले पनि ५५÷६० डिग्रीको घाममा खाडीमा कुल्ली भरिया काम गर्छन् ।

विरताको इतिहास पटक्कै मन पर्दैन, हिजोको गणतन्त्र विरोधीहरूलाई । मेरै नेता कमाण्डरहरूका लागि पनि चासोको विषय होइन, इतिहास । भर्चुअल दुनियाँमा फुर्सद मिल्दा मेरा सहयात्री र कमाण्डरहरूसँग कुरा गर्र्न खोज्छु, केही त वास्ता पनि गर्दैनन् । केहीले भन्छन्, अब आउने चुनावमा नेकपा भन्ने पार्टीले वडा सदस्यका लागि नाम सिफारिस गरिदिन्छ । त्यसैले टिकटकै लागि भए पनि अन्यायको लागि बोल्नुहुँदैन ।

वाह ! तिम्रो हिजोको इतिहास र वर्तमानमा रमाएको जीवन ।

अँ साच्ची चुरेको कुरा गर्दै थिएँ, खाने कुरा त परकै भयो हामीले चुरेमा पानीसमेत पनि खान पाएका थिएनौं । कस्तो फरक हुन्छ है जित र हार ? अघिल्लो दिन खाएको खानाले ३६ घण्टा हुँदा पनि धानिरहेको पल ।

अहिले सम्झँदा लाग्छ, अजीव थियो वर्गप्रतिको त्याग, निष्ठा, प्रेम । रगतको आहालमा पौडेर उत्रेकाहरूलाई किन छुँदैन विगतले ?

रातको १० बजे सिथौली खोला तरेर चिसापानी डाँडा जाँदै गर्दा १०० केजी चिउराको भारी बोकेका मकवानपुरका रामप्रसाद ढुंगाना के गर्दै होलान् आजकाल ? अहिले उनको जिन्दगी नियाल्ने हो भने त्यो भन्दा ठूलो भारी बोक्छन् उनी जीवनयापनका लागि अरू कसैको ।

उनीसँगै युद्धमोर्चामा लडेका नेता कमाण्डरहरू छेउछाउमा झण्डावाला गाडीमा सवार छन् । धन्य छौ प्रभु ! तिमीहरू लड्दा सँगै अहिले तिमी करोडमा म रोडमा उनको जीवन भोगाई हो, यस्तै छ ।

लंगुर खोलामा झरेका मात्र थियौं । आकाशमा हेलीले फेरि फन्का लगाउन शुरु ग¥यो । नजिकै बेल्टार चकमकेमा शाहीसेना खसाल्यो । हामी सबैतिरबाट सेनाको घेरामा घेरियौं ।

बेल्टारमा भएको सेनाले माओवादीको स्थानीय समुन्द्र नामका कार्यकर्तालाई कब्जामा लिएर सर्च अभियान शुरु ग¥यो । हामीले बस्ने प्रत्येक सेल्टरमा सुराकी गर्न थाल्यो । बाँच्ने आशामा उनले पनि त्यही गरे । अन्त्यमा सान्दानेको भिडन्तमै उनी शाहीसेनाबाट मारिए ।

यहाँसम्म आइपुग्दा बेथान स्मृति ब्रिगेड मात्र बाँकी छ । चारैतिर घेराबन्दीको अवस्था छ । निकास कहाँबाट हुन्छ कमाण्डर कमिसारहरू खोजिरहेको छन् । कमाण्डर हुने कुरा पनि सजिलो थिएन । त्यो बेला कठिन परिस्थितिसँग आफ्नो फोर्सलाई सुरक्षित गर्नु कम्ता गाह्रो थिएन ।

त्यो बेला आफ्ना सदस्यलाई कसरी बचाउने भनेर सोच्ने कमाण्डर नेताहरू अहिले किन चिन्दैनन् होला उनै सदस्यलाई ? के समयसँगै वर्ग फेरियो ? वर्गसँगै कमाण्डर फेरिए, फेरिए उनको चिन्तन ? हिजोको त्यो वर्गीय माया अहिले कहाँ हरायो होला ? के वर्गीय माया पनि यसरी विलिन हुन्छ ? खैर, हुँदोरहेछ ।

