भरतपुरमा शैक्षिक सुधारको प्रयत्न भरमग्दुर
देशभरका पालिकाहरुमा भरतपुर महानगरपालिकाको चर्चा अघिल्लो कार्यकालदेखि नै व्यापक छ । देशको राज्य व्यवस्थामै परिवर्तन ल्याउन सफल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी तथा जुझारु युवा नेतृ रेनु दाहाल यहाँको मेयर छिन् । मेयर दाहालको नेतृत्वमा तीव्र गतिमा भएका अनुपम र उदाहरणीय विकास कार्यको मूल्याङ्कन गर्दै भरतपुरवासीले फेरि उनैलाई नगर प्रमुखको जिम्मेवारी सुम्पिएका छन् ।
विगतमा प्रचण्डकी छोरी मात्रै भनेर आलोचना गरिएकी रेनु अहिले विकासको पर्यायवाचीका रुपमा आफ्नै पहिचानसहित स्थापित भएकी हुन् । मेयर दाहालको अगुवाईमा भरतपुरलाई स्मार्ट सिटीको रुपमा विकास गरेर राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरको नमूना शहर बनाउन यहाँका जनप्रतिनिधि र कर्मचारीहरु सुरुदेखि नै तल्लीन छन् ।
स्मार्ट सिटीका लागि सबैभन्दा महत्वपूर्ण सूचक शिक्षा नै हो । शिक्षाको महत्वबारे अमेरिकाको एउटा हाइस्कुलमा पुगेर नेल्सन मन्डेलाले भनेका थिए, ‘शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो, जसले तिमी संसार बदल्न सक्छौ ।’ हुन पनि समग्र परिवर्तनको लागि सर्वप्रथम शैक्षिक विकास नै आवश्यक हुन्छ । त्यसैले पनि चितवनको भरतपुर महानगरपालिकाले शिक्षालाई निकै प्राथमिकतामा राखेर शैक्षिक सुधारका निम्ति भरमग्दुर प्रयास गरिरहेको छ ।
भरतपुर महानगरपालिकामा अहिले छ वटा मर्ज भएर जम्मा एक सय १७ वटा सामुदायिक र ९७ वटा संस्थागत विद्यालय छन् । कतिपय सामुदायिक विद्यालयको भौतिक स्थिति कमजोर देखिएपछि भरतपुर महानगरपालिकाले विद्यालयको भौतिक पूर्वाधार विकासमा उल्लेखनीय लगानी गरिरहेको छ । भवन मर्मत, नयाँ कक्षाकोठा निर्माण, जस्ताको छानामुनि फल्स सिलिङ, कलरकोडअनुसार विद्यालय रंगरोगन कार्यक्रम चलाइएको छ ।
फर्निचर, शैक्षिक सामग्री, खानेपानी र शौचालयका लागि पनि विद्यालयहरुलाई खर्च दिइएको छ । यस वर्ष स्थानीय बजेटबाट शिक्षा क्षेत्रका लागि कुल २० करोड २५ लाख रुपैयाँ छुट्याएको भरतपुर महानगरपालिकाले गत वर्ष विद्यालयहरुको भौतिक सुधारमामात्रै करिब आठ करोड लगानी गरिएको जनाएको छ । महानगरपालिकाकै खर्चमा सामुदायिक विद्यालयहरुलाई विद्यालय बस पनि उपलब्ध गराइएको छ ।
गत असार २८ गते दुईवटा सामुदायिक विद्यालय भरतपुर–१६ को श्री मावि ढड्डाघारी र भरतपुर–२८ को श्री साझापुर माविलाई महानगर परिसरमै एक कार्यक्रमबीच एक–एक वटा विद्यालय बस प्रदान गरेको भरतपुर महानगरपालिकाले त्यसअघि पनि विभिन्न पाँचवटा सामुदायिक विद्यालयलाई स्कुल बस प्रदान गरिसकेको छ ।
