राजदूतलाई राम्रो खबर आएन

राजदूतलाई राम्रो खबर आएन

‘ए, अहिले लकडाउन पनि छ र ?’ उहाँले भन्नुभयो, ‘लकडाउन खुलेजसरी मुभमेन्ट भएको छ, यो राम्रो भएन ।’

सरकारका कतिपय काम–कुरा जनस्तरमा रुचिकर नहुनु त स्वाभाविक भइहाल्यो, तर मुलुकका कार्यकारी प्रधानमन्त्रीलाई नै कतिपय सरकारी काम मन परिरहेको रहेनछ ।

कोरोना संक्रमणबाट मुलुकलाई जोगाउनका लागि जारी गरिएको लकडाउनबारे मंगलबार मन्त्रिपरिषद्को बैठकमा उहाँले आफ्नो असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

एकातिर मन्त्रिपरिसद् बैठक चलिरहेको थियो, अर्कातिर कोरोना संक्रमितको संख्या मृग दौडेसरि बढिरहेको सूचना पुग्यो । सूचना पाउनासाथ प्रधानमन्त्री व्यंग्यात्मक शैलीमा पेश हुनुभयो, ‘ए, अहिले लकडाउन पनि छ र?’ उहाँले भन्नुभयो, ‘लकडाउन खुलेजसरी मुभमेन्ट भएको छ, यो राम्रो भएन ।’

सँगै अर्को पनि अनभिज्ञता प्रस्तुत गर्नुभयो, लिपुलेकमा भारतले खनिरहेको बाटोबारे । नेपाली भूमि मिचेर भारतले त्यहाँ बाटो बनाइरहेको विषय पछिल्ला दिनमा चर्किएको छ । तर, प्रधानमन्त्रीलाई त्यहाँ बाटो बन्दैछ भन्ने पूर्व सूचना रहेनछ । ‘कतै सुनेजस्तो त लाग्छ, तर पछि सुनाउनेहरुले भनेपछि बल्ल राम्रोसँग थाहा पाएँ’, उहाँले भन्नुभयो ।

यही विषयलाई लिएर दिल्लीमा रहेका नेपाली राजदूत नीलाम्बर आचार्य र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिश्वासपात्रका रुपमा मुम्बईका गर्भनरको जिम्मेवारीमा पनि रहनुभएका भगतसिंह कोस्यारीबीच भएको कुराकानीबारे प्रधानमन्त्रीले छोटकरीमा भन्नुभयो, ‘राम्रो कुरा भएनछ ।’

भगतसिंहले नीलाम्बरलाई भन्नुभएको थियो, ‘मोदीजी खुश नहीँ है ।’

बैठकमा सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्नका लागि सांसदहरुलाई अनुरोध गर्ने प्रसंग पनि निस्कियो ।

टिप्पणीहरू