महिलाको धेरै जिम्मेवारी, स्तनपान कक्ष घोषणामा सीमित

महिलाको धेरै जिम्मेवारी, स्तनपान कक्ष घोषणामा सीमित

भरतपुरको एउटा सरकारी कार्यालयको भुइँतलामा रहेको एक कर्मचारीको कार्यकक्षमा बच्चाको कोक्रो छ । कोक्रोमा एउटी आठ महिने शिशु छिन् । ती बच्ची सोही कक्षकै महिला कर्मचारी पुनम पौडेलकी छोरी हुन् । सानो बच्चालाई समय–समयमा स्तनपान गराइरहनुपर्छ । बच्चाले दिसापिसाब गरिरहन्छ, सफा–सुग्घर गरिरहनुपर्छ । रुँदा भुलाउनै पर्यो । कोक्रोमा बाँधिएको डोरी एक हातले समातेर हल्लाउँदै बच्चा भुलाएर अर्काे हातले कार्यालयको काम भ्याउनुपर्छ उनले । के गर्नु महिला भएपछि दोहोरो जिम्मेवारी झेल्नुपर्ने ¤ बच्चा जन्माउने–हुर्काउने विशेष जिम्मेवारी प्रकृतिले महिलालाई नै दिएको छ ।

पहिले महिलाहरु घरको चुल्होचौको र बच्चा हुर्काउने काममा मात्रै सीमित थिए । पछिल्लो समय महिलाहरु पनि जागिर–व्यवसायमा लाग्न थालेका छन् । यसले उनीहरुलाई आत्मनिर्भर बनाएको छ । श्रीमान्–श्रीमती दुवैले काम गर्दा परिवारको आर्थिक सबलीकरण भएको छ । तर यसरी दोहोरो जिम्मेवारी वहन गर्न महिलालाई कम्ती गाह्रो भने छैन । ‘बच्चा स्याहार्दै अफिसको कामकाज पनि गर्नुपर्दा कति गाह्रो भइरहेको छ त ?’ भनी सोध्दा पुनमका आँखा रसाए, केहीबेर स्तब्ध भइन् ।

‘कम गाह्रो छ ?’ सोही कार्यालयमा कार्यरत अर्की महिला कर्मचारी निरञ्जना पोखरेलले भनिन्, ‘दोहोरो मात्र होइन, तेहेरो जिम्मेवारी छ । बच्चा जन्माउने र हुर्काउनुका साथै कार्यालयको काम पनि गर्नैप¥यो । घरमा गएर घरको कामधन्दा पनि गर्नुपर्छ ।’ आफूले बच्चा हुर्काउँदा ६ महिना बेतलबी बिदा लिएर बसेको निरञ्जनाले बताइन् ।

कृषि ज्ञान केन्द्र चितवनको बागवानी शाखामा प्राविधिक सहायकको रुपमा कार्यरत पुनम जिल्ला कृषि विकास कार्यालय पर्सामा कार्यरत छँदा ठूली छोरी पनि यसरी नै हुर्काएको बताउँछिन् । पुनमको घर चितवनकै रत्ननगर हो ।

श्रीमान् काठमाडौंमा बैंकमा जागिरे छन् । पुनम भरतपुरमा अफिसकै क्वार्टरमा बस्छिन् । अफिसबाट राम्रै सहयोग मिलिरहेको बताउँदै पुनमले भनिन्, ‘यस्तो बेला अफिसले फिल्डमा नपठाउने, बढी काम नदिने गर्दा केही सजिलो भएको छ ।’ कहिलेकाहीँ फुर्सदमा अरु कर्मचारी पनि आएर उनको बच्चालाई भुलाउने गर्छन् । ‘ज्ञान केन्द्रले नै हुर्काएको नानी हो यो अब’, केन्द्रका कार्यालय सहयोगी पूर्ण अधिकारीले भने, ‘हामीले त माइतीघर भनेका छौं ।’

केन्द्रकी प्रशासन शाखा प्रमुख रमा आचार्यले आफूले पनि यसरी नै कार्यालयमा ल्याएर काम गर्दै बच्चा हुर्काएको बताइन् । ‘हाम्रो पनि दुवै जना सरकारी जागिरे हो’, रमाले भनिन्, ‘घरमा सधैं खाना पकाउनेचाहिँ मैले नै हो । श्रीमानले गर्नै पर्दा बाध्यताले कहिलेकाहीँ मात्र घरको काम गर्नुहुन्छ नत्र सिन्को भाँच्नुहुन्न ।’ बाबुजस्तो नहोस् भनेर आफूले छोरालाई घरको काममा बुहारीलाई सघाउन लगाउने गरेको उनी बताउँछिन् ।यो रिपोर्टिड्डका लागि पुग्दा दिउँसो सोही कार्यालयकी एउटी महिला कर्मचारी कसैलाई फोन गरेर भन्दै थिइन्, ‘बिहान जाउलो पकाएर छोडेको छु, त्यही खुवाइदिनू है ¤’ केन्द्रकी कार्यालय सहयोगी राधिका चापागाईं हुन् उनी । उनका दुईवटा बच्चा छन्, एउटा ४ मा पढ्ने र अर्काे मन्टेश्वरीमा पढ्ने ३–४ वर्षको । तिनै बच्चालाई आफूले कोठामा पकाएर राखेको जाउलो खुवाइदिनू भनेर सँगै भाडामा बस्ने दिदीलाई भनेको उनले बताइन् । श्रीमान् सहकारीमा जागिरे रहेको बताउँदै राधिका भन्छिन्, ‘महिला कर्मचारीलाई बच्चाको तनाव, अफिसको पनि तनाव ¤ पुरुषलाई त बिहान श्रीमतीले पकाएको खाएर अफिस गयो, बेलुकी घरमा आउँदा पनि खाना रेडी हुनुपर्यो ¤’

