सुधार गृहमै बालकलाई सास्ती
बाँकेको डुडुवा गाउँपालिका–६ स्थित आसमानपुर, जयेन्दु बालसुधार गृहमा रहेका बालक छाला रोगले प्रताडित छन् । ७५ जना क्षमता भएको उक्त बालसुधार गृहमा सय जना कानुनी विवादमा परेका बालक छन् । एउटै हलमा ३० जनासम्म बस्नुपर्ने समस्याका कारण छाला रोगको संक्रमण बढिरहेको छ । २१ जनामा छाला रोगको बढी समस्या छ भने बाँकी आधाभन्दा बढीलाई शरीर चिलाउने समस्या छ ।
बालसुधार गृहमा आवश्यक बजेट अभावमा नियमित स्वास्थ्योपचार हुन नसकिरहेको बताइन्छ । बाल सुधार गृह सरकारको अनुमतिमा युसेफले सञ्चालन गरिरहेको छ ।
कुनै रोगको उपचार गर्नुपरेमा आफैंले पैसा तिर्नुपर्छ –बालबालिका भन्छन् –हामी समस्यामै बसिरहेका छौं । क्षमताभन्दा बढी बालक सीमित कोठामा कोचाकोच भएर बसिरहेका छन् । उनीहरू मुद्दाको कारबाहीबारे बेखबर हुनुका साथै स्वच्छ खानेपानीको समस्याबाट पीडित भएको बताउँछन् । गृहमा औपचारिक शिक्षाबाट वञ्चित हुनुका साथै पुस्तक, खेलकुद सामग्रीको अपर्याप्त रहेको बताइन्छ ।
सुधारगृहमा अध्ययनका लागि विद्यालय भवन बने पनि सञ्चालनमा आउन सकेको छैन । केन्द्रीय बाल कल्याण समिति, महान्यायाधिवक्ता, जिल्ला प्रशासन कार्यालयले विद्यालय स्वीकृतिका साथै शिक्षक व्यवस्थापन गर्न भने पनि कार्यान्वयन हुन सकिरहेको छैन ।
बाल सुधार गृहको अवस्थाबारे केही दिनअघि बाँकेस्थित मानवअधिकारकर्मीले अनुगमन गरेका थिए । बालसुधार गृहमा रहेका बालकलाई कोरोना संक्रमणबाट बचाउन सर्वोच्च अदालतले सुधारगृहमा रहेका बालबालिकाको भीडभाड कम गर्न अभिभावकको जिम्मा लगाउने भने पनि त्यसको कार्यान्वयनमा विभेद भएको बालकहरूले अनुगमनमा गएका मानव अधिकारकर्मीलाई बताएका थिए ।
उस्तै मुद्दामा परेका केही बालक छुटे पनि केही बालक नछुटेको भन्दै सर्वोच्च अदालतको आदेशबमोजिम सबै बालक छुट्नुपर्ने सुधार गृहमा रहेका बालकको माग छ ।
कोरोना कहरको वर्तमान संकटपूर्ण अवस्थामा सर्वोच्च अदालतको आदेशबमोजिम छुट्न नपाउँदा तनावमा रहेको बालकहरूले गुनासो गरेका छन् । कोरोना कहरको वर्तमान अवस्थामा गम्भीर अपराधका आरोपी भन्दै ७ बालकलाई विभिन्न जिल्लाबाट सुधार गृहमा ल्याइएको थियो ।
केही महिनापहिले सर्वोच्च अदालतका माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराईले बाँकेको बालसुधार गृहलाई कालकोठरीको संज्ञा दिएका थिए । सुधारगृह अनुगमनपछि उनले सुधारगृह न कारागार जस्तो न सुधारगृहजस्तो भएको प्रतिक्रिया दिएका थिए ।
अनुगमनमा गएका अधिकारकर्मीले बालकहरू छालारोगबाट प्रताडित भएको पाएपछि अधिकारकर्मीको पहलमा ३० हजार बढीको औषधि व्यवसायी संघ बाँकेका महासचिव जीवन शर्माले सहयोग गरेका थिए भने १४४ वटा साबुन गर्ने गोल्डेन एज मिडियाका जयसिंह केसी र चिन्तामणि धितालले गरेका थिए ।
कोरोना कहरमा सरोकारवालाको ध्यान नपुग्दा छालासम्बन्धी रोगले पीडित बालसुधार गृहमा रहेका २१ बालक यस पहलबाट केही हदसम्म भए पनि लाभान्वित हुने आशा अनुगमनमा गएका अधिकारकर्मीमध्येका एक वसन्त गौतमले बताए ।
बालसुधार गृहमा रहेका बालकहरूलाई बाल न्यायको उद्देश्यबमोजिम सुधार गरी असल नागरिक बनाउने खालका कार्यक्रम र पूर्वाधार निर्माण हुन अझै बाँकी रहेको पाइएकाले सम्बन्धितको यसमा ध्यान पुग्न जरुरी छ ।
टिप्पणीहरू