गणतन्त्र दिवशको छुट उपहार,काकामाथि कोदालो प्रहार
गणतन्त्र दिवशको अवसरमा आममाफी पाएर जेलबाट निस्केका एक पुरुषले काकालाई कोदालोले हानेर मारेका छन् । कर्तव्य ज्यान मुद्दामा सात वर्ष कैद भुक्तान गरेर गत १५ जेठमा गणतन्त्र दिवशको दिन कारागारमुक्त भएका पिपरा गाउँपालिका–५ का रामनाथ दास पुनः कर्तव्य ज्यान मुद्दामा नै पक्राउ परेका हुन् ।
कोदालो प्रहारबाट आफ्नै काकाको हत्या गरेको आरोपमा आज ४५ वर्षीय दासलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनका काका रामबहादुर दास खेतमा गएको बेला कोदालोले कन्चटमा हानेर हत्या गरेको सबुद तथा दसी फेला परेपछि रामनाथलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनले काका रामबहादुर आँपको रुखमुनि सुतिरहेको अवस्थामा कोदालोको धारिलो भागले शरीरका विभिन्न भागमा प्रहार गरेको चोटपटक देखिएको प्रहरीको भनाइ छ ।
उनीहरुबीच केही दिनअघि झगडा भएको थियो । घरबाट कोदालो बोकेर गएका रामनाथले आँपको रुखमुनि सुतिरहेका काकामाथि प्रहार गरेको प्रहरीको भनाइ छ । उक्त कोदालो रामनाथकी श्रीमतीले पहिचान गरेकी थिइन् भने अभियुक्तको घरबाट अन्य प्रमाणसमेत फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक बयानमा रामनाथले हत्या गरेको स्वीकार गरेका छन् ।
काकाको हत्यापछि नुहाएका उनले हत्याका क्रममा रगत लागेको कपडा धोएर सुकाएको अवस्थामा प्रहरीले बरामद गरेको छ । यसअघि पनि साविक सहोडवा–५ बस्ने रामविलाश दास तत्मालाई कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा रामनाथ ७ वर्ष कैद सजाय भुक्तान गरेर रिहा भएका हुन् । गणतन्त्र दिवश अवसरमा गत १५ जेठमा केन्द्रीय कारागार त्रिपुरेश्वरबाट उनी रिहा भएका थिए ।।
टिप्पणीहरू