ढड्डाघारी र साझापुर माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई विद्यालय बसको साँचो हस्तान्तरण गर्दै मेयर रेनुले भनेकी थिइन्, ‘शैक्षिक गुणस्तर कायम गर्नुहोस्, विद्यालयलाई आकर्षणको केन्द्र बनाएर अब्बल बनाउनुहोस् ।’ शिक्षाको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस्, टाढा–टाढाबाट आउने विद्यार्थीहरुलाई सहज होस् भनी विद्यालय बस उपलब्ध गराइएको बताउँदै आवश्यकताअनुसार अरु सामुदायिक विद्यालयलाई पनि बस दिँदै जाने उनले बताइन् ।
विद्यालय आउजाउको निम्ति सजिलो होस् भनेर भरतपुरमा विपन्न किशोरी छात्राहरुलाई साइकल पनि वितरण गरिएको छ । सामुदायिक विद्यालयमा पढ्ने गरीब–विपन्न तथा असहाय विद्यार्थीहरुलाई न्यानो कपडासमेत वितरण गरिएको छ । कक्षा १ देखि ८ सम्मका लोपोन्मुख तथा अति सीमान्त बालबालिकाको शिक्षामा निरन्तरताका लागि प्रति विद्यार्थी तीन हजार रुपैयाँका दरले वर्षेनी छात्रवृत्ति उपलब्ध गराउन थालिएको छ ।
प्राविधिक उच्च शिक्षा अध्ययन गर्ने लोपोन्मुख, अतिसीमान्त, अपाङ्गता भएका, दलित तथा शहीद परिवारका छात्रछात्रालाई १० हजारका दरले छात्रवृत्ति दिने व्यवस्था मिलाइएको छ । संस्थागत विद्यालयको छात्रवृत्तिका लागिसमेत विद्यार्थी छनोट र नियमन महानगरपालिकाबाट गरिँदैछ । अटिजम भएका विद्यार्थीका लागि वडा नम्बर १० मा ‘भरतपुर बालमन्दिर अटिजम विशेष विद्यालय’ सञ्चालनमा ल्याइएको छ ।
सामुदायिक विद्यालयमा नेपालकै नमूना बन्न सफल नारायणी नमूना मावि भरतपुरमा छ । यस्तै यहाँका अन्य सामुदायिक विद्यालयलाई पनि उत्कृष्ट बनाउन भरतपुर महानगरपालिकाले सबै वडामा एक नमूना सामुदायिक विद्यालय कार्यक्रम चलाएको शैक्षिक प्रशासन महाशाखा अधिकृत दिपक सिग्देलले जानकारी दिए । उनका अनुसार विद्यार्थी संख्या बढी तर शिक्षक दरबन्दी कम भएका सामुदायिक विद्यालयमा युवा स्वयंसेवक शिक्षक खटाउने नीति महानगरपालिकाले लिएको छ ।
पढाइमा बाधा नहोस् भनी सुत्केरी बिदामा बस्ने महिला शिक्षकको सट्टामा स्वयंसेवी शिक्षक दिने प्रबन्ध मिलाइएको छ । ५५ वर्ष पूरा भई ५९ वर्ष ननाघेका स्थायी शिक्षकले राजीनामा दिएमा उनीहरुलाई वार्षिक २० हजारका दरले प्रोत्साहन रकम दिने व्यवस्थासमेत गरिएको बताउँदै सिग्देलले भने, ‘यसले नयाँ रोजगारी सिर्जना गर्ने र योग्य, दक्ष व्यक्तिले शिक्षणका लागि अवसर पाउनेछन् ।’
भरतपुर महानगरपालिकाले शैक्षिक सुधारका लागि गरेको प्रयत्नको फलस्वरुप गत पाँच वर्षमा सामुदायिक विद्यालयमा छ हजारभन्दा बढी विद्यार्थी संख्या थपिएको मेयर रेनु दाहाल गर्वका साथ बताउँछिन् । तर अझै पनि सामुदायिक विद्यालयमाभन्दा विद्यार्थी संख्या संस्थागत विद्यालयमै बढी छ । शैक्षिक सत्र २०७८ को तथ्याङ्कअनुसार विद्यार्थी संख्या सामुदायिक विद्यालयमा ४४ हजार ८१६ र संस्थागत विद्यालयमा ४६ हजार ९४६ रहेको सिग्देल बताउँछन् । जेहोस्, आगामी दिनमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र नतिजा अझै सुधारिँदै जाने र विद्यार्थी संख्या पनि थपिँदै जाने महानगरपालिकाको विश्वास छ ।
