कपालका रौं उखेल्ने कुरा
‘तपाईं नढाँटी भन्नुस् त, मेरा कपालका कति रौँ–भुत्ला लुछ्न लगाउनुहुन्छ ?’
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो चिन्ता राख्नुभयो, अर्का अध्यक्ष प्रचण्डसँग । प्रचण्डले भन्नुभयो, ‘म जिम्मा भएँ, तपाईंलाई केही अप्ठेरो पर्दैन । नीति तथा कार्यक्रम र कोरोनाबाहेकका विषयमा बैठक नमोड्ने मेरो बचन नै भयो । तर, बैठकचाहिँ बोलाइहालौँ ।’
यस्तो सल्लाहपछि आज बुधबारका निम्ति नेकपाको स्थायी कमिटी बैठक बोलाइयो । तर, त्यही दिन विहान एउटा सूचना टाँसेर बैठक स्थगित भयो । बहाना बन्यो, भीम रावलका पिएसओलाई कोरोना भएको ।
यसरी दोस्रोपटक फेरि स्थायी कमिटी बैठकका नाममा लुकामारी खेलिएपछि नेकपा नेताहरु झन्–झन् छक्क परेका छन् ।
प्रधानमन्त्रीको चिन्ता रहेछ, सरकारको कार्यशैलीलाई लिएर कमिटीका सदस्यले बैठकभरि बस्न–खान नदेलान् भन्ने । यसका लागि प्रचण्ड योजनावद्ध रुपमै आफूविरुद्ध लागेको र उहाँकै निर्देशनमा कुरा उठाउन नेताहरु तयार पनि पारिएको ।
तर, यी सबै कुरालाई प्रचण्डले हाँसेरै उडाइदिनुभयो । भन्नुभयो, ‘त्यस्तो केही छैन । म लिखत गरौँ कि मौखिकले हुन्छ ? जिम्मा नै लिन्छु, बैठकमात्रै बोलाइदिनुस् । अरु केही हुँदैन ।’
प्रचण्डले यस्तो किन पनि भन्नुभएको थियो भने, माधव नेपालसहितका नेताहरु कम्तिमा नीति तथा कार्यक्रमअगाडि उद्घाटनै गर्न भए पनि बैठक बोलाउनुपर्ने पक्षमा हुनुहुन्थ्यो ।
यससँगै प्रश्न वैधानिकताको पनि छ ।
नेकपाको विधानअनुसार, बहुमत सदस्यले माग गरेको १५ दिनभित्र बैठक बोलाउनुपर्छ । तर, विधानका ती व्यवस्थालाई पूरै बेवास्ता गरिएको छ ।
टिप्पणीहरू