फोटो स्टुडियोमा नक्कली शैक्षिक प्रमाणपत्रको धन्दा
राजधानीमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा फोटो स्टुडियोका तीन जना सञ्चालक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका ९ बत्तिसपुतलीमा रहेका विभिन्न फोटो स्टुडियोका सञ्चालकहरुलाई शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा एभिआइका सञ्चालक चुबरलाल चौधरी, एमए जेनेरलका सञ्चालक सुमित्रा कोइराला र आरएन फोटो स्टुडियोका सञ्चालनक फुल्हमु तामाङ हुन् । उनीहरुले एसएलसी र +२ उतीर्णको नक्कली शैक्षिक प्रामाणपत्र बनाए वापत पाँच सयदेखि एक हजारसम्म लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले विशेष गरी वैदेशिक रोजगारमा खाडी मुलुक जानेहरुको निम्ति त्यस्तो प्रमाण पत्र बनाउने गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नक्कली शैक्षिक प्रमाणपत्र बनाउन प्रयोग हुने विभिन्न उपकरण र तयारी अवस्थामा रहेका नक्कली शैक्षिक प्रमाणपत्र बरामद गरिएको छ ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको निम्ति प्रहरी वृत्त गौशाला पठाइएको छ ।
टिप्पणीहरू