बैंकबाट रकम झिकेपछि ७५ वर्षीय बृद्ध लुटिए

बैंकबाट रकम झिकेपछि ७५ वर्षीय बृद्ध लुटिए

धनुषामा बैंकबाट रकम झिकेर घर जाने क्रममा एक बृद्ध लुटिएका छन् । लक्ष्मीनियाँ गाउँपालिका ६ घर भएका ७५ वर्षीय राम दासले बैंकबाट झिकेको एक लाख ८० हजार रूपैयाँ बाटैमा लुटिएको छ ।

बृद्धको रकम लुटेर भागेको आरोपमा दुई युवक पक्राउ परेका छन् । स्थानीय २० वर्षीय भरोशी भन्ने नरेश यादव र २३ वर्षीय सरोज दासलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले सपहीस्थित मेगा बैंकबाट रकम झिकेर घर जाँदै गरेका दासलाई लुटेर भागेका थिए । प्रहरीका अनुसार वृद्धलाई बैंकमा गएदेखि नै उनीहरूले पछ्याएका थिए ।

पक्राउ परेका यादवले आफ्नो घर अगाडि खाल्डो खनेर लुकाएको एक लाख ७५ हजार रुपैयाँ र सरोजको साथमा रहेको १५ सय रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । उनीहरुको साथबाट लुटपाटमा प्रयोग गरिएको ज. १२ प। ८५९३ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ ।

टिप्पणीहरू