राष्ट्र बैंकबाट हज्जारौं डलर गायब !

राष्ट्र बैंकबाट हज्जारौं डलर गायब !

तत्काल हिसाब मिलाएर ढुकुटीमा भनेबमोजिमको परिमाणको नोट दुरुस्त नराखे जागिरै जानसक्ने भयले उनीहरु चोर खोज्नतिर भन्दापनि बाहिर बजारतिर डलर खोज्नमा लागेका थिए ।

सिंगापुरको बैंकमा तोकिएको समयमा जम्मा नगरेपछि अहिले विदेशी मुद्रा थुपारिएको नेपाल राष्ट्र बैंकको ढुकुटीबाटै यसअघि ठूलो परिमाणमा डलर हराएको रहस्य खुलेको छ । तीन वर्षअघि २०७३ चैतमा सिंगापुरस्थित सिआईएम बैंकमा पठाउन ठिक्क पारिएको अमेरिकी डलरमध्ये एकाएक एक सय दरको अमेरिकी डलरको एक प्याकेट चैट भएको थियो । एकसय दरको दश प्याकेट डलर बाँधेर बनाइएको बण्डलको वीचमा अर्कोदिन सिंगापुर पठाउने प्रयोजनको लागि तयारी गर्दा सयको सट्टा एक प्याकेट एक दरको अमेरिकी डलर देखिएपछि सबैको होस् हवास् गुमेको थियो ।

त्यत्रो रकम कसले चोर्यो भनेर हल्ला गर्दा आफूहरु नै कारबाहीमा परिने डरले सबै निन्याउरो मुख लाउँदै पैसोको जोहो गर्नतिर लागेका थिए । तत्काल हिसाब नमिलाउँदा हाकिमदेखि सम्बन्धित कर्मचारी सबैलाई विदेशी मुद्रा अपचलन गरेको र ढुकुटीमा तोकिएको परिमाणमा मुद्रा नराखेको आरोप लाग्थ्यो ।

 कसैले ५ लाख र कसैले ३ लाख गरी दामासाहीले व्यहोरेर डलर जुटाएपछि मात्र उक्त कुरो गाईंगुईं बाहिर आएको थियो ।

ढुकुटीभित्र डलरको मुठा, बण्डल सबै दुरुस्त थिए । ढुकुटीको भौतिक संरचना बाहिर र भित्रबाट उस्तै देखिन्थ्यो । ढोकामा लगाइएको ताल्चा र लाहाछापसमेत सहिसलामत अवस्थामा रहेकाले अनुसन्धानको लागि ढोका बाहिरको सिसिटिभि फुटेजको कुनै अर्थ नरहेको तत्कालीन एकजना कर्मचारीले बताए । कसरी हरायो होला त्यत्रो डलर ? भन्ने जिज्ञासामा ती कर्मचारीले भने– ‘विदेशी मुद्राको कारोबारमा संलग्न कार्यालयका कर्मचारीहरुमध्ये कोही एकजनाले पूर्वयोजनाबमोजिम एकदरको डलरको प्याकेट खल्तिमा हालेर अरुसँगै ढुकुटी छिरे ।

आँखा छलेर सय दरको एक प्याकेट झिके र सो ठाउँमा आफूले लगेको एकदरको प्याकेट हालिदिए, सय दरको नदेख्नेगरी बाहिर ल्याए । किनकि अमेरिकी डलरको एकदेखि सय दरसम्मको सबैको रंग, लम्बाई, चौडाई र आकारप्रकार एउटै हुन्छ । त्यसले पनि गलत काम गर्ने कर्मचारीलाई बल मिल्यो ।’ त्यसबेलाका अधिकांश कर्मचारी सेवानिवृत्त भइसके पनि केही अझै सोही कार्यालयमा कार्यरत छन् ।

हालसम्म दम्पच् पारिएको डलरको तत्कालीन विनिमयदरबमोजिम दश लाख छब्बिस हजार रुपैयाँ भन्दा बढी मूल्य थियो । ढुकुटीको साँचोको जिम्मा लिएका तत्कालीन हाकिम तथा कर्मचारीले दामासाहीले उक्त रकम ब्यहोरेर पुनः सयदरको दश प्याकेट अमेरिकी डलर बनाएका थिए । उक्त नौ हजार नौ सय अमेरिकी डलर कुन कर्मचारीले चोर्यो भनेर बैंकले हालसम्म पत्ता लगाएको छैन । बरु उल्टै सबै मस्त र आफ्नै योजनामा व्यस्त देखिन्छन् । अहिले २५ लाख डलर ब्याज आम्दानी गुमाउँदै बैंकिङ्ग कार्यालयमा ढुसी आउनेगरी राखिएको ४५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा रहेको ढुकुटीबाटै त्यो बेला उक्त डलर चोरी भएको थियो ।

टिप्पणीहरू