‘हाम्लाई पनि मायाँले हेर…’
बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रका भतिज रौतहटमा रुखबाट लडी हातखुट्टा भाँचिएर अहिले त्यहि अस्पतालमा उपचारको प्रतिक्षामा छन् । आज शल्यक्रिया नगरे सुन्निएको हातले अझ दु:ख दिने पक्का छ ।
हिजोको सहज अवस्थामा काठमाडौंका अधिकांश निजी अस्पतालले चर्को शुल्कमा हाडजोर्नीको उपचार गर्थे । सरकारी अस्पताल वीरको ट्रमा सेन्टर सर्वसाधारणको उपचारकै लागि खडा गरिएको हो । तर,लकडाउनदेखि सरकारी अस्पताल ट्रमाले दुर्घटनामा अंगभंग भएकाको गम्भीर प्रकृतिको उपचार गर्नै छाडेको छ । ट्रमाले विभिन्न बहानामा सिकिस्त बिरामीलाई पनि महिनौंपछि आउनु भन्दै फिर्ता पठाएको छ । बिएण्ड बिसहितका निजी अस्पतालले पनि खासै उपचार गरेको देखिँदैन ।
तर,अहिलेको असहज अवस्थामा जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्र,नेपाल अर्थोपेडिक हस्पिटलले सेवालाई सुचारु राखेको छ । लकडाउनअघि दैनिक १५ वटा शल्यक्रिया गरेको उसले हिजोआज एक दिन बिराएर १० वटासम्म शल्यक्रिया गर्दै आएको छ । यतिखेर सो अस्पताल दुर्घटनाबाट अंगभंग भएकाको निम्ति एकमात्र भरोसाको केन्द्र बनेको छ ।
बिहीबार टिचिङ्ग हस्पिटलमा अपरेशनको लागि ठिक्क पारिएको बिरामीमा कोरोना पुष्टि भएपछि अर्थोपेडिकमा पनि शल्यक्रियाअघि कोरोना परीक्षण गर्नुपर्ने चुनौती थपिएको छ । अस्पताल स्रोतकाअनुसार पीपीईलगायतका सामग्री भएपनि अर्थोपेडिकसँग पीसीआर किटको अभाव छ । यसअघि विभिन्न ढंगले व्यवस्थापन गरेर बिरामीको उपचार गरेपनि किटको अभावमा इमर्जेन्सी शल्यक्रिया गर्नुपर्ने अवस्थाको बिरामी आएमा अप्ठेरो पर्ने देखिएको छ ।
अस्पतालले बजारबाट खरिद गर्न खोजेपनि किट नपाएको बताइएको छ । उता, सरकारले ल्याएको र अनुदानमा पाएको पिसिआर किटमध्ये केही उक्त अस्पताललाई पनि प्रदान गरेमा सर्वसाधारणको उपचारमा नै सहयोग पुग्ने देखिन्छ । तर,उक्त हस्पिटल कोरोना रोगको उपचारसँग सम्बन्धित नभएकोले दिन नमिल्ने भन्दै सरकारी अधिकारीहरू पन्छिएका छन् ।
अहिलेको विश्वव्यापी महामारीमा पनि पूर्ण समाजसेवाको भावसहित खटिएका अर्थोपेडिक अस्पतालका चिकित्साकर्मीलाई समेत थप हौसला दिनुपर्ने देखिन्छ । सर्वसाधारणको हाडजोर्नी उपचारको लागि यतिखेर अस्पताललाई पिसिआर किटको जरुरत छ । बजारमा सहज उपलब्ध नभएकोले अर्थोपेडिक हस्पिटल सहयोगी हात र मनको खोजीमा रहेको बुझिएको छ ।
बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रका भतिज रौतहटमा रुखबाट लडी हातखुट्टा भाँचिएर अहिले त्यहि अस्पतालमा उपचारको प्रतिक्षामा छन् । आज शल्यक्रिया नगरे सुन्निएको हातले अझ दु:ख दिने पक्का छ ।
सम्भवतः कोरोनाको महामारी नभएको भए अधिकांश सरकारी वा निजी अस्पतालले महँगोमा तिनको उपचार गरिसक्थे । तर, यतिखेर दुर्घटनापछि उनीजस्तै सबैको ध्यान नेपाल अर्थोपेडिक हस्पिटलमा जाने गरेको छ । किनकि अरुले अहिलेको असहज अवस्थामा आफ्नो व्यापार बन्द गरेका छन् ।
टिप्पणीहरू