दशैंको बेला दशा लागेर सिएमसीमा गए जस्तो !

दशैंको बेला दशा लागेर सिएमसीमा गए जस्तो !

ऐलानी जग्गामा जस्ताकै छानो भएपनि सानो चिटिक्कको घर छ । तिलमाया कुँवरका तीन भाइ छोराहरुको बिहे भएपनि सबैजना एकसाथ मिलेर बस्दै आएको घरमा दशैंको उत्सव चलिरहेको थियो । दशैं मनाउन छोरी–ज्वाइँ पनि काठमाडौंबाट आउँदै थिए । अचानक जेठो छोरा सिएमसीमा गएपछि परिवारमा रुवाबासी चलेको छ । अहिले सिंगो घर शोकाकुल छ । दशैंका बेला भरतपुरको चितवन मेडिकल कलेज (सिएमसी)मा दशा नै लागेर गएजस्तो भएको छ– परिवार, इष्टमित्र, छरछिमेक सबैलाई ।

सामान्य ग्यास्ट्रिकको समस्या लिएर सिएमसीमा जाँदा ज्यानै जाला भन्ने कसैले पनि सोचेका थिएनन् । दाजुभाइ सँगै मोटरसाईकल चढेर जँचाउन गएका थिए । अष्टमीको दिन बिहान माइला भाइ वीरबहादुरसँग सीएमसीमा पुगेका भरतपुर–१३, उज्वलनगरका रमेश कुँवरको अस्पतालमै उपचारका क्रममा ज्यान गएको हो ।

बताइएअनुसार दिउँसो घरै फर्कने सुरसार गरेर उनीहरु सो दिन बिहान साढे सातै बजे सिएमसीमा पुगेका थिए । ‘हामी आउँदा ढिलो हुनसक्छ, तिमीहरु खाना खाओ’ भनी परिवारका सदस्यलाई भनेर दिउँसो फर्किने हिसाबले नै गएका थिए । पैसा पनि १२/१५ हजार भन्दा बढी लगेका थिएनन् । भिडियो एक्स–रे गरेर, अलिकति औषधि लिएर फर्किने उनीहरुको तयारी थियो ।

सामान्य ढंगले मोटरसाईकलमा चढेर अनि आफैं सरासर हिँडेर चितवन मेडिकल कलेजमा गएका रमेशलाई पहिले इमर्जेन्सी अनि आईसीयु र पछि भेन्टिलेटरमै पु-याएर अस्पतालले गर्धन छेडेर मारेको पीडित परिवार बताउँछन् । अस्पतालमा असहज भएपछि रमेशले ‘म दशैंपछि आएर उपचार गर्छु, अहिले घर जान्छु’ भन्दा पनि जान नदिएर अस्पतालले बलजफ्ती उनलाई प्रयोगको साधन बनाएको आरोप छ ।

‘अस्पतालको बेडमा पलेटी कसेर बसी बोतलको पानी आफैं घटघट पिएको मान्छेलाई मुखबाट औषधि नदिएर हातको नसाबाट दिइयो । पछि हातबाट पनि औषधि गएन भनी लठ्याएर घाँटीमै प्वाल पारेर पाइप घुसाइयो’, वीरबहादुरले भने, ‘भेन्टिलेटरमा नलैजाउँ भन्दा अस्पतालका कर्मचारीले ‘ठिक भइहाल्छ’ भनी लगेका थिए । म फार्मेसीबाट भेन्टिलेटरको सामान लिएर आउँदा घाँटी चिरेको अवस्थामा दाइको ज्यान गइसकेको रहेछ ।’

सोही मेडिकल कलेजमा काम गर्दै आएको बताउने रमेशका कान्छा भाइ रामबहादुर कुँवर सिकारुले उपचार गर्दा दाइको ज्यान गएको सुनाउँछन् । ‘सात वर्षदेखि सिएमसीमा काम गरेको मान्छे म । मैले डाक्टर चिन्दिनँ र ?’, उनले भने, ‘मैले कहिल्यै देख्दै नदेखेको मान्छे डाक्टरको रुपमा उपचारमा संलग्न थियो’, उनले थपे, ‘क्रेडिटमा उपचार गराउन लागेको थिएँ । अरुलाई जस्तो लटरपटर नगरिदिनू पनि भनेको थिएँ । तर फोनको भरमा उपचार गरेर मेरो दाइको ज्यान लिए ।’

