पछिका प्रधानन्यायाधीशलाई बन्दुक ताकिँदा

पछिका प्रधानन्यायाधीशलाई बन्दुक ताकिँदा

दृश्य दर्दनाक थियो तर दर्द देखाउने उपाय थिएन । चित्त बुझाउन कमलनारायण दासले आफूसँग भएको क्यामेरा निकाल्नुभयो, लेन्स मिलाउँदै हुनुहुुन्थ्यो । लेन्स मिल्न पाएको थिएन, व्यारेकबाट राइफल सोझियो ।

कालापानी–लिपुलेक विवाद अब कहाँ पुगेर कस्तो रुपमा अगाडि बढ्ला, हेर्न बाँकी नै छ । एउटा २६ वर्ष पुरानो घटनाले भन्छ,नेपाललाई पाइला पाइलामा सुखचाहिँ छैन ।

नेपालको सर्वोच्च अदालत चलाएर घरतिर लागेका,मानवअधिकार  र लोकसेवा आयोग,महान्यायाधिवक्ता कार्यालय,बिशेष अदालत धानेका र वकालती पेशामा थुप्रै भोटो फटाइसकेका विद्वानहरुको एउटा हुल २६ वर्षअघि कालापानी पुगेको थियो । तर,०५१ सालमा मानसरोबर पुगेर फर्किने क्रममा कालापानी पुगेका विद्वानको छाती ताकेर भारतीय सेनाले राइफल सोझ्यायो । थाहा छैन,त्यो हुल विद्वानको नभएर मूर्खको हुन्थ्यो भने नेपाली भूमिमा बिदेशीको हातबाट ठाउँको ठाउँ कति रगत बग्थ्यो !

पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ,सर्वोच्चको न्यायाधीशपछि अहिले मानवअधिकार आयोगमा रहेका प्रकाश वस्ती,राष्ट्रिसभाका सांसद तथा वरिष्ठ अधिवक्ता राघेश्याम अधिकारी,पूर्वन्यायाधीश गौरीबहादुर कार्की, वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल,पूर्वन्यायाधीश कमलनारायण दास, लोकसेवा र मानवअधिकार आयोग धानिसकेका गौरीशंकर लालदास, वरिष्ठ अधिवक्ताहरु श्यामकृष्ण  खरेल,बसन्तराम भण्डारीहरु थिए,त्यो टोलीमा । लिपुलेकबाट टिंकर हुँदै नेपाली भूभागतर्फको कालापानी क्षेत्रमा पुग्दा उनीहरुले त्यहाँ नांगो आँखाले देखे,भारतीय फौज बसेको व्यारेक । दृश्य दर्दनाक थियो । तर,दर्द देखाउने उपाय थिएन । चित्त बुझाउन कमलनारायण दासले आफूसँग भएको क्यामेरा निकाल्नुभयो,लेन्स मिलाउँदै हुनुहुुन्थ्यो । लेन्स मिल्न पाएको थिएन,व्यारेकबाट राइफल सोझियो ।

‘नो परमिसन–नो परमिसन’ भन्दै कराएका भारतीय सेनाको फौजले आक्रामक मुद्रामा राइफल सोझ्याउँदा नेपाली विद्वानका हात र खुट्टा एकसाथ काम्न थाले । फोटो खिचिएन । कसैले भन्यो, ‘वि आर सरी..।’

आफ्नो भूमिमा भारतीय फौज बसेको छ, फोटो खिच्न खोज्दा राइफल सोझ्याइएको छ,उल्टै तिनीहरुसँग माफ मागेर फर्किनुपर्दा विद्वानका मन काठमाडौं पुग्दासम्म आतंकित नै रह्यो ।

उनीहरु नेपालगञ्जबाट जहाजमा ताल्चा विमानस्थल,सिमिकोट हुँदै मानसरोवर पुगे । फर्किंदा ताक्लाकोट,टिंकर,दार्चुलाबाट भारतीय भूमि धार्चुला हुँदै नेपालगञ्ज निस्किए । र, त्यहाँबाट जहाजमा काठमाडौं फर्किए । तर, काठमाडौं फर्किंदा पनि कालापानीको घटना सम्झेर उनीहरुका खुट्टा थर्थराइरहेका थिए ।

फोटो खिच्न खोज्दा राइफल सोझ्याइएको छ, उल्टै तिनीहरुसँग माफ मागेर फर्किनुपर्दा विद्वानका मन काठमाडौं पुग्दासम्म आतंकित नै रह्यो । 

यसमध्येका प्रकाश वस्तीले वरिष्ठ अधिवक्ता गणेशराज शर्मालाई आफ्ना भोगाइ शेयर गर्नुभयो । प्रकाश आफैँ पनि जल्दाबल्दा वकिल । प्रकाशले सुनाएको कुरा गणेशराज शर्माले तत्कालिन जनमोर्चा सांसद लीलामणि पोखरेललाई भन्नुभयो । अनि,लीलामणि प्रकाशको ल फर्म खोज्दै भेट्न पुग्नुभयो ।

यही सूचनाका आधारमा संसदको बैठकमा पहिलोचोटि कालापानीको नेपाली भूभागमा भारतीय फौज बसेको कुरा रेकर्ड हुने गरी लीलामणिले कुरा राख्नुभयो । त्यसपछि त अरु थुप्रैले त्यो दृश्य देखे,फोटो पनि खिचे ।

यतिबेला त्यही भूभागको मामिला निक्कै चर्कोसँग उठेको छ । भारतले चीनसँगको मुख्य व्यापारिक स्थल बनाउने, पर्यटकीय मार्गका रुपमा विकास गर्ने लक्ष्यका साथ सडक निर्माण थालिसकेको छ । र, नेपालको तर्फबाट आपत्ति जनाउने काम पनि भइरहेको छ । तर,२६ वर्ष पहिला एउटा मामुली फोटो खिच्न हौसिएका वकिलहरुलाई राइफल सोझ्याउने भारतले त्यो भूमिलाई सजिलैसँग ‘भैगो त’ भनेर छाडिदेला ?

टिप्पणीहरू