सधैं सधैं गोकुलको साथ
बुझकीहरु पनि बुझ पचाएर बोल्ने भएपछि नेकपामा सन्नाटा छाएको छ । किनभने, अझै पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधित्व गर्न गोकुल बास्कोटा र महेश बस्नेत नै चाहिने स्थिति छ ।
अनि,अर्की निस्किइन्,नवीना लामा । सांसदहरुको बैठकमा ‘प्रचण्डको हैसियत हुनुपर्यो नि’ भन्दै बोल्ने । प्रेस सल्लाहकार सूर्य थापा यसरी नै प्रस्तुत हुन्थे ।
हुँदाहुँदा प्रहरी पृष्ठभूमिबाट सांसद भएका नवराज सिलवाल पनि त्यसरी नै प्रस्तुत हुन थाले । केपी विकल्पहीन नेता भएको अन्तर्वार्ता नै दिएका छन् ।
बरु,हिजो बालुवाटारकै कडिकडाउको कारण फौजदारी अभियोग खेप्ने कृष्णबहादुर महराले अहिले पार्टीमा विवाद आउनु उपयुक्त हैन भनेर वक्तव्य दिने अवस्था छ ।
वौद्धिक र कानुनका ज्ञातासमेत रहेका सुवास नेम्वाङले ‘केपीलाई हटाए एकता भंग हुन्छ’ भन्ने दिन आएको छ । किनभने, सामुहिक र सांगठानिक प्रणालीमा आधारित कम्युनिष्ट पार्टीभित्र व्यक्तिको उपस्थिति, भूमिका गौण हुन्छ । समूह प्रधान हुनुपर्ने हो । तर, नेम्वाङजस्ता भलादमी नेताले व्यक्तिको प्रतिकूलतालाई विभाजनको कारक ठहर गर्नु सुझबुझपूर्ण टिप्पणी नभएको नेकपा नेताहरुको ठम्याई छ ।
त्यसमाथि संसदको प्रस्तुतिले पनि सुवासमाथि नेकपा नेताहरु टिप्पणी गर्न थालेका छन् ।
वर्षे अधिवेशन शुरुवातका दिनमा प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवाले ‘सांसद अपहरण काण्ड’ को विरोध गरे । संसदीय दलको उपनेताको हैसियतले सदनलाई सम्बोधन गर्दै सुवासले आपराधिक घटनाको पक्षमा सरकार हुँदैन भन्दै त्यसको रिपोर्ट सार्वजनिक हुने जवाफ दिए । जबकि, यस्ता विषयको जवाफ दलकै उपनेताको हैसियतले नदिए पनि हुन्थ्यो ।
टिप्पणीहरू