अस्पतालमा अर्को आतङ्क

अस्पतालमा अर्को आतङ्क

बिरामी र कुरुवा सबैको बिचल्ली भएको छ । गए राती देखि नै औषधी,पानी ईर खानेकुरा नपाएपछि अधिकांश बिरामी प्याकप्याकी भएका छन् । आफन्त र कुरुवा नजिकै भएपनि बाहिरबाटै थुनिएकाले उनीहरू पनि निरीह छन् ।

नाक, कान,घाँटीको उपचार क्रममा रहेकी एक बच्चीमा कोरोना भाइरस पुष्टि भएपछि आज बिहानदेखि शिक्षण अस्पताल, महाराजगञ्जको वातावरण एकाएक खलबलिएको छ । नर्स, डाक्टर र कर्मचारी भागाभाग भएका छन् ।

वार्डमा भर्ना भएका अन्य बिरामीले आज बिहानदेखि नियमित खानुपर्ने औषधी र उपचार पाएका छैनन् । न्यूरो सर्जिकल वार्डमा बाहिरबाट ताल्चा लगाइएको छ । वार्ड शिलबन्दीपछि भित्र रहेका बिरामी र कुरुवा सबैको बिचल्ली भएको छ । गए राती देखि नै औषधी,पानी र खानेकुरा नपाएपछि अधिकांश बिरामी प्याकप्याकी भएका छन् । आफन्त र कुरुवा नजिकै भएपनि बाहिरबाटै थुनिएकाले उनीहरू पनि निरीह छन् ।

छ दिनअघि उपचारको लागि कपिलवस्तुबाट ल्याइएकी बालिकालाई अपरेशन गर्नुपर्ने भएपछि न्यूरो सर्जिकल वार्डमा भर्ना गरिएको थियो । शुरुमा इमर्जेन्सीमा ल्याइएकी बिरामीलाई कोरोनाको आशंका गरिएपनि स्वाब परीक्षण गरिएन । बरु, उल्टै अस्पतालका एकजना चिकित्सकको दबाबमा न्यूरो सर्जिकल वार्डमा राखियो । पाँच दिन अस्पतालमा राखेर गरिएको स्वाब परीक्षणको रिपोर्ट हिजो अबेर आएपछि अस्पताल प्रशासनले आज सबेरैदेखि वार्डमा बाहिरबाट ताल्चा लगाइदिएको हो ।

बिहानदेखि वार्डका नर्स र चिकित्सक नआएपछि बिरामीलाई औषधी खुवाउन नपाइएको कुरुवाले बताएका छन् । थप उपचार गर्नुपर्ने कतिपय सिकिस्त बिरामी झन् मर्कामा परेका छन् । उनीहरूलाई क्यान्टिनको खाना खुवाउनुपर्नेमा कुरुवाले त्यो गर्न पनि पाएका छैनन् । केही समयअघि एउटा सहयोगी समूहले ढोकाको कापबाट छिराइदिएको प्याकेटको खानाले कुरुवाको भोक मेटिएको थियो । क्यान्टिनको खाना नपाएपछि केही सिकिस्त बिरामी समेत त्यहि खाना खान बाध्य भए । झण्डै २० जना बिरामी र तिनका कुरुवा रहेको न्यूरो सर्जिकल वार्डको माहौल कोलाहलपूर्ण बन्दै गएको छ । ती बालिकालाई भने हतार हतार टेकूतिर सारिएको छ ।

टिप्पणीहरू