कालापानी पुग्नेका कष्ट
बुधबार खलंगाबाट त्यहाँ खटिने २५ मध्येका ९ भाइ छाङरु उड्नुअघि होटल मालिक बोहोरा पनि त्यही हेलिकोप्टर चढे ।
कालापानीमा फौज राख्ने कामलाई काठमाडौंमा ख्यालख्यालका रुपमा लिइँदैछ, तर दुःखचाहिँ त्यहाँ पुग्ने टोलीले असाध्यै भोगेको छ ।
बुधबार बिहान सशस्त्र प्रहरीको २५ जनाको फौजलाई त्यहाँ तैनाथ गर्ने काम आज बिहीबार पनि पूरा भइसकेको छैन । किनभने,मान्छेमात्रै लगेर हुँदैन, बन्दोबस्तीका सामान पनि पुर्याउनुपर्नेछ ।
गुञ्जीको दोभान (महाकाली),अर्थात् छाङरुमा सशस्त्र प्रहरीको क्याम्प स्थापना भएको ठाउँबाट विवादास्पद कौवाको दोभान पुग्न अझै ४–५ किलोमीटरको दुर्गम बाटो छिचोल्नुपर्छ । त्यही कौवाको दोभान भएर हो, भारतले सडक निर्माण गरेको ।
बुधबार काठमाडौंबाट दार्चुला सदरमुकाम खलंगा हुँदै सशस्त्रको टोली छाङरु झरेको थियो । टोलीमा सशस्त्रमात्रै थिएन, गृह मन्त्रालयका अधिकारीहरु पनि सवार थिए ।
त्यहाँ बस्नका लागि ठाउँ चाहिने । तर, कोरोनाको विश्वव्यापी महामारीका कारण त्यहाँका होटल पनि बन्द ।
सशस्त्रले पत्ता लगायो, त्यहाँ रहेको सुविधासम्पन्न होटलका मालिक जितबहादुर बोहोरा सदरमुकाम खलंगामै छन् । बुधबार खलंगाबाट त्यहाँ खटिने २५ मध्येका ९ भाइ छाङरु उड्नुअघि होटल मालिक बोहोरा पनि त्यही हेलिकोप्टर चढे ।
मान्छेमात्रै बोक्दा १८ जनाको क्षमता छ, सेनाको एमआई १७ हेलिकोप्टरको । तर, बुधबार ९ मानिस र बाँकी भार अन्य बन्दोबस्तीका सामानले भरिएको थियो ।
हेलिकोप्टरले छाङरु ओर्लिएपछि पनि सुख पाएन । बुधबारमात्रै छाङरु–धनगढीको ६–७ ट्रिप गर्यो । धनगढीमा ल्याण्ड हुने, इन्धन हाल्ने, त्यसपछि मान्छे र बन्दोबस्तीका सामान हाल्ने क्रम छ । बुधबार नै त्यहाँ सशस्त्रको कमाण्ड स्थापित भएपछि आज बिहानदेखि धनगढी उडेको हेलिकोप्टरमा गएका मान्छेहरु फर्किने क्रम चलेको छ । उक्त उडानले १३ हजार तौलको बन्दोबस्तका सामानमात्रै लगिसकेको छ । आजसम्ममा त्यहाँ सेनाको हेलिकप्टरले छ उडान भरिसक्ने योजना छ !
दुःख यतिमात्र होइन, हेलिकोप्टर ल्याण्ड हुने ठाउँ र सशस्त्र तैनाथ हुने हेलिकोप्टर ल्याण्ड भएको डिल भन्दा करिव डेढ घण्टाको दूरीमा कमाण्ड स्थापना भएको ठाउँ छ, जाँदा ओह्रालो,फर्किंदा हाइ अल्टिच्युडमा सासै फुत्कने उकालो बाटो । लगिएका सामान ओसार्दैमा त्यहाँ पुगेको फौज गलित भइसकेका छन् ।
तर, सशस्त्रले आफ्नै भवन बनाउने ठाउँचाहिँ हेलिकोप्टर ल्याण्ड भएकै डिलनजिक छ,जितबहादुरको होटलसँगै ।
टिप्पणीहरू