जोखिममा जर्नेलहरु

जोखिममा जर्नेलहरु

उनी रोकिएको कारण मङ्सिरमा घर जान लागेका जुनियरले काँधमा दुई तारे फुली भिर्ने मौका पाएका छन् । अमेरिकामा रहेका  अर्का जर्नेल काठमाडौं टेक्नासाथ कारवाहीमा पर्ने भएका छन् ।

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको घोटाला प्रकरणमा एकतारे जर्नेल प्रयोगजंग राणामाथि कोर्ट अफ इन्क्वायरी शुरु भइसकेको छ भने उनैले मच्चाएको पाँचखाल शिक्षालयको घोटालामा पनि सङ्गसङ्गै छानवीन शुरु भएको छ ।

जर्नेलहरुको घोटालादेखि झैझगडाका मामिलाले साउनमा हुने बढुवा प्रभावित हुँदैछ । पूर्व सेनापतिदेखि अनेकन जर्नेलका नातेदार भएको कारण छ फुटे जर्नेल प्रयोगजंग जागिरभर राम्रो–राम्रो पोष्टिङ खाने अफिसरका रुपमा चिनिन्थे । यो वर्षको अन्त्यतिर राम्रो पोष्टिङ खाने तयारी थियो । तर,छानबिनले वित्यास पारेको छ ।

किनभने,सैनिक अदालतले नसिहतमात्रै दियो वा सचेतमात्रै गरायो भने पनि एक वर्ष पदोन्नति रोकिने सिस्टम शुरु गरिएको छ । यस्तै रोकावटमा परेका छन्,अर्का एकतारे जर्नेल अरुण न्यौपाने । छाउनी अस्पतालका यिनले वार्षिकोत्सवमा आफ्ना व्याचीसँग घम्साघम्सी गरेबापत ‘सचेत’ हुनुपर्ने कारवाही खाइरहेका छन् । यो सबभन्दा सानो कारवाही हो । तर,यही कारण उनको एक वर्षको पोष्टिङ र प्रमोशन रोकिएको छ ।
अर्का जर्नेल बाबुराम श्रेष्ठको पनि रोकिने पालो आएको छ । बाबुरामले सिराहामा भर्नाको अनियमितता नियन्त्रण नगरेका कारण उजुरी पर्यो । कारवाही सानो छ,तर सजायँले एक वर्ष ढिम्किन दिँदैन । उनी असोजमा दुई तारे जर्नेल बन्दै थिए ।

उनीअघि नै सचेतको कारवाही खाइरहेका अरुण न्यौपाने अहिलेसम्म दुई तारे भइसक्नुपर्ने थियो । उनी रोकिएको कारण मङ्सिरमा घर जान लागेका जुनियर नागेन्द्र केसीले काँधमा दुई तारे फुली भिर्ने मौका पाएका छन् । यसवीच लेखाका जर्नेल ध्रुव खत्रीले अस्ति आइतबार दुई तारे जर्नेलको फुली लगाएका छन् ।

अब साउनमा केही एकतारे जर्नेलले तारा थप्दैछन् । त्यसका लागि १ नम्बरमा हाल प्रधानसेनापतिको सैनिक सहायक प्रेम शाही,२ मा प्रवक्ता  विज्ञानदेव पाण्डे र ३ मा विनयविक्रम राणा छन् । ४ नम्बरका बाबुराम भने एक वर्ष पछाडि घचेटिएका छन्  ।उता,डिफेन्स कोर्षका लागि अमेरिकामा रहेका  अर्का जर्नेल काठमाडौं टेक्नासाथ कारवाहीमा पर्ने भएका छन् । उनी हुन्,सुरेन्द्र रावल । प्रधानसेनापतिको नीतिगत निर्णय कार्यान्वयन नगरी पदीय दुरुपयोग गरेको आरोपमा उनीमाथि जंगी अड्डामा कारवाहीको प्रक्रिया अगाडि बढेको छ ।

टिप्पणीहरू