सान्दाने नजिकै गाउँहरूमा सेल्टर लिन जाँदै गर्दा दुश्मनहरूलाई राम्रोसँग थाहा छ, हाम्रो अवस्था र उनीहरूको पनि । उनीहरूले हामीलाई चिसापानी, घ्याङडाँडा, कालीमाटी, चकमके, बाहुनतिल्पुङबाट हालेको घेराको बिचमा हामी छांै ।

बन्दीपुर मोर्चापछि राज्यको ध्यानपूर्व केन्द्रित भयो । रातारात पूर्वका अधिकांश स्थानमा शाही सेना तैनाथ गरिए ।

हामीलाई उनीहरूसँग भिड्नुको विकल्प नै छैन अब । घाइते साथीहरूलाई सुरक्षित गरेर भिडन्तका लागि तयार भयौं । म हेडक्वाटरमा एलएमजी ग्रुपसँगै थिएँ । दुईवटा बाटो थियो दुस्मन माथिल्लो बाटो गयो ।

जनमुतिm सेनाको स्पेशल फोर्स एलएमजी तिफदी २ इन्च मोटार्रसहित जंगलतिर गयांै । जनताको क्षति नहोस् भन्ने चाहना थियो हाम्रो ।

यतिबेला हामी आमुन्ने सामुन्ने भएर भिडिरहेका छांै । लामो दूरीको हतियारले दुवैतर्फको क्षति हुने कुरा स्पष्ट छ । दुस्मनले हानेको जिपिएमजीको गोली लाग्यो उत्तम खड्का (क.उदय)लाई । एउटा योद्धा गुमायौं हामीले । अर्थात् मारिए उनी । उनको रगतको मूल्यांकन हुँदो हो त उनी शहीद हुन्थे । तर, अहँ उनी मारिएका हुन् । अहिले यो बेला यस्तै लागिरहेको छ ।

अहिलेसम्म पनि याद छ मलाई, उदयले बन्दीपुरबाट फर्कंदै गर्दा लंगुर खोलामा भनेको शब्द ‘१ वर्षका लागि जिन्दगी ग्यारेन्टी भयो ।’ अफसोच ! उनी त्यही सान्दानेको बारीका पाटामा रोपिए । त्यसैले त भन्न मन लाग्छ, युद्धमोर्चामा सँगै लड्दा लड्दै जीवनको बलि चढाएका तिम्रा सहयोद्धाहरूको पनि चिहानतिर फर्केर हेर अजम्बरी त तिमीहरू पनि छैनौं नि !

युद्ध भीषण चलेकै छ, सान्दानेको माथिल्लो भाग जनमुक्ति सेनाले कब्जा ग¥यो । शाहीसेनाहरू तल परे । चारैतिरको हमलापछि उनीहरूले सञ्चार सेटमार्फत भनिरहेका थिए, हामी मर्न चाहँदैनौं आत्मसमर्पण गरेर हतियार बुझाउँछांै । उनीहरू सबै ढुंगे ओढारमा गएर लुके ।

सैन्य शब्दावलीमा सेतो कपडा देखाउनु भनेको युद्धविराम गर्नु, आत्मसमर्पण गर्नु र हतियार बुझाउनु हो । दुस्मनले सेतो कपडा देखाएर आत्मसमर्पण गरे । चारैतिर छरिएका जनमुक्ति सेनाहरूलाई हतियार लिन जान आदेश गर्ने कमाण्डर तिनै हुन्, हरिबहादुर श्रेष्ठ (क.प्रमोद), गोविन्दबहादुर बटाला (क.जीवित) र अर्का कमाण्डर हुन् बहालवाल प्रदेश ३ का सामाजिक सुरक्षा मन्त्री युवराज दुलाल (क.शरद)।

