गर्भवती मर्दा प्रहरी मौन
गत बैशाख २७ गतेका दिन जाजरकोटको बारेकोटमा एक महिलाको शंकास्पद मृत्यु भएको भन्दै दिएको किटानी जाहेरी प्रहरीले लिन मानेको छैन । बारेकोट ६ ताँसी निवासी २२ बर्षिया जेनिसा नेपालीको हत्या भएको भन्दै जाहेरी लगिएको थियो ।
कुशे ६ नारे माईती घर भएकी नेपालीको २०७२ मंसिरमा बारेकोट ६ ताँसीका अविनास बिकसँग विवाह भएको थियो । कुनै बिरामीसमेत नभएकी जेनिसाको एक्कासी मृत्युको खवरले माइती पक्ष बुधवार जिल्ला प्रहरी कार्यालय पुगेको थियो । तर जिल्ला डिएसपी किशोर श्रेष्ठले उजुरी दर्ता नगरेको पीडित पक्षले बताएका छन् । पेट दुखेर मृत्यु भयो भनिएकी जेनिसाको शरीरमा निलडाम भएको,मुख र नाकबाट रगत बगेको, कन्चटमा नीलो दाग भएको हुँदा हत्या गरिएको भन्दै घरपरिवारको नाममा किटानी जाहेरी गर्न खोज्दा प्रहरीले लिन नमानेको मृतकका दाजु प्रविण नेपालीले बताए ।
उनले शुक्रबार दिउँसोसम्म मुद्धा दर्ता नगरिएको जनाए । प्रहरीले यो वा त्यो बहानामा घटनालाई ढाकछोप गर्न खोजिरहेको उनको आरोप छ ।
प्रवीणले यसअघि पनि बहिनी घरेलु हिंसाको शिकार भएको भन्दै पापीहरुले ज्यानै लिएर छोडेको बताएका छन् । प्रविणले बहिनीलाई बच्चा जन्माउन नसक्ने भनेर गाली गर्ने गरिएको जनाएका छन् । फोनमा बेलाबेला चिन्ता र डरयुक्त अनुनय गर्ने बहिनीको पेटमा पाँच महिनाको गर्भ रहेको समेत उनले जनाए । यसअघि दुई बच्चा खेर गएका थिए ।
‘पेट दुख्नेबित्तिकै एक्कासी कोही मर्छ ? अघिल्लो दिनसम्म केही नभएकी बहिनीको कसरी ज्यान गयो ? किन बिरामी भएको भए माईतीलाई खवर गरिएन ?” मारेपछि पेट दुखेर मरी भनेर खवर गर्ने ? उनले भने -‘मुचुल्का गर्न गएका ईलाका प्रहरी कार्यालयका प्रहरीकोे ब्यवहारसमेत शँकास्पद छ । प्रहरीले जाहेरी लिन मानेन र थप शँकास्पद ब्यवहार भए राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगसमेत गुहार्छु । बहिनीलाई न्याय दिलाएरै छोड्छु ।’
जिल्ला प्रहरी प्रमुख डिएसपी श्रेष्ठले प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेकोले यस विषयमा सबै कुरा बताउन नमिल्ने जनाएका छन् । प्रहरीले किटानी जाहेरी लिन नमान्नुमा पीडकलाई जोगाउन राजनैतिक दवाव आएको हुन सक्ने पीडित पक्षको आशंका छ ।
टिप्पणीहरू