उनीहरु भन्छन्, ‘साढे दुई–तीन बजेतिरै मृत्यु भएको हाम्रो अनुमान छ । तर अस्पतालले ५ बजेपछि भनेको छ । तैपनि हामीलाई जानकारी नै नदिई पहिल्यै पोका पारेर लास बाहिर निकालेको थियो । सामान्य रुपमा जँचाउन गएको मान्छेको अस्पतालमा यसरी जटिल ढंगबाट मृत्यु भएपछि उपचारमा संलग्नहरुकै लापरबाहीले ज्यान गएको भन्दै परिवारजनले तत्काल शव बुझ्न इन्कार गरे । अहिले भरतपुर अस्पतालको शवगृहमा लास रहेको बताइन्छ ।

उतिबेलै अस्पतालले उपचारमा संलग्नहरुलाई झिकाउनुपर्ने, उनीहरुको डाक्टरी सर्टिफिकेट हेर्न पाउनुपर्ने आफूहरुको माग रहेपनि अस्पताल प्रशासनले आनाकानी गरेको वीरबहादुरले बताए । त्यो रात त्यसै बित्यो । भोलिपल्ट वडाअध्यक्षसहित छलफल भइरहँदा आक्रोशित भीडबाट अस्पतालमा तोडफोड भयो । यसक्रममा चितवन मेडिकल कलेजमा ठूलै संख्यामा प्रहरी परिचालित भए ।

हुलहुज्जतमा उत्रिएका प्रदर्शनकारीहरुमाथि बल प्रयोग गर्न र उनीहरुलाई नियन्त्रणमा लिन खटिएका प्रहरीबाट नयाँ पत्रिकाकर्मी पत्रकार विवेक पोख्रेललाई समेत दुव्र्यवहार गरिएको बुझिन्छ । प्रहरीले क्यामेरा बन्द गर्न लगाउँदै रिपोर्टिङ गर्न दिएको थिएन । यस विषयमा नेपाल पत्रकार महासंघ चितवन शाखा, प्रेस सेन्टर नेपाल चितवन लगायत पत्रकार सम्बद्ध संघ–संस्थाहरुले प्रेस विज्ञप्ति निकालेर घटनामा संलग्न दोषी प्रहरीमाथि कारबाहीको माग गरेका छन् । प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई केही घन्टा थुनेर आज २१ गतेको तारेख दिएर छोडेको छ । आज सिडिओको उपस्थितिमा छलफल हुने बताइएको छ ।

परिवारजनका अनुसार रमेशको २२ गते विदेश जाने फ्लाइट थियो । उनी वल्र्ड कपका लागि तीन महिने भिसामा होटलमा काम गर्न कतार जाँदै थिए । रमेशसँगै भाइ वीरबहादुर पनि कतार जानेवाला थिए । ‘विदेश जानका लागि गरिएको स्वास्थ्य परीक्षणमा दाइको मेडिकल रिपोर्ट सबै ठिक छ’, वीरबहादुरले भने, ‘यो जानकारी गराउँदा अस्पतालका मान्छेले विदेश जानका लािग पैसा ख्वाएर मेडिकल रिपोर्ट राम्रो बनाउन मिलिहाल्छ भनेर समेत भने ।’

रमेशलाई कुनै किसिमको दीर्घरोग भएको अहिलेसम्म थाहा नपाएको छिमेकीहरु पनि बताउँछन् । छिमेकी कल्पना सुनारले भनिन्, ‘अहिलेसम्म ऊ बिरामी भएकै थाहा थिएन । मान्छे हट्टाकट्टा र तन्दुरुस्त नै थियो । घरमा सानो पसल थापेकी कल्पनाले भनिन्, ‘बेलुकी पेट गडबड भएर पाचक लिन मैकहाँ आएका थिए । मसँग पाचक थिएन । भोलिपल्ट बिहान घरबाट सामान्य हालतमा गएको मान्छेको उपचारका क्रममा ज्यान जान्छ भने अस्पतालको लापरबाही नै त हुनुपर्छ ।’

