मतदाताको खोजी निष्कलंक, नेताहरुको प्राथमिकता ‘भजनलाल’
-जीवन डाँगी
आम निर्वाचनको माहौल जताततै तातेको छ । मंसिर ४ गते पनि नजिकिँदै छ । दल र ‘चुनावी बिचौलियाहरू’ मतदाताको घर–आँगन चहारिरहेका छन् । बलिउड अभिनेत्री मनिषा कोइरालादेखि ’भाइरल म्यान’ भेलु बाजेसम्म चुनावी प्रचारप्रसारमा व्यस्त छन् । महागठबन्धन र गठबन्धनका उम्मेदवार–समर्थकहरू मतदाता खोज्दै घरदैलोमा पुगेका छन् । आ–आफ्ना ’भ्रमपत्र’ लिएर बग्रेल्ती प्रतिबद्धता दोहोर्याइरहेका छन् ।
अघिल्लो आम निर्वाचनपछि एकाएक हराएका सांसद तथा उम्मेदवारहरू गाउँ–ठाउँमा झ्वास्झ्वास्ती पस्दा सोझा नागरिक अलमलमा छन् । जनगुनासो छ, ‘जितेका त आएनन्, आएनन् ! तर हारेका पनि लामो समयसम्म कतै देखिएनन् । बल्ल पो झुल्किन थाले त..!’ यद्यपि, गाउँको मायाँ लागे झैं गरेर लचकदार बन्दै मतदाताको सहानुभूति बटुल्न उनीहरू अभ्यस्त छन् ।
नाच्दै, गाउँदै, मासु–भात बाँड्दै गाउँ ठाउँ पुगेका छन्–उम्मेदवार समर्थकहरु । भलै अघिल्लो चुनावभन्दा कमै छ, रौनक । उम्मेदवारहरू भन्छन्, ‘यो पनि मैले गरेँ, त्यो पनि पाँच वर्षभित्रै गरेँ । सबै मैले गरेँ । मेरै योजनामा यस्तो भयो । यो सबै विकास हाम्रै पार्टीले गरेको हो ।’
उनीहरू यसरी आफ्नो बर्चश्व प्रदर्शन गर्दैछन् कि– मानौँ यसअघि कोही थिएन र उनीहरूभन्दा पछि पनि कोही देखिएका छैनन् । नेताहरूले गाउँतिर खुब नाटक मञ्चन गरिरहेका छन् । धान गोड्न, गहुँ काट्न खेतमा पुगेका छन् । आफूलाई विकासवादी नेता भएको प्रमाणित गर्न खोज्छन् ।
उम्मेदवार–समर्थक जनतासँगै रून्छन्, हाँस्छन् । माया साटासाट गर्छन् । पानी मागेर पिउँछन् । तर, अवोध मतदातालाई के थाहा, उनीहरू साँच्चिकै तिर्खाएर आएका होइनन् भन्ने ! फगत पानीको बहानामा तपाईंको सहानुभूति लिन बस्ती छिरेका हुन् । अब सस्तो प्रतिबद्धता देखेर–पढेर नजानिँदो तरिकाले बेबकुफ बनिहाल्छन्, जनता ।
उम्मेदवारहरू मतदातासँगै हिँड्छन्, डुल्छन् अनि भोट माग्छन् । भोट मात्रै माग्दैनन्, करिब–करिब भिख मागे जस्तो गर्छन् । यो कथा चुनाव जित्नका लागि तयार गरिएको ‘चुनावमञ्च’ हो । जब जित्छन्, उनीहरू अबिर र मालाले लपेटिन्छन् । उमङ्गमा हराउँछन् । अर्को दिनदेखि मतदातालाई बिर्सिन्छन्, लात हान्छन् । यो पुरानै संस्कार हो ।
सांसद, मन्त्री बनेर राज्यको सीमित सम्पत्ति मिलीजुली दोहन गरिरहेका छन् । हार्नेहरू ‘ट्वाँ’ पर्छन्, तर बोल्न सक्दैनन् । अनियमितताप्रति उनीहरूको खासै फरक मत छैन । किनकि, उनीहरूले एकदिन पुग्ने ठाउँ त्यही हो भन्ने ठानेका छन् । नेताहरूमा जित्ने–हार्नेको रहस्यमय चुप्पी छ । विपक्षको मौनता रोचक छ ।