शैक्षिक गुणस्तर उकास्न विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, कर्मचारी सबै जिम्मेवार हुनुपर्ने र अभिभावकले चासो दिनुपर्ने भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्याल बताउँछन् । ‘भरतपुरको नारायणी नमूना मावि, प्रेमबस्ती मावि, जानकी मावि, हिमालय दण्डपाणि माविलगायत धेरै विद्यालयमा अभिभावकको आकर्षण बढ्दो छ । केही वर्ष अगाडि समायोजन गर्ने भनिएको वडा नम्बर ५ को भद्रकुमारी आधारभूत विद्यालयमा राजेन्द्र चालिसे प्रधानाध्यापक भएर आएपछि विद्यार्थी संख्या तीन सय ७५ पुगेको छ । अहिले उक्त विद्यालयलाई कक्षा ६ को अनुमति दिइएको छ । वडा नम्बर २५ को आधारभूत विद्यालय लेबरनगरमा विद्यार्थी संख्या बढ्दो छ’, उनले भने, ‘शिक्षकको खटाइ, काम गराइ र लगाव भयो भने विद्यालयलाई नमूना बनाउन सकिँदो रहेछ ।’
यसैगरी नारायणी नमूनामा गाभ्ने भनिएको भरतपुर–१० को चित्रसेन आधारभूत विद्यालयमा प्रेमराज गौली प्रधानाध्यापक भएर आएपछि अहिले मर्जको कल्पना गर्न नसकिने एकदम राम्रो भएको उनले सुनाए । सबै विद्यालयमा विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान गरिएको, तहगत रुपमै प्रधानाध्यापक व्यवस्थापन गरिएको पौड्यालले जानकारी दिए ।
उनी भन्छन्, ‘धेरै किताब बोक्दैमा, घोक्दैमा, विद्यार्थीले परीक्षामा राम्रो अंक ल्याउँदैमा शैक्षिक गुणस्तर राम्रो भएको मान्न सकिन्न । एसईईमा ए प्लस ग्रेड ल्याउँछ तर आफ्नो कपडा धुने, कपडामा आइरन लगाउने, खाना पकाउने जस्ता दैनिक जीवनका सामान्य कार्य समेत गर्न जान्दैन भने त्यो गुणस्तरीय शिक्षा भएन ।
‘वातावरण संरक्षण गर्न वृक्षारोपण गर्नुपर्छ भनी लेखेर पास हुने विद्यार्थीले वृक्षारोपण गर्दैन, गर्न जान्दैन भने त्यो शिक्षाको के अर्थ रु’, उनले थपे, ‘शिक्षा यस्तो हुनुपर्छ कि जसबाट स्वावलम्बी र आत्मनिर्भर नागरिक तयार हुन सकून ।’ बाल मनोविज्ञान बुझेर बालबालिकालाई रुची र उमेरअनुसारको शिक्षा दिइनुपर्ने, रमाएर सिक्ने वातावरण मिलाउनुपर्ने भन्दै उनले यसका लागि भरतपुर महानगरपालिकाले जोड दिइरहेको बताए ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी भन्छन्, ‘स्मार्ट सिटीको अवधारणा कार्यान्वयन गर्ने र स्मार्ट सिटीलाई अघि बढाउने नागरिकले हो । नागरिकहरु शिक्षित र दक्ष हुनुपर्यो, टेक्नोलोजीमा पोख्त हुनुपर्यो । शिक्षा भनेको पूर्वाधारको पनि पूर्वाधार हो ।’ बितेको पाँच वर्षको अवधिमा शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले गुणात्मक फड्को मार्न सफल भएको उनी बताउँछन् । भरतपुर महानगरपालिकामा शिक्षालाई सिकाइसँग जोड्ने, सिकाइलाई रुपान्तरण गर्ने हिसाबले पुस्तकालय, शैक्षिक सामग्री, शिक्षक तालिमको व्यवस्था गरिएको उनले जनाए ।