अर्का छिमेकी सञ्जय महतो पनि यस्तै भन्छन्, ‘मान्छे हट्टाकट्टा नै हुनुहुन्थ्यो । हामीसँग बोलिरहनु हुन्थ्यो । बाइक कुदाइरहनु हुन्थ्यो । ४/५ जना ढाल्ने जस्तो ज्यान थियो । हाम्रो बुझाइमा उपचारमा भएको असावधानीले नै उहाँको ज्यान गएको हो ।’ तर अस्पतालले भने कहिले फोक्सोमा पानी जमेको, कहिले कलेजो ड्यामेज भएको, कहिले किड्नीले काम नगरेको भन्दै आफ्नो गल्ती लुकाउने प्रयास गरेको पीडित परिवारको भनाइ छ । ‘अस्पताल जाने बित्तिकै सबै ड्यामेज भयो त ?’, रमेशका भिनाजु मनोज अधिकारीले भने, ‘मैले सुनेको त सिरिन्ज पनि बांगो हालिएको थियो ।’

३६ वर्षीय रमेश र उनकी श्रीमती प्रमिला रत्ननगर, टाँडीमा बोर्डिड्डमा काम गर्थे । अहिले श्रीमती सुत्केरी भएपछि घरमा आएका थिए । १७ वर्षकी ठूली छोरी कक्षा ११ मा पढ्दैछिन् । भर्खर जन्मिएको छोरो तीन महिनाको भयो । यो सुत्केरी हालतमा, जवानीमै पति गुमाउनुपर्दाको अत्यन्त दर्दनाक पीडाले विह्वल ३३ वर्षीया प्रमिलाले आँखा रसाउँदै बस यत्ति भनिन्, ‘यहाँबाट ग्यास्ट्रिक बढेर लगिएको थियो । अरु केही भा’थेन । हामीलाई न्याय दिलाइदिनू !’

जे नहुनु थियो, भइसक्यो । अब रमेशको बालबच्चाको पठनपाठनको जिम्मा सीएमसीले लिनुपर्ने र श्रीमतीलाई जागिर वा गरिखाने व्यवस्था गरिदिनुपर्ने पीडित परिवारको माग छ । उक्त ऐलानीको घरबाहेक अरु जायजेथा केही पनि नभएको उनीहरुले बताएका छन् ।

भरतपुर–१३ का वडाअध्यक्ष प्रकाश दवाडीले यस विषयमा आज प्रमुख जिल्ला अधिकारीको रोहबरमा छलफल हुने तय भएको बताउँदै घटनाबारे पीडित परिवार, स्थानीय प्रतिनिधिसहित विज्ञ सम्मिलित टोलीबाट छानबिन हुनुपर्ने र त्यसपछि नै यथार्थ कुरा बाहिर आउनसक्ने बताए । तोडफोडमा घुसपैठ भएको वडाअध्यक्षको बुझाइ छ ।

घटनाबारे चितवन मेडिकल कलेजको भनाइ बुझ्न अस्पताल निर्देशक डा. दयाराम लम्सालसँग फोन सम्पर्क राख्दा उनले अस्पतालले प्रेस विज्ञप्ति निकालिसकेको बताए । सीएमसीको तर्फबाट १८ गते प्रकाशित प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘बिरामी आउँदा नै Severe acute pancreatitis with septic shocked with multiple organ dysfunction भई आएको र कुँवरलाई भेन्टिलेटर सपोर्टमा राखी कम भएको रक्तचापलाई उपचार गर्न प्रेसर बढाउने Vasopressor प्रयोग गरी अथक प्रयास गर्दा गर्दै सघन उपचार कक्षमा कुँवरको निधन भएको हो ।

उहाँको निधनप्रति मेडिकल कलेज परिवार दुःख व्यक्त गर्दछ । बिरामी बचाउने कलेजको अथक प्रयास, बिरामीमा भएको संक्रमणको अवस्था, उपचारको प्रोटोकल जस्तो विषयलाई बुझ्ने सम्म प्रयास नगरी लापरबाही गरेको भनेर गरिएको प्रचार र भएको आक्रमणप्रति दुःखी भएका छौं ।’ तोडफोडको क्षतिपूर्तिसमेत पाउनुपर्ने सीएमसीको माग छ ।

टिप्पणीहरू