पाँच वर्षे शासनकालमा उनीहरूको राम–रमिता नै चल्यो । सामान्य जनताको चासो–गुनासो भुलेर लुटपाट मच्चाए । महामारी फैलिँदा चुप लागेर बसे । सांसदहरूले नयाँ बानेश्वरको संसद भवनबाट अनेकौं जनविरोधी काम गरेका छन् । कथित पुँजीवादीहरूको कारण वैचारिक परिवर्तन नै धरापमा छ । जनतालाई चाहिएको छ, चाँडै परिवर्तन । जुन परिवर्तनको लागि राजनीति अपरिहार्य छ । तर, हुनुपर्ने वैचारिक परिर्वतन हो । काम ढिलो हुन्छ । तर, दीर्घकालीन हुन्छ ।
जे होस्, अब मतदाताले आफैँ एउटा अठोट गर्नुपर्छ । भ्रष्टाचारमा संलग्न र गलत आचरण भएका उम्मेदवारलाई यस पटक भोट नहाल्न अपील गरौँ । नेपाली नागरिक भ्रष्टाचारको चर्चा सुनेर थाकिसकेका छन् । घुसबिना कुनै काम हुँदैन । ताकि, भ्रष्टाचार निर्मूल गर्न बलियो र प्रभावकारी सयन्त्र बनोस् । स्वच्छ छबि भएका दल वा स्वतन्त्र उम्मेदवार राज्यको माथिल्लो तहमा पुगेपछि भ्रष्टाचार धेरै हदसम्म निर्मूल हुन्छ । भ्रष्ट राजनीतिज्ञले मतदातालाई झुक्याउँछन् । छाक टार्न संघर्ष गर्नेलाई मासु–भात दिन्छन् । अन्धकारमा सुत्नेलाई बिजुलीको हावा गफ दिन्छन् ।
कुनै पनि राजनीतिक शक्ति भ्रष्टाचारबाट टाढा छैनन् । संविधानले तीन तहका सरकारको परिकल्पना गरेको छ । जनताको सबैभन्दा नजिकको स्थानीय सरकार छ । जसको निर्वाचन भइसक्यो । संघीय र प्रदेशको मतदानको दिन नजिकिँदै छ । अस्थिरताले समृद्धि र निर्माणलाई कसरी बिथोल्छ ? भन्ने कुराको उदाहरण प्रशस्तै छन् । मतदाताहरू निष्कलंक छविका इमानदार पात्र खोज्छन्, ‘भजनलाल’ होइन । भजनलाल भनेको दलालको गुणगान गाउनेहरू हुन् । उनीहरू सबैभन्दा खराब छन् । गाउँमा बाटो छैन, लाखौंका चिल्ला गाडी चढ्छन् । राम्रो विद्यालय, अस्पताल बन्ने पैसाजति पेट्रोलमै सकेका छन् । उनीहरूलाई ‘छोटे’ राजा बन्नु छ ।
परिवर्तनका लागि कसै न कसैले संघर्ष गर्नैपर्छ । जनताले आशीर्वाद दिँदा अहिलेका सांसद, मन्त्रीले लामो संघर्ष नगरेका होइनन् । तर उनीहरू निजी स्वार्थमा रमाउँदा आलोचनाको ‘तीर’ उनैतिर फर्किएको हो । पुरानो व्यवस्था र पात्रप्रति आममानिस सन्तुष्ट थिएनन् । नेपाली जनताले नयाँ विकल्प खोजे । नयाँ संविधान बन्यो । नयाँ संरचना बन्यो । तर पात्र पुरानै पुगेछन्, आचरण भ्रष्ट नै रहेछ । संघीयता संस्थागत गर्नुपर्नेहरू आ–आफ्नै भुँडी भर्नमा लागे ।
