काठ तस्कर भगाउने कर्मचारी परे कार्वाहीमा

काठ तस्कर भगाउने कर्मचारी परे कार्वाहीमा

काठ तस्करीमा पक्राउ परेका अभियुक्तलाई भगाएको आरोपमा डिभिजन वन कार्यालय सिरहा, लहानका तीन कर्मचारी निलम्बनमा परेका छन् ।

अवैध काठसहित पक्राउ परेका श्री लक्ष्मीनारायण मिलका सञ्चालक मदन ठाकुरलाई वीच बाटोबाट भगाएको आरोपमा अस्ति तीन कर्मचारीलाई निलम्बन गरिएको हो । सहायक वनरक्षक रामवृक्ष मोची, जमदारहरु ब्रम्हदेव यादव र रामकुमार चौधरीलाई दुई महिनाका लागि निलम्बन गरिएको कार्यालयका प्रमुख प्रशासन अधिकृत सरोज चौधरीले बताए ।

उनीहरुमाथि आवश्यक कारबाहीसमेत अघि बढाइएको उनको भनाइ छ । गत भदौ ३ गते बेलुकी सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ९ घुर्मीस्थित श्री लक्ष्मीनारायण मीलको कम्पाउण्डबाट भर्खर काटिएका खयर जातका ६५ थान गोलिया बरामद भएको थियो ।

काठ तस्करीमा मील सञ्चालक नै संलग्न रहेको उल्लेख गर्दै मदनलाई वन कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

उनीहरुले बरामद काठसहित मदनलाई पक्राउ गरेर लहानतर्फ लगेको स्थानीयले बताएका छन् । तर,बीच बाटोबाटै अभियुक्त फरार भएपछि वनकै कर्मचारीहरुले भगाएको स्थानीयले आरोप लगाएका थिए । मदनलाई भगाएको आरोप लागेपछि अनुसन्धानका क्रममा तीन कर्मचारीलाई निलम्बित गरिएको हो ।

टिप्पणीहरू