बलियो फोर्टिफिकेशनभित्र लड्न जति सजिलो थियो, त्यति सजिलो थिएन शाही सेनाहरूलाई योपटक । उनीहरूको बाहिरी भिडन्तमा हारका थुप्रै उदारण छन् । सान्दानेमा पनि उनीहरू हारे उसैगरी । आत्मसमर्पण गरे । हतियार लिन बोलाए । उनीहरूले छाडेको गोली र झोलाहरू संकलन गर्दै हतियार लिन जाँदै गर्दा करिब ५०० मिटरको दूरीमा थियौं । आकाशमा हेलिकप्टर र एम आई १७ हेलिकप्टरहरूले चक्कर लगाउन थाले । एकाएक वातावरण अर्कै भयो । सेनाको आकस्मिक आक्रमणले अवस्था जटिल बन्यो । हतियार लिन गएका जनमुक्ति सेना माथिबाट ८१ का सेलहरू हानिएपछि तितिरवितर भयौं । बेथान स्मृति ब्रिगेडका कमिसार गंगा कार्की (क.विश्व) सँग पनि सम्पर्कविच्छेद भयो । पछि उनी कालिमाटीमा सेनाको घेरामा परेर घेरा तोड्ने क्रममा भिरबाट लडेर घाइते भएको खबर पायौं ।

क्षितिजमा उज्यालो ताकेर हिँडेको उदय आज सान्दानेको माटोमा विलिन भयो । आफ्नो छोराको लास नदेखेकी आमालाई अहिले पनि लाग्छ रे, आमा भन्दै कतैबाट आइहाल्छ कि भनेर । सुनौलो सपना बोकेर जनयुद्धमा हिँडेको छोराकी आमाको अवस्था फेरिएको छैन । खै ती छोरोहरूकै रगतले माथि पुगेकाहरूले कसरी वर्ग फेर्न सके ? तिनका लागि छोरा बलिदान गर्ने आमाको अवस्था झनै ददर्नाक छ ।

म ती आमालाई पनि के भन्न सक्छु र ? उदय जस्तै १७ हजार छोराछोरीको सपनामा धोका भएको छ आमा । कसरी मलमपट्टी लगाउँ म तपार्इंको चिरिएको घाउमा ? माफ गरिदिनुस् ।

खासमा हामी आफ्नै दैलोमा ठेस लागेर पछारिएका हौं । जनयुद्धको त्याग तपस्या र बलिदानलाई किन नजर अन्दाज गरिएको होला आज ? कहाँ सोध्ने यो प्रश्न ? त्यसैले भनेकी हुँ मैले, दैलोमा ठेस लागेपछि मूर्छित छन् मेरा सपनाहरू भनेर ।

हो, तालमा नाच्न सिपालुहरूले केही फाइदा लिए नै । जुन लालकिरणका खातिर ती योद्धाहरूको बलिदान भयो नि त्यसको अर्थ अझै धुमिल छ ।

चतुरमान वाइबा (क.अनिस) यो अर्काे नाम हो । जनयुद्धको क्रममा मध्यकमाण्डको सैन्य मोर्चामा उनको योगदानबारे सन्दर्भ मिलाएर भलाकुसारी गरुँला । बाहुनतिल्पुङ बजारमा सेनाले सञ्चारसेट कब्जा गरेपछिको बार्तालापको साक्षी हुँ म । दुश्मनले तँ को हो ? भन्दा ‘म तेरो चिहान हुँ जहाँ तिमीहरूको मालिकको राज्यको अन्त्य गरेर सर्वहारा वर्गको मुक्तिदाता ।’ ओहो, यो शब्द अहिले झनै प्यारो लाग्छ मलाई । हिजोको मेरा प्रिय कमाण्डर हुन् उनी । क्षितिजको उज्यालो देख्नुअगावै बिलाएका रातो तारा । अरूको बलिदानलाई लालपुर्जा बनाएका मालिकहरू हो एक पटक चतुरमान बाइवा सिन्धुहरूजस्ता सहयात्रीहरूलाई पनि सम्झ न ल ।

यो बसाइमा मैले उदयबारे केही लेखिनँ भने मलाई पक्कै उसको आत्माले सराप्नेछ । म जीवित हुनुको पनि अर्थ रहँदैन सायद ।

उदय जनमुक्ति सेनाको फर्मेशनमा बेथान स्मृति बटालियन बन्नुअघि नै जोडिएको नाम हो । उदयपुरमा जन्मिएका योद्धा हुन् । ती योद्धालाई अहिले को कसले सम्झँदा हुन् । उनकै बलिदानको पुलमा शिखर चढेकाहरू पछाडि फर्केर हेर्दा हुन् कि नाइँ ? खैर, केही उनकै सहयात्रीको स्मृतिका पानाबाट म तपाईंहरूलाई क. उदयलाई चिनाउँछु ।

जीवन देवकोटा (क. श्रोत)

