पाइँदैन भन्यो, त्यतैतिर मन लाग्ने १

पाइँदैन भन्यो, त्यतैतिर मन लाग्ने १

– शरद अधिकारी

निर्वाचन राजनीतिक दललाई मात्रै लागेको छैन, पत्रकारलाई पनि लागिरहेको छ । हरेक दिन समाचारको केन्द्रविन्दुमा रहनुपर्ने भएकाले निर्वाचनको समयमा निर्वाचनभन्दा अरु विषय हुँदैन । हरेक दिन अनेकन नारासहित राजनीतिक दलका नेता निर्वाचनको प्रचार प्रसारमा गभएका छन् । अनेकन खालका दावी दिने काम भइरहेको छ । निर्वाचनमा परिणाम के आउँछ त्यो कुरा अहिल्यै भन्न सकिँदैन । निर्वाचनको परिणामलाई लिएर गरिने अनुमान निर्वाचनपछि मिल्दैन । नेपालमा पनि धेरै पटक यस्तो भएको छ । तर, सञ्चारमाध्यमले हरेक पटकका निर्वाचनमा यस्ता विषयलाई प्रकाशनमा ल्याइरहेका हुन्छन् । निर्वाचनका बेला संयमित हुनुपर्ने क्षेत्र पत्रकारिता, सुरक्षा निकाय र कर्मचारी संयन्त्र हुन् । राजनीतिक दल संयमित हुँदैनन् । उम्मेदवारले पनि संयमता गुमाएका हुन्छन् । कसैले पनि आफ्नो संयमता गुमाउनुहुँदैन । संयमता गुमायो भने त्यसले नकारात्मक परिणाम दिन्छ ।

कुनै मिडियाको मिसन थियो संविधानसभाबाट संविधान बनाउने । यद्यपि, सञ्चारमाध्यम आफैँले संविधान बनाउने कुरा थिएन । संविधान बनाउनका लागि दवाव दिने काम सञ्चारको हो । जुन काम सञ्चारले गरे पनि । नेपाली सञ्चारले त्यसअघि राजतन्त्रविरोधी आन्दोलनमा सक्रियतासाथ सहभागिता जनायो । त्योभन्दा अघिको कुरा गर्ने हो भने पञ्चायती व्यवस्थाविरोधी अभियानमा पनि नेपाली सञ्चार लागेको हो । माध्यम फरक भएको होला । मिसन फरक भएको होला तर नेपाली सञ्चारमाध्यमले संयमता गुमाएको थिएन । तर, यतिवेला लाग्दै छ नेपाली सञ्चारले संयमता गुमाउँदै छ । नेपाली सञ्चारले संयमता गुमाउनु नेपाली जनतालाई निर्वाचनको स्वाद लिनबाट वञ्चित गर्नु हो ।

नेपाली जनताले आफ्नो हिसाबले उम्मेदवार छान्न पाउनुपर्छ । अर्थात् राजनीतिक दलको उम्मेदवारलाई मतदाताले छान्न पाउनुपर्छ । यतिवेला मतदाताको विवेक बन्धकी बनाउने गरी भ्रमपूर्ण सूचनाको खेती गर्ने काम शुरु भएको छ । जुन कुराले नेपाली सञ्चारको मूल्यांकन गर्नेछ । निर्वाचन पाँच वर्षअघि आएको थियो । निर्वाचन पाँच वर्षपछि पनि आउनेछ । तर, नेपाली सञ्चारमाध्यमले अहिले खेल्ने र खेलिरहेको भूमिकाको इतिहासमा गम्भीर तरिकाले समीक्षा हुनेछ । यतिवेला नेपाली सञ्चारमा केही प्रवृत्ति देखिएको छ जसले नेपाली सञ्चारको इतिहासलाई गम्भीर असर पु¥याउने काम गरिरहेको छ ।

सामाजिक सञ्चालको प्रयोग

सामाजिक सञ्जालको प्रयोगकर्ता सञ्चारकर्मी मात्रै हुँदैनन् । नेपालको मात्रै कुरा गर्ने हो भने नेपालको जनसंख्याभन्दा धेरै सामाजिक सञ्जालका आइडी छन् । विश्वव्यापी रूपमा अर्बाैं जनाले सामाजिक सञ्चालन प्रयोग गरिरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताका रूपमा सञ्चारकर्मी रहँदा अरुले भन्दा बढी संवेदनशील बन्नुपर्नेछ । आफ्नो कर्मको महत्व नबुझेर सामाजिक सञ्जालमा ओठें जवाफ फर्काउनेहरूमा सञ्चारकर्मीको संख्या बढी छ । विषयलाई बढाइ चढाइ गरेर प्रस्तुत गर्ने काम गरिएको छ । जे यथार्थ हो त्यो कुरालाई भन्दा एकपक्षीय रूपमा विषय पस्कने काम सञ्चारकर्मीले गरिरहेका छन् । सञ्चारकर्मीलाई यसो गर्नु हुँदैन भन्यो भने जसले गल्ती गरिरहेको छ ऊ सात बित्ता उफ्रिन्छ र भन्छ, ‘मलाई यस्तो कुरा सिकाउने ।’ मानौँ कि त्यो सञ्चारकर्मीले गर्भमै सिकेर आएको थियो ।

सामाजिक सञ्जालको उपयोग गरेका कारण सामाजिक सम्बन्ध बिगार्न समेत तयार भइरहेका छन् । निर्वाचन त आउँछ जान्छ तर सामाजिक सम्बन्ध कायम राख्नुपर्छ । निर्वाचनमा कसले जिन्छ ? कसले हार्छ त्यो कुरा एउटा सञ्चारकर्मीका लागि ठूलो विषय होइन । जसले नराम्रो गर्न खोज्छ त्यहीनेरबाट खबरदारी गर्ने काम सञ्चारकर्मीको हो । आफ्नो कर्तत्व र अधिकार भुलेर सञ्चारकर्मीले आफूलाई प्रस्तुत गर्दा आमरूपमा राम्रो सन्देश जाँदैन भन्ने कुरा बुझ्दा हुन्छ । यसपालिको निर्वाचनमा सामाजिक सञ्जालमा सञ्चारकर्मीको प्रस्तुति नै भद्दा रूपमा देखिएको छ । यसलाई भोट हालौं, यसलाई नहालौं । यो उस्तो । त्यो यस्तो । यस्तो कुरा किन चाहियो । सञ्चारकर्मीका रूपमा आफूलाई प्रस्तुत नगरेर नागरिकका रूपमा वा राजनीतिक दलको शुद्ध कार्यकर्ताका रूपमा प्रयोग हुने अधिकार सबैलाई छ भन्ने बुझ्नुपर्छ ।

मत सर्वेक्षण

यसपटकको निर्वाचनमा देखिएको अर्को प्रवृत्ति भनेको मत सर्वेक्षणको हो । मत सर्वेक्षण गर्न पाइँदैन भनेर निर्वाचन आयोगले भनेकै छ । निर्वाचन आयोगको आचार संहितामा मत सर्वेक्षण गर्न नपाइने कुरा उल्लेख गरिएