आज यस्तो देख्न पाइने छैन
आज अपराह्न संघीय संसदको संयुक्त बैठकमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको यात्रा यसअघि आलोचनाको विषय बनाइएका सबै शैलीभन्दा फरक हुने भएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसदमा जाने विषयलाई औपचारिक भ्रमणको परिभाषामा राख्ने गरिन्छ । र,त्यस्तो भ्रमणका केही निश्चित शैली हुन्छन् । तर,यसचोटि कोरोना महामारीका कारण सबै सुरक्षित हुनुपर्ने र तामझामबाट मुक्त हुनुपर्ने पक्षलाई दृष्टिगत गर्दै राष्ट्रपतिको भ्रमण साधारण किसिमको र संसदको उपस्थिति पनि आवश्यकतामा आधारित भएर हुने भएको छ ।
त्यसअनुसार,शीतल निवासबाट राष्ट्रपति निस्किएदेखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसम्मै सेनाका घोडचढीहरुको लस्कर लगाइन्थ्यो । आज त्यस्तो देख्न पाइने छैन ।
पहिला–पहिला राष्ट्रपति निस्कने कार्यक्रम हुनासाथ एक घण्टाअघिबाटै सडकहरु खालि गरिन्थ्यो । यसचोटि सडकहरु त्यसै पनि खालि छन् । राष्ट्रपति यात्राका नाममा सडक सुनसान पार्ने अलग्गै योजना बनेको छैन । प्रहरीको सवारी ड्युटी भने तोकिएका ठाउँमा रहने भएको छ ।
उपस्थिति नियन्त्रित
संसदमा सांसदबाहेकका व्यक्तिहरुको उपस्थिति पनि नियन्त्रण गरिएको छ ।
पहिला–पहिला कूटनीटिक नियोगका प्रमुख,संवैधानिक अंगका सदस्य, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरुलाई नीति तथा कार्यक्रम प्रस्तुतिमा सरिक गराइन्थ्यो । यसचोटि उपस्थिति घटाउने नाममा ती निम्तालुहरु कटौतीमा परेका छन् । नत्र,नेपालमा रहेका विभिन्न कूटनीतिक विदेशी मिसनका ३५ मध्ये २०–२१ जना संसद पुगेका हुन्थे । तर,यसचोटि तीमध्ये सिमित व्यक्तिमात्र बोलाइएको छ ।
आजको बैठकमा उपराष्ट्र«पति, प्रधानन्यायाधीश र केही संवैधानिक आयोगका प्रमुखहरु मात्र हुनेछन् । संवैधानिक आयोगमध्ये पनि अख्तियार, निर्वाचन र लोकसेवाका प्रमुखमात्र हुने संसदस्रोतले जनाएको छ ।
चार सीट खालि
अहिले ३ सय २० जना सांसद छन् । त्यसमध्ये निलम्बितमा २ र रिक्त २ जना छन् । निलम्बनमा रहेका टीकापुर काण्डमा कारागारमा रहेका रेशम चौधरी र विवादास्पद पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार हुन् । राष्ट्रियसभा डा.युवराज खतिवडाको पदावधि सकिएपछि उक्त स्थानमा मनोनीत गर्नुपर्ने सदस्य रिक्त छ भने राष्ट्रिसभामै प्रदेश ५ बाट निर्वाचित एकजना सदस्यको निधनका कारण रिक्त छ ।
रकम दुरुस्तै
कोरोना महामारीमा अरु क्षेत्रका व्यक्तिहरुले यति र उति महिनाको पारिश्रमिक कोरोना नियन्त्रणका लागि भन्दै घोषणा गरेका छन् । तर, देशका विधायकहरुले त्यस्तो घोषणा गरेका छैनन् मात्र हैन, रकम बुझ्नेको ताँती नै लागेको छ ।
सांसदहरुले पारिश्रमिकबाहेक बैठक बसेको दिन १ हजार भत्ता र त्यति नै रकम यातायातबापत पाउने गर्दछन् । पारिश्रमिकचाहिँ बैठक बसे पनि, नबसे पनि पाइन्छ ।
सांसदहरुको तलब ७०–७२ हजार हुन्छ । उनीहरुले शाखा अधिकृतस्तरको स्वकीय सचिवको सुविधाबापत ३५ हजार रुपैयाँ पनि पाउने गरेका छन् । तर, त्यसरी वास्तविक स्वकीय सचिव राख्ने सांसद नगण्य छन् । स्वकीय सचिवको तलब पनि उनकै खातामा जाने व्यवस्था गरिएका कारण परिवारको सदस्यलाई नै स्वकीय सचिव खडा गरेर पैसा आफैँ चलाउने गर्दछन् । अहिले खातामा पैसा जाने बनाएपछि परिवारकै सदस्यलाई पिए देखाउने गरिन्छ । त्यसबाहेक सांसदहरुले आवासका लागि १८ हजार, धारा, बिजुली र पत्रपत्रिकाका लागि ५ हजारसहित महिनावारी झण्डै एक लाख रुपैयाँ पाउने गरेका छन् ।
सँसद भवन बसेवापत बीरेन्द्र अन्तरास्ट्रिय सम्मेलन केन्द्रलाई दिने बार्षिक १८ करोडको हिसाब छुट्टै छ !
टिप्पणीहरू