सांसदलाई चेकजाँचमा छोड्नुपर्ने ! पत्रकारले भनेकै हुनुपर्ने ?

राज्यको चौथो अंग पत्रकार आजभोलि जनताको नजरमा चुत्थो हुँदै गएको छ । अहिले जनताले सरापेका मात्र छन्, भोलि लौरो लिएर खेदाउने दिन नआओस् । घाँटीमा परिचयपत्र भिर्दैमा, हातमा क्यामेरा र बुम बोक्दैमा आफूलाई सर्वेसर्वा ठान्ने पत्रकारको त्यो मपाइँत्व हो । अरूले तपाईं भन्नु कहाँ हो कहाँ, आफैं मपाइँ भनेजस्तो । अरूले त पत्रुकार भन्न थालेका छन्, त्यसको हेक्का खै ?

पत्रकार नम्र हुनुपर्दैन ? प्रश्न सोध्न पाउने भन्दैमा अरूलाई थर्काउने, होच्याउने, बाटो छेक्ने, गाली गर्ने अधिकारचाहिँ कसले दियो ? हो, पत्रकारिताले आलोचनात्मक गुण गुमाउनुहुँदैन । आलोचना गर्नुपर्छ तर सभ्य र शिष्ट भाषामा । यहाँ त पत्रकारको निकै ठुल्ठूलो स्वर पो सुन्ने गरिन्छ । ‘मान नमान, मै तेरा मेहमान’ वा ‘मेरो गोरुको बाह्रै टक्का’ भनेझैं । मैले भनेको हुनैपर्छ, मैले भनेपछि सबैले मान्नैपर्छ जस्तो !

कोरोना कहरकै बीच पीएफ लेखिएको श्रव्यदृश्य च्यानलमा प्रस्तुत एक पत्रकारको रिपोर्टिङ शैलीलाई फेसबुकको नेपाल पुलिस पेजमा जितबहादुर पुनले पागल पत्रकार भनेर हालेका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ वडा कार्यालयमा राहत वितरणबारे पत्रकारले लाइभ रिपोर्टिङ गरेका थिए । त्यो बेला प्रहरीलाई थर्काएकाले पनि होला तर त्यसमा पत्रकारको प्रस्तुति अलि रवाफिलो नै देखिन्छ । त्यसो त कतिपय प्रहरी कर्मचारी पनि कम्ती हुँदैनन् । अलिकति हच्किने भनेको नेता र पत्रकारसितै हो । सामान्य नागरिकलाई त भुइँको धुलो जति पनि नगनेर विभिन्न निहुँमा थर्काउन र कुट्न पछि पर्दैनन् ।

नेताचाहिँ यस्ता कि आफूलाई कानुनको पालना गर्नै नपर्ने मान्छे हुँ भन्ठान्छन् । हालै पुलिसले चेकजाँच गर्दा नुवाकोट क्षेत्र नं. १ का प्रदेश सांसद बद्री मैनाली आगो भए । सरकारी नम्बर प्लेट (प्रदेश ३–०३–००१झ ००२७) को स्कोर्पियोमा राति अन्य केही माननीय, स्वकीय सचिवलगायतसँग कोचाकोच भएर उनीहरू काठमाडौं जाँदै थिए । नागढुंंगामा प्रहरी कर्मचारीले केहीबेर रोकेर सोधपुछ गर्दा सांसद बद्री रिसाउँदै भन्न थाले, ‘सांसद हुँ भन्या छ, लोगो देखाछ, अरू के चाहियो ? मान्यलाई धेरैबेर रोक्ने ? हाम्रो त्यो हैसियत हो ?’ अरूलाई सामाजिक दूरी कायम गर्नुपर्ने नियम बनाउने सांसदहरू नै त्यसरी कोचाकोच गरी हिँडेको सवालमा आफ्नो गाडी बिग्रेर त्यसमा एडजस्ट भई आएको उनले बताए । सरकारी गाडीलाई त्यसरी रोक्न नहुने, तुरुन्त छोड्नुपर्ने उनको भनाइ थियो भने सरकारी गाडी नै मिसयुज भइरहेको, आफूहरूले फर्काइरहेको प्रहरीले बताए । केही छिनपछि उक्त गाडीलाई भने जान दिइयो ।

