दशैंमा रद्दी खानेकुरा, बिरामी होलान् भुरा
खाना र स्वास्थ्यको अन्तरसम्बन्ध बताइरहन नपर्ला । खाद्यवस्तुमा हुने सानो खराबी वा लापरवाहीले मानवस्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । तर साना केटाकेटीलाई नै लक्ष्यित गरी बनाइएका बजारिया खानेकुराहरूको अवस्था हेर्दा गएगुज्रेको पाइएको छ । प्रायः बच्चाबच्चीले पसल गएर किनेर खाने भनेकै २-४, ५-१०, १५-२० रूपैयाँमा पाइने चकलेट (मिठाइ), चिप्स, अमिलो (पाउँ), जुसी इत्यादि हुन् । चितवनको संयुक्त बजार अनुगमन टोलीले केहीअघि नारायणगढ बजारका पसलहरूबाट यस्ता मिठाइ, चिप्स, पाउँ, छुर्पी, पुष्टकारीहरू जफत गरेको थियो । पेंडा, लड्डु, रसबरी जस्तै देखिने मिठाइ, कुरकुरेजस्ता चिप्स, भुजुरीहरू बजारमा छापछाप्ती पाइन्छ । ती गुणस्तरहीन तेलमा तारिएको हुने बताउँदै उपभोक्ता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष विष्णुप्रसाद भुसाल भन्छन्, ‘बच्चाबच्चीलाई टन्सिललगायत घाँटीमा समस्या हुने यस्तै खानेकुराले हो ।’ १-२ रूपैयाँ, ५-१० रूपैयाँमा पाइने पाते अमिलोमा स–साना बच्चाबच्ची मात्र होइन किशोरीहरू पनि हुरुक्क हुन्छन् । यस्ता अमिलोले किशोरीहरू रजस्वला हुँदा तल्लो पेट दुख्ने, बढी रक्तस्राव हुने समस्या निम्तिने उनी बताउँछन् ।
केटरिंग वा होटलहरूमा स्टान्डर्ड तरिकाले बेचिने चटपटे, पानीपुरी त ठीकै हो । बाहिर ठेलामा, खुला ठाउँमा, स–साना पसलहरूमा खाद्य स्वच्छताको विचारै नगरी बेचिने पानीपुरी, चटपटहरूमा अखाद्य अमिलो प्रयोग हुने र खुल्ला हात चोबल्दै झिकेर दिइने हुँदा फोहोर एवम् स्वास्थ्यका लागि हानिकारक हुने देखिएको भुसालले बताए । केटाकेटीले खाने चीजहरूको उत्पादन र बिक्री–वितरणको अवस्था बजारमा भयावह देखिएकोप्रति खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी भन्छन्, ‘अभिभावकहरूले आफ्ना बच्चालाई यस्ता चीज किनिदिनु भएन, किन्न दिनैभएन । जसरी हुन्छ बालबालिकालाई यस्ता कुरा खान निरुत्साहित गर्नुप¥यो ।’ बसपार्क छेउछाउ, स–साना होटल, ठेलाहरूमा पकाएर बेचिने समोसा, पकौडा, जेरीहरू पनि गुणस्तरीय नहुने अधिकारीले बताए । हाटबजारहरूमा, ठेलामा पकाएर बेचिने समोसा, पकौडाहरू पत्रिकाले छोपेर राखिन्छ, ग्राहकलाई पनि पत्रिकामै राखेर खान दिइन्छ । ‘पत्रिका छाप्न प्रयोग हुने मसी एक किसिमको विषाक्त रंग हो’, उनले भने, ‘पत्रिकामा राखेर दिँदा ती खानेकुराको चिल्लोमा त्यो विष टाँसिन्छ, यसरी नियमित लामो समय खाँदै जाँदा क्यान्सर नै लाग्न सक्छ ।’ कैयौं मिठाइ पसलहरूमा तयार पारिएका मिठाइहरूमा अत्यधिक रंग प्रयोग भएको पाइएको, हाइवेतिर तारेर बेचिने माछामासुमा पनि अत्यधिक रंग हाल्ने गरेको भन्दै स्वास्थ्यका लागि यस्ता चीजहरू सकभर नखान उनी सुझाउँछन् ।
