जनयुद्ध उद्गमस्थलमा फेरि मौलायो जुवा

जनयुद्ध उद्गमस्थलमा फेरि मौलायो जुवा

जनयुद्धअघि रोल्पाका परम्परागत रूपमा लाग्ने मेलामा जुवाडेहरूको निकै घुइँचो हुन्थ्यो । विशेषगरी ख्वारख्वारे (लङ्गुर बुर्जा) को बिगबिगी थियो । ख्वारख्वारे खेलाउनेहरूले मेला ढपक्कै ढाकेका हुन्थे । आयोजकलाई ट्याक्स (चन्दा) पनि राम्रै आउँथ्यो । अनि जुवाकै कारण लफडा हुन्थ्यो । कतिको घरबार उठिबास हुन्थ्यो । मेलाको वातावरण खल्बलिन्थ्यो । कसैका टाउका फुट्थे, कसैका हात भाँचिन्थे । एक प्रकारले मेलाहरू जुवाकै कारण रणमैदान बन्थे ।    

देशमा परिवर्तनको पैरवीपछि जुवाडेहरूको कमी भयो । अझ जनयुद्धको उद्गमस्थल रोल्पाका मेलामा युद्धपछि ख्वारख्वारे मात्रै होइन, रिङबाला हान्ने खेलहरू समेत बन्द भए । पहिलो स्थानीय चुनावद्वारा निर्वाचित जनप्रतिनिधिहरूले मेला तथा पर्वहरूमा जुवातासलाई खुल्ला रूपमा खेल्न नीतिगत रूपमै बन्देज गरे । मेलामा जुवाहरू नखेलाउन सूचना प्रवाह गर्थे अनि परम्परागत रूपमा लाग्ने मेलाहरूमा जुवाडेहरूको नामोनिशान मेटियो ।

यसरी हराएका जुवाडेहरू यस पटकको मेलामा एकाएक मौलाएका छन् । आयोजकहरूले ख्वारख्वारे सञ्चालकबाट मोटो चन्दा असुलेर गतिलो आर्थिक स्रोत बनाउने चेष्टा गरिरहेका छन् । रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ र ३ को सिमानामा पर्ने लामाचौरमा कार्तिक २४ गते परम्परागत मेला लाग्यो । उक्त मेलामा ख्वारख्वारेको तमासा देख्न पाइयो । अचम्म त के भयो भने एक आधारभूत विद्यालयले २५ हजार चन्दा उठाएर खेल्न अनुमति दिएको बताइन्छ ।

मेलामा आधा दर्जनभन्दा धेरै ख्वारख्वारेहरू सहभागी थिए । प्रहरी प्रशासन पनि उपस्थित थियो तर उनीहरू मुख दर्शक बनेका थिए । नेपाल सरकारले कानुनमै जुवा खुलेआम खेल्न प्रतिबन्ध गरेको छ । तर कानुनका रखपाल सुरक्षाकर्मीहरू नै ख्वारख्वारेलाई बेवास्ता गरेर मेलामा रमाइरहेका थिए ।

यसरी मेलालाई जुवामय बनाएको देखेपछि स्थानीयले जिल्ला प्रशासन कार्यालय रोल्पामा रिपोर्ट गरे । मुकदर्शक बनिरहेको प्रहरीले बल्ल–तल्ल जुवाडेहरूलाई देखेर उठायो । जुवाकै कारण केही युवाबीच झडप पनि भयो । केहीबेर हानहान चल्यो । यस अघिदेखि शान्त रहेको मेला यसपालि भने पुनः रणमैदानमा परिणत भएको आभास धेरैले गरे । त्यस्तै कात्तिक २८ गतेलगतै अर्को मेला लाग्यो ।

०००

मेला थियो, जनयुद्धका कमाण्डर किमबहादुर थापा ’सुनिल’को सहादत भएको क्षेत्र ‘मनिमारे मेला’ मा । उक्त मनिमारेस्थल गंगादेव गाउँपालिका–३, बडाढुंगाको सिरानमा पर्छ ।

यसपालि मनिमारेको मेलामा पनि जुवाडेहरू भरिए । बडाढुंगामा रहेको वन उपभोक्ता समितिले चन्दा असुलेर ख्वारख्वारे खेलाउने अनुमति दियो । ख्वारख्वारे खेलाइरहेको अवस्थामा केही युवा र ख्वारख्वारे सञ्चालकबीच विवाद चर्कियो । सोही कारण मेलामा हानमार चल्यो । समूहगत रूपमा ’ग्याँङ फाइट’ भयो । केहीँ युवा रक्ताम्मे बने । मेलामा अशान्ति मच्चिएपछि सबै यताउता भए । व्यापारीहरू भागाभाग गर्दै सामान नबेचेरै घरतिर फर्किए । मेला अशान्त बन्यो ।

यसरी यी दुई मेला प्रतिनिधमूलकस्थल हुन् । धेरै समयपछि फेरि जुवाडेहरू किन मौलाए ? धेरैको मस्तिष्कमा प्रश्न उब्जिएका छन् । जुवाका कारण मेलाहरू अशान्त बनिरहेका छन् । स्थानीय सरकार मौन छ । मेलालाई सभ्य बनाउन जुवा नियन्त्रण सम्बन्धी सूचना प्रवाह गरिँदैन । यसकारण समाज विकृति र बेथितितिर बढिरहेको छ ।

यसरी हालको काँग्रेसको स्थानीय सरकारले नियन्त्रण नगरेको भन्दै स्थानीय असन्तुष्टि पोखिरहेका छन् ।

यसको मार गरिब तथा साना व्यापारी र सर्वसाधारणमाथि परिरहेको छ भने बाल मस्तिष्कमा झन् गहिरो असर परेको छ । मेलामा बढेको बेथितिलाई रोक्न सम्बन्धित निकाय मुकदर्शक बनिरहेको छ । समाज विकृति र विसङ्गतितिर धकेलिँदै छ । यस्ता कू–कार्यले कस्ता कर्महरू निम्त्याउला ?

टिप्पणीहरू