त्यस स्कोर्पियोको अगाडि सीसामा टाँसिएको सवारी पास (जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट माननीय केशवराज पाण्डेको नाममा दिइएको) मा जारी गर्ने अधिकारीको नाम बद्रीनाथ गैह्रे लेखिएको तर हस्ताक्षर नभएको जस्तो देखिन्थ्यो । माननीय पाण्डे पनि त्यस गाडीमा थिए । उक्त पासलाई अवैध भन्दै पत्रकारले आफ्नो मोबाइलमा फोटो खिचे अनि त्यो गाडीलाई किन छोडेको ? भनी डिएसपीसित प्रश्न गर्न थाले । डिएसपी जीएस श्रेष्ठले ईपास हेरी भेरीफाइ गरेर पठाएको जवाफ दिए । तर, पत्रकारले ‘तपाईंले माथिको दबाबमा, पावरको अगाडि नसकेर छोडेको’ भन्दै डिएसपीलाई दोषी देखाउन थाले ।

अनि आफ्नो मोबाइलमा खिचिएको पासको फोटो देखाउँदै त्यसमा सिग्नेचर नभएको भनिरहे । ती प्रहरी अधिकारीले आफूले त्यो पासको आधारमा नभई इ–पास हेरेर छोडेको दोहो¥याइरहे । पत्रकारले अवैध भनी देखाइरहेको पासको विषयमा डिएसपीले त्यो धेरै अगाडि जारी भएकोले हस्ताक्षर अलि खुइलिएको हुन सक्ने भन्दै आफूले पनि त्यसैको इ–पासबाट स्क्रिनसर्ट गरेर राखेको तस्बिर देखाए, जसमा हस्ताक्षर रहेको राम्रैसँग देखियो । अब पत्रकारले हाँसेर उडाउन थाले, जादु भएको भन्दै प्रहरीको कुरा पत्याउन तयार भएनन् । त्यसपछि डिएसपीलाई पनि रिस उठेछ क्यार, पत्रकारलाई भन्न थाले, ‘तपाईंले भनेकै कुरा सही हुन्छ ? तपाईंले भनेकै मैले मान्नुपर्ने ? जे फ्याक्ट हो, त्यो भन्ने हो नि मैले त !’ तर विक्रम श्रेष्ठ नाम गरेका ती पत्रकारले अन्तिमसम्मै सिग्नेचर नभएको नक्कली पास भन्दै योहो टिभीमा रिपोर्टिङ गरिरहे । आफूले भनेकै ठिक हो र सबैले त्यही मान्नुपर्ने जस्तोगरी ।

जनता जान्न चाहन्छन् भन्दै पत्रकार ऋषि धमलाले सोध्ने गरेको प्रश्नका बारेमा एक युवतीले तीखो प्रहार गर्दै बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

केही पत्रकार वर्गका मानिस यस्ता पनि छन् कि अरूलाई भन्छन् एउटा । आफूचाहिँ गर्छन् अर्काे । टिभीका कार्यक्रम प्रस्तोता रवि लामिछानेले हालै केही अघि भनेका थिए, ‘जरुरी सामान किन्न जाने हामी सर्वसाधारण जनताको जरुरी काम र जरुरी सामान लगभग थाहा भो । चुरोट, गुटखा, बियर, भेराइटी भेराइटीका तरकारी, दूध, अण्डा, मासु । ए हजुर हरेक दिन स्वाद फेरी फेरी तरकारी किन्न केही दिन नगए हुन्न । छाकैपिच्छे फरक-फरक तरकारी खानैपर्ने, भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरी तर्लङ्गै झोल हालेर खाउँ ।’ यस्तो भन्दै मानिसहरूलाई भीडभाडमा नजान अर्तीउपदेश दिने उनै रविले यही कारोना कहर र लकडाउनकै बेला केही कलाकारसित एकै ठाउँमा भेला भएर भेराइटी–भेराइटीका खानेकुरा खाँदै गरेको भिडियो बाहिरिएको छ ।

अनलाइन तथा युटुब च्यानलहरूमा भ्युअर बढाउन भए, नभएका कुरा बढाइचढाइ सम्प्रेषण गर्ने जुन होडबाजी चलेको छ, त्यसले पनि सचेत पाठक वर्गमा पत्रकारिताप्रति वितृष्णा बढाएको छ । भनौं, पत्रकारलाई रद्दी देख्न थालिएको छ । जो–जस्ता पनि पत्रकार हुँ भन्दै हिँड्ने गरेकैले अहिले लकडाउनमा सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्रलाई मात्र मान्यता दिने सरकारको निर्णय छ । तसर्थ, यावत् कुराहरूलाई विश्लेषण गर्दा पत्रकारहरू साँच्चिकै सच्चिन जरुरी छ ।

टिप्पणीहरू