जिल्ला संयुक्त बजार अनुगमन समिति चितवनका संयोजक सहायक प्रजिअ चिरञ्जीवी शर्मा भन्छन्, ‘बजारका यस्ता वस्तुहरू खानै नहुने देखिएको छ । भर पर्न सक्ने अवस्था नै छैन ।’ अभिभावकले सकेसम्म आफ्ना नानीबाबुलाई खाजा तथा खानेकुराहरू घरमै बनाएर ख्वाउने, पैसा नदिने, स्कूलमा पनि खानेकुराहरू घरबाटै बनाएर पठाउँदा राम्रो हुने शर्मा बताउँछन् । बजारमा पाइने ब्राण्डेड उत्पादनहरू पनि लेबल (उत्पादकको नाम, ब्याच नं., उत्पादन मिति, उपभोग्य मिति) हेरेर मात्रै खरिद गर्न आम उपभोक्तालाई उनको सुझाउ छ । बच्चाबच्चीले बाहिर पसलमा किनेर खाने यस्ता गुणस्तरहीन चीजको सेवनबाट स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे चितवनका प्रख्यात डा. भोजराज अधिकारी भन्छन्, ‘यी खानेकुरा बनाउने तरिकामा खाद्य मिसावट हुन्छ । स्वादिलो बनाउन जिब्रोका लागि फोकस गरिएको हुन्छ, स्वास्थ्यलाई ध्यान दिइएको हुँदैन । त्यो मिसावटमा शरीरलाई हानिकारक रसायन हुन्छन् । यस्ता खानेकुराले बच्चाको खानानलीदेखि लिएर आन्द्रामा पाचनप्रणालीको भित्री पत्र कमजोर हुन्छ अनि पाचनप्रक्रियामा बिस्तारै समस्या बढ्दै गएर पछिपछि घरका सादा खाना दाल, भात, तरकारी, फलफूल पनि राम्रोसँग नपच्ने समस्या बढाइदिन्छ ।
घाँटी तथा श्वासनलीमा एलर्जी हुन सक्छ ।’ स्थानीयस्तरमा उत्पादित यस्ता खानेकुरामा अन्तर्राष्ट्रिय स्टान्डर्डको त के कुरा राष्ट्रिय गुणस्तर पनि पालना गरिएको हुन्न, जसमा प्रयोग हुने रसायन एक किसिमको विष नै हो । त्यसको नियमित सेवनले सुगर, प्रेसर जस्ता दीर्घरोगहरू बढाउने, कलेजो र किड्नीमा पनि क्षति पु¥याउन सक्ने उनले बताए । खानेकुराहरू पटक–पटक उही तेलमा तारेर पकाउँदा फ्रिरेडिकल्स तत्व पैदा हुने विज्ञ बताउँछन् । फ्रिरेडिकल्सले शरीरलाई बचाउन चाहिने एन्टी अक्सिडेन्टलाई नष्ट गर्छ । यसले क्यान्सर हुने, शरीरका तन्तुहरूलाई नोक्सान गर्ने, प्रतिरक्षा शक्ति कमजोर बनाउने खतरा हुने बताउँदै उनले भने, ‘खानेकुराहरूमा प्रयोग गरिने इनअर्गानिक केमिकल, पिग्मेन्टले थाइराइड ग्रन्थिमा पनि असर पु¥याउँछ । यसले थाइराइडको हार्माेन निकाल्ने सिष्टमलाई विस्थापित गर्ने र प्यान्क्रियाजको सेललाई पनि नष्ट गरिदिन्छ ।’ ‘हस्पिटलमा जँचाउन आउने कतिपय १२-१३ वर्षका केटाकेटीमा मीठो लाग्ने, छिट्टै अघाएजस्तो हुने बजारिया खानेकुराको ‘फुड डिपेन्डेन्सी’ भएको देखिन्छ । घरको खाना खानै खोज्दैन । यसले कुपोषण निम्त्याउँछ । भइरहेका रोगहरूमा खाद्य विषाक्तताको प्रभाव १५–२० प्रतिशत भएको आकलन छ’, डा. भोजराजले भने ।
टिप्पणीहरू