गाउँ–गाउँमा भ्रष्टहरूको कोलाहल छ । सरकारी कर्मचारीलाई काम गराउन पैसा दिँदा घुस ठान्दैनौं। बैंकबाट पैसा निकाल्दा, बिजुलीको बिल जम्मा गर्दा, सवारी चालक अनुमतिपत्र लिकाल्दा दलाल खोजेर सहयोग माग्छौँ । अनि भन्छौं जताततै भ्रष्टाचार भयो । सडक खन्दा भ्रष्टाचार, खानेपानी मर्मत गर्दा भ्रष्टाचार । विद्यालय, अस्पताल भवन निर्माण गर्दा भ्रष्टाचार, कृषिको अनुदान बाँड्दा भ्रष्टाचार । पुल बनाउँदा भ्रष्टाचार । कुलो सफा गर्दा भ्रष्टाचार । खेलकुद सामाग्री किन्दा भ्रष्टाचार । कर्मचारी राख्दा भ्रष्टाचार । नगर–गाउँ प्रहरी छान्दा भ्रष्टाचार । कहाँ छैन, भ्रष्टाचार ? जताततै भ्रष्टाचार । खै हामीले जिताएका सांसद, मन्त्री ?
दैनिक जीवनमा बिहानदेखि बेलुकासम्म भ्रष्टाचारका अनेकौं रंगहरू देख्न पाइन्छ । देशमा बढ्दो भ्रष्टाचारको लागि सरकारलाई गाली गर्छौं तर निर्वाचनका बेला सोच्दैनौं– गलत पात्रलाई नै अनुमोदन गरेर फेरि किन भ्रष्टाचारलाई प्रवद्र्धन गर्छौं ? असम्भव छैन । तर भ्रष्टाचारविरूद्ध एकजुट भएर लड्न जरूरी छ । यसको सुरूवात हामीले आफ्नै घरबाट गर्नुपर्छ । यस्तो छ अवस्था– अशिक्षित मतदाताहरू रक्सीदेखि पैसासम्मको बार्गेनिङ गर्छन् । उम्मेदवार पैसा बाँड्न बाध्य हुन्छन् । उम्मेदवारको चुनावी बजेट धेरै गुणा बढ्छ । चुनावी नतिजा आउँदासम्म मोटो रकम खर्च भइसकेको हुन्छ ।
यति धेरै पैसा खर्च गरेर चुनाव जितेका सांसदहरूले भ्रष्टाचार नगरेर के गर्छन् त ? भ्रष्टाचार जनताबाट सुरू अर्थात् आफैँबाट हुन्छ । कानुन निर्माण गर्ने जिम्मा सदनको हो । रक्सी–मासु र साडीमा उनै उम्मेदवारलाई मताधिकार गर्ने ! अनि कमाउनका लागि सत्तामा पुगेका नेतालाई नै गाली गरिरहने ? चुनावमा भाग लिने कमै नेताहरू सफा छन्, तर उनीहरू निर्वाचन जित्दैनन् । जब सबै भ्रष्ट हुन्छन्, तब कसैले पनि एक्लै व्यवस्था परिवर्तन गर्न सक्दैन ।
गाउँ भनेको ढुँगा र माटो मात्रै होइन । उकाली र ओराली मात्रै पनि होइन । गाउँभित्र फरक–फरक समाज छ । त्यहाँ भाषा, संस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य, अर्थ, इतिहास सबथोक छ । अबको नेतृत्व गर्ने पात्रले राजनीतिबाहेक यी सबै कुराको राम्रो ज्ञान राख्न जरूरी छ । कसैले खल्तीबाट निकालेर दिएको एक मुठ्ठी न्यानो मायाले मात्रै अबको नेतृत्व चल्दैन । हामीलाई स्वीकार्य हुँदैन पनि । कम्तीमा अबको नेतृत्वले राजनीतिसँगै समाजका विभिन्न आयामहरूलाई बुझेको होस् । सत्यले जितोस् ।
टिप्पणीहरू