आउँदैछ नेपालको पूर्ण नक्सा
भारतद्वारा अतिक्रमित नेपाली भूमिलाई अन्ततः सरकारको नीति तथा कार्यक्रममै समावेश गरेर नयाँ नक्सा जारी गरिने भएको छ ।
अहिले संयुक्त सदनको बैठकमा सम्माननीय राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ । यहीभित्र छ, लिम्पियाधुरा, कालापानी, लिपुलेकजस्ता सीमावर्ती भूमिको नेपालतर्फ भारतले खडा गरेको सैनिक क्याम्प र निर्माण गर्दै रहेको सडकलाई जवाफ दिने सन्दर्भ पनि ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठहरुले जोडदारसङ्ग कुरा राखेसङ्गै यसबारे गहन छलफल भएको बताइन्छ । नेकपा नेताहरुले नीति तथा कार्यक्रमजस्तो विषय तीन घण्टाअघि पढेर नहुने कुरा राखे । तर,प्रधानमन्त्रीले परिस्थितिको गाम्भीर्यतालाई ख्याल गर्दै काम गर्ने दौरान यस्तो बाध्यता आएको बताउनुभयो । र,त्यहीँ कुरा निस्कियो,नक्साबारे ।
अतिक्रमित भूमि नेपालकै हो भन्ने दावीका साथ सार्वजनिक हुने नक्साबारे भारतीय पक्षलाई जानकारी भयो भने चलखेल तीब्र हुने कारण सदनमा नीति तथा कार्यक्रम टेबुल नहुञ्जेलका लागि यो विषय गोप्य राखिएको थियो ।
भारतले गोप्य तवरमा नेपालका सांसदसँग त्यस्तो स्थिति भएमा संसदभित्रै लफडा मच्चाउने तयारी गरिरहेको सूचना प्रधानमन्त्रीले पाउनुभएको थियो । त्यही सूचनाका आधारमा बैठकपछि पनि यो विषय कतै व्यक्त नगर्न अनुरोध गरिएको थियो ।
सरकारको नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण विषयको प्रस्तुतिकै दिन एक दुई जना माननीयबाट सदन अवरुद्ध भएमा शोभनीय नहुने,संसदीय व्यवस्थाको गरिमामाथि आघात पुग्ने कारण सत्तारुढ दलका नेता र सरकारका मन्त्रीले पनि यो विषयको गोपनीयता राखेका हुन् ।
टिप्पणीहरू