हाम्रो समाजमा श्रीमान्–श्रीमती दुवैले जागिर गरेपनि खाना पकाउने, लुगा धुने, सरसफाइ गर्ने जस्ता घरायसी कामकाज महिलाले नै गर्नुपर्ने, पुरुषले खासै नगर्ने प्रवृत्ति अझै व्याप्त छ । ‘पुरुषले पनि सकेको सहयोग गर्नुपर्छ’, कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिंखडा भन्छन्, ‘महिलालाई बाहिरी कामको लोड छ भने घरको कामको लोड कम गरिदिनुपर्छ ।’ श्रीमतीलाई सघाउन चाहेर पनि कतिपय पुरुषले घरमा बाबुआमाले नराम्रो सोच्ने हुन् कि, जोइटिंग्रे भन्ने हुन् कि भनेर असजिलो मान्ने गरेको उनी बताउँछन् ।

प्रत्येक अफिसमा ‘बेबी केयर सेन्टर’ स्थापना भए महिला कर्मचारीलाई बच्चा हुर्काउन सजिलो हुने निरञ्जना बताउँछिन् । तर बेबी केयर सेन्टरको त के कुरा एउटा ‘स्तनपान कक्ष’ समेत छैन कार्यालयहरुमा । कृषि ज्ञान केन्द्रमा पनि छैन । स्तनपान कक्ष भए यसरी कार्यालयमा बच्चा हुर्काउन परेका महिला कर्मचारीलाई मात्र होइन, बच्चा लिएर आउने सेवाग्राही महिलालाई पनि बच्चालाई स्तनपान गराउन सजिलो हुने हो । सरकारले अघिल्लो वर्षको बजेट भाषणमै कार्यालयहरुमा स्तनपान कक्षको अवधारणा ल्याए पनि जिल्ला प्रशासन लगायतका एकाध बाहेक अधिकांश कार्यालयमा त्यो कार्यान्वयन भएको नदेखिएको स्वास्थ्य कार्यालय चितवनकी प्रजनन् स्वास्थ्य फोकल पर्सन नन्दकली चापागाईं बताउँछिन् ।

‘आमा बस्ने, दूध खुवाउने, बच्चालाई सुताउने, लिटो पकाएर खुवाउने ग्याँसचुलोसमेत भएको कक्ष महिला कर्मचारी भएका कार्यालयहरुमा हुनुपर्ने हो’, उनी भन्छिन्, ‘बच्चालाई दुई वर्षसम्म आमाको दूध खुवाउनुपर्छ । बच्चा जन्मेको ६ महिनासम्म अरु केही नखुवाएर आमाको दूधमात्रै खुवाउनुपर्छ । दिनमा २÷२ घन्टामा, राति ४÷४ घन्टामा ।’ ६ महिनापछि दिनमा दुईपटक अन्न (लिटो, जाउलो आदि) खुवाएर अरु बेला समय मिलाएर २–३ घन्टामा आमाको दूध खुवाउनुपर्ने, बच्चा ८÷९ महिना, एक वर्षको भएपछि दिनको चारपटक अन्न, गाईभैंसीको दूध अनि आमाको दूध पनि खुवाउनुपर्ने उनले बताइन् ।

नेपालमा महिला कर्मचारीले सुत्केरी हुँदा ९८ दिन तलबसहितको बिदा अनि ६ महिना बेतलबी बिदामा बस्न पाउने बाहेक अरु सुविधा छैन । तर बच्चा जन्मेको केही वर्षसम्म महिला कर्मचारीले एक घन्टा, दुईघन्टा अर्थात् घन्टाका हिसाबले काम गर्न पाउने व्यवस्था युरोपतिर पाइएको नन्दकली बताउँछिन् । अझ ती देशहरुमा त कर्मचारीको बच्चा जन्मिएपछि बच्चा र दम्पतिले थप आर्थिक सुविधा समेत पाउने उनले बताइन् ।

– अजय गोर्खाली

टिप्पणीहरू