लामखुट्टेको चकचकी, महामारीको जगजगी

लामखुट्टेको चकचकी, महामारीको जगजगी

जनआस्था अनलाइनमा गत भदौ २ गते ‘चितवनमा कोरोना बढ्यो, कीटजन्य रोगको खतरा पनि उत्तिकै’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । अहिले यहाँ कोरोना संक्रमण केही मत्थर भए पनि कीटजन्य रोगको प्रकोप बढेको छ । खासगरी डेंगु र जापानिज इन्सेफलाइटिसस्को जगजगी देखिएको स्वास्थ्य कार्यालय, चितवनले जनाएको छ ।

कार्यालयका अनुसार यो वर्ष अहिलेसम्म चितवनमा १७९ जना डेंगु संक्रमित फेला परिसकेका छन् भने जापानिज इन्सेफलाइटिस २३ जनामा परीक्षण गर्दा नौ जनामा पुष्टि भइसकेको छ । ‘यी दुवैलाई कीटजन्य रोग भनिन्छ, भेक्टरहरुले सार्ने हो’, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईंले भने, ‘लामखुट्टेको टोकाइबाट बच्ने हो भने यी दुवै रोगबाट बच्न सकिन्छ ।’

डेंगु संक्रमितलाई टोकेको लामखुट्टेले स्वस्थ मान्छेलाई टोकेमा डेंगु सर्छ । तर जापानिज इन्सेफलाइटिस भएको मान्छेलाई टोकेको लामखुट्टेले स्वस्थ मान्छेलाई टोकेपनि सर्दैन । फैलावटको दृष्टिले डेंगु खतरनाक भए पनि जोखिमका हिसाबले जापानिज इन्सेफलाइटिस बढी घातक हुन्छ । ‘सुंगुर, बंगुर, हाँस जस्ता पशुपक्षीमा सामान्यतः पाइने रोग हो जापानिज इन्सेफलाइटिस’, उनले भने, ‘यिनीहरुलाई टोकेको लामखुट्टेले मान्छेलाई टोकेमा जापानिज इन्सेफलाइटिस सर्न सक्छ ।’

ज्वरो आउने, जीउ दुख्ने, टाउको दुख्ने, बान्ता हुने, कम्पन हुने, घाँटी अररो हुने, बेहोस हुने आदि जापानिज इन्सेफलाइटिसका लक्षण हुन् । जापानिज इन्सेफलाइटिसका बिरामीहरुलाई प्रायः आईसीयुमै राखेर उपचार गर्नुपर्ने हुन्छ । कतिपयमा लक्षण नदेखी हराउन पनि सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो रोगबाट संक्रमितहरु ३० प्रतिशतको मृत्यु हुनसक्ने स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले जानकारी दिए । मृत्युबाट बचे पनि ३० देखि ५० प्रतिशतमा स्नायु तथा मानसिक समस्या हुने जटिलता रहेको उनले बताए ।

चितवनमा यो वर्ष अहिलेसम्म जापानिज इन्सेफलाइटिसबाट कसैको मृत्यु भने भइसकेको छैन । सुविधासम्पन्न अस्पतालमा समयमै उपचारमा आएका कारण पनि यहाँ अहिलेसम्म कसैको मृत्यु नभएको उनी बताउँछन् । तर छेउका जिल्लाहरु मकवानपुर र पूर्वीनवलपरासीतिर यसले ज्यान लिइसकेको जानकारी गराउँदै यतिबेला सतर्कता एकदम जरुरी रहेको उनले बताए । उनका अनुसार विगतको तथ्याङ्क हेर्दा असारदेखि असोजसम्म जापानिज इन्सेफलाइटिसको खतरा छ ।

क्युलेक्स जातका लामखुट्टेले यो रोग सार्छन् । सुंगुर–बंगुर–हाँस पालिएका क्षेत्र तथा खेतमा जमेका पानीमा पनि यी लामखुट्टे धेरै पाइन्छन् । त्यसैले धान रोप्ने बेलादेखि काट्ने समयसम्म यसको जोखिम रहन्छ । यो लामखुट्टेले साँझ–बिहान टोक्छन् ।

डेंगु सार्ने एडिस एजिप्टी र एडिस एल्बोपिक्टस लामखुट्टेले भने बढीजसो दिउँसोको समयमा मान्छेलाई टोक्ने गरेको पाइन्छ । लामखुट्टेको चकचकी रहुञ्जेल डेंगुको पनि जगजगी हुने नै भयो । ‘ज्वरो आउने, जीउ दुख्ने, आँखाको गेडीको भित्रपट्टि भागमा दुख्ने, हड्डी दुख्ने, छालामा बिमिरा आउने, रक्तस्राव हुने जस्ता डेंगु रोगका लक्षण हुन् । डेंगु संक्रमित धेरैलाई सामान्य उपचार गरेर निको हुने भए पनि कतिलाई आईसीयु र भेन्टिलेटरमै लैजानुपर्ने अवस्था पनि आउन सक्छ । मृत्यु पनि हुन सक्छ’, जिल्ला स्वास्थ्य प्रमुख भन्छन्, ‘खासमा यी दुवै रोगको उपचार छैन, कीटाणु मार्ने औषधि ठ्याक्कै छैन । लक्षणअनुसार उपचार गर्ने हो ।’

सबैभन्दा बढी बिरामी ओइरिने जिल्लाको एकमात्र ठूलो सरकारी अस्पताल भरतपुर अस्पतालमा जापानिज इन्सेफलाइटिसको लक्षण भएका दुईजना बिरामीको अहिले आईसीयुमा राखेर उपचार भइरहेको, उनीहरु दुवैको अवस्था गम्भीर रहेको, तीमध्ये एकजनामा रोग प्रमाणित भइसकेको अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले जानकारी दिए । भरतपुर अस्पतालमा डेंगु संक्रमित बिरामीहरु एउटै वार्डमा पाँच देखि सात जनाको उपचार भइरहेको उनले बताए । भने, ‘भरतपुर अस्पतालमा डेंगु र जापानिज इन्सेफलाइटिसको जस्तै लक्षण भएका शंकास्पद बिरामी अहिले दैनिक एक सयभन्दा बढी ओपिडीमा आइरहेका छन् ।’

लामखुट्टेकै टोकाइबाट मलेरियालगायत अन्य रोग पनि सर्न सक्छ । त्यसैले लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे फैलने ठाउँ–पानी जम्ने खाल्डाखुल्डी पुर्न, सुंगुर, बंगुर, हाँस व्यवस्थित तरिकाले घरदेखि टाढा राखेर पाल्न, झ्यांग र झाडी फाँडेर वरपरको वातावरण स्वच्छ, सफा राख्न, घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली लगाउन, सुत्दा झुलको प्रयोग गर्न, पूरा शरीर ढाक्ने कपडा लगाएर हिँड्न, लामखुट्टेको बिगबिगी भएका ठाउँमा नजान आम जनसमुदायलाई स्वास्थ्य कार्यालय चितवनको अनुरोध छ । यस्तै, यो बेला स्क्रबटाइफस, कालाजारलगायत अन्य कीटजन्य रोगहरुको पनि खतरा भएकाले त्यसबाट जोगिने उपाय अवलम्बन गर्न कार्यालय सुझाउँछ ।

– अजय गोर्खाली

टिप्पणीहरू