‘विज्ञान प्रविधि, इन्जिनियरिङ्ग, गणित विषयमा जग राम्रो नबनाएसम्म त्यस्ता विद्यार्थीले भविष्यमा २१ औं शताब्दीको बजारमा प्रतिस्पर्धा गर्न सक्दैन, राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्ति हुनै सक्दैन’, उनले भने, ‘साइन्स, म्याथ, इंग्लिस जस्ता विषयलाई प्राक्टिकल तवरबाट जीवनसँग जोडेर, समुदायसँग जोडेर सिकाउने हिसाबले शिक्षण सिकाइमा रुपान्तरणका लागि जोड दिँदैछौं । जस्तो कि गणितलाई गाह्रो विषयको रुपमा लिइँदै आएको छ, त्यसलाई ल्याब बनाएर दैनिक जीवनसँग व्यवहारिक ढंगले प्राक्टिकल गरेर सिक्न, सिकाउन अब हरेक विद्यालयमा म्याथम्याटिक्स ल्याब बनाउने यो वर्षको कार्यक्रम रहेको, यस्तै इंग्लिसका लागि ल्याङ्ग्वेज ल्याबको कन्सेप्ट पनि अगाडि बढेको उनले बताए ।
स्मार्ट सिटीका लागि सूचना तथा सञ्चार प्रविधि पनि महत्वपूर्ण विषय हो । सामुदायिक विद्यालयहरुमा इन्टरनेट जडानका लागि महानगरको स्रोतबाट बजेट व्यवस्था गरिएको छ । विद्यालयमा डिजिटल लर्निङ ल्याब सञ्चालनदेखि शिक्षकहरुलाई आईसिटी ट्रेनिङ्ग, दिने, इन्टरनेट चलाउने र प्रिन्ट गर्ने मात्र होइन कि पढाइ पनि आईसिटीबाटै चलाउने गरी स्मार्ट कक्षाकोठा सञ्चालनमा ल्याउन महानगरपालिका प्रयत्नशील रहेको प्रमुख प्रशासकीय अधिकृतले बताए ।
भरतपुरमा डिजिटल पूर्वाधारतर्फ धेरै काम भएका छन् । महानगरपालिकाको दैनिक कार्य सम्पादनलाई डिजिटलाइज्ड गरिएको छ । ‘डिजिटल पूर्वाधार तथा संरचनामा सुधार गरेर सर्भर, अनलाइन नेटवर्किङ्गदेखि सम्पूर्णमा रिफर्म गरिसक्यौं’, उनले भने, ‘दर्ता चलानीदेखि लिएर अहिले धेरै काम अनलाइन मार्फत् हुन्छ । अनलाइन राजश्व भुक्तानी प्रणाली सञ्चालनमा ल्याएका छौं । इपेमेन्ट सुरु भइसकेको छ । अनलाइन नक्सा प्रणाली छ । अब सबै रेकर्डेड हुन्छ, चलखेलको सम्भावना नै हुँदैन ।’
बौद्धिक तथा साहित्यिक विकासका लागि प्रज्ञा प्रतिष्ठान नै गठन गरेको भरतपुर महानगरपालिकाले आमसञ्चार प्रतिष्ठान स्थापनाका लागि समेत पत्रकार महासंघलाई सघाउँदैछ । सञ्चार क्षेत्रको संरक्षण र सबलीकरणमा भरतपुर महानगरपालिकामा विशेष काम भएको छ । पत्रकार र पत्रकारिता क्षेत्रको उत्थानका लागि स्थानीय सञ्चारमाध्यमहरुलाई कार्यविधि नै बनाएर समानुपातिक रुपमा लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन थालेको भरतपुर महानगरपालिकाले ज्येष्ठ पत्रकार निवृत्तिभरण कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । यसका लागि पत्रकार महासंघ चितवनलाई २० लाख रुपैयाँ दिइएको छ । सोही रकमको ब्याजबाट लामो समयदेखि पत्रकारिता गरेर ६० वर्ष पूरा भएका पत्रकारलाई चार हजार रुपैयाँ मासिक भत्ता दिने व्यवस्था मिलाइएको हो । गत असार २८ गते पत्रकार महासंघलाई चेक हस्तान्तरण कार्यक्रममा उमेर पुगेका भरतपुरका चार जना पत्रकारलाई वैशाख, जेठ र असार तीन महिनाको एकमुष्ठ १२ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
टिप्पणीहरू