मैले दैनिक सम्झने नाम हो उदय । उमेरले मभन्दा केही जेठो भए पनि हामीमा असल मित्रको व्यवहार हुन्थ्यो । मैले नयाँ कपडा किनेर ल्याएर उसलाई लगाउन दिन्थें । पहिला शरीरमा अमिल्दो भए पनि लगाउनै पथ्र्यो उसलाई । उसले फिर्ता कि च्यातिएपछि गथ्र्यो कि धुन अल्छी लागे ।
अर्काे प्रसंग पनि छ, रामेछापको चुचुरे गर्जाङमा भएको भिडन्तमा हामी दुश्मनको क्याम्पमा फस्ने अवस्थामा थियांै । मर कि मारमा परेका हामीलाई सपोट फायर गरेर बचाएको हो उदयले ।

२०६० सालतिर यो नाम सर्लाही उदयपुर सिराहातिर निकै चर्चित नाम हो । त्यतिखेर युद्ध राजमार्ग केन्द्रित थियो । उदयसँग ११÷१२ वटा कमाण्डो मोर्चासँगै लडियो । सर्लाहीको दुईवटा घटना सम्झँदा अहिले पनि डर लाग्छ । उदय म, राज हरिवनको चिनीमिलमा पुग्दा शाही सेनासँग जम्काभेट भयो हामी भागेनौं । उदयले सबै सेनासँग हात मिलायो । सेनाहरू थुचुक्क परेर बसे । यति पावरफुल थियो उसको शरीर । रमाइलो गफगाफपछि हामी आ–आफ्नो बाटो लाग्यौं । एउटा विद्रोही सिपाही दुस्मनको समिपमा बसेर हात मिलाउँदा के अनुभूति गर्छ होला ? अहिले त्यही कुराले अचम्मित बनाउँछ । त्यो उसको युद्धकला थियो । सायद यो घटना कमैले पत्याउलान् साक्षी राज र म अझै जिउँदै छांै । ०६० भदौमा उनीहरूको क्याम्पमा धावा बोलेर विजय हासिल गरेका हौँ हामीले ।

माया दिदी बिरामी भएर हरिवनको नर्सिङ होममा भर्ना गरिएको थियो । त्यही बेला शाही सेनाको सिपाही पनि बिरामी भएर त्यही आएको रहेछ । हामी क्यास काउन्टरमा गयौं । उनीहरू आएको देखेर हामीले हतियार कक ग¥यौं । काउन्टरको मान्छे बेहोस भएर ढले । हामी आफ्नो बाटो लाग्यौं ।

गोविन्दबहादुर बटाला (क.जीवित)

लडाइँमा साहसिक एकदमै इमान्दर कमाण्डर हो । मर्न कहिले पनि डर नमान्ने सर्वहारा वर्गप्रति निःस्वार्थ प्रेम थियो । जस्तोसुकै अनुकूल परिस्थतिलाई पनि प्रतिकूल बनाउन सक्ने क्षमता भएको । लडाइँमा दोस्रो स्थान मन पर्दैनथ्यो उसलाई पनि ।

राम पाण्डे (क.उदीप)

निकै फरासिलो हक्की स्वभाव थियो । चुचुरे गजाङको भिडन्तमा हामी संगंै घाइते भएका हौं । सानोतिनो पीडालाई कहिल्यै अनुभव नगर्ने लडाइँका बहादुर चलाख युद्धकलाले भरिपूर्ण कमाण्डर हुन् ।

कमरेड उदयसँगका स्मृतिका पाना यति छोटा छैनन् । जो यहाँ भनेर साध्य होस् । वर्गियमुक्ति, वर्गयुद्ध छेडेर परिर्वतनको लागि युद्धको ज्वालासँगै बलेका, माटोका लागि लड्दै माटोमै विलिन भएका, अधिकारका लागि लड्दालड्दै बीच बाटोबाटै छोडिएका सबै योद्धाको स्मृतीले मानसपटल हरपल धुम्मिरहन्छ ।

हार्दिक श्रद्धासुमन ती लालयोद्धालाई जसले अरुका लागि आफूलाई चढाए शुलीमा । सान्दाने भिडन्तमा सहादत प्राप्त गर्ने सबै योद्धाप्रति हार्दिक श्रद्धासुमन !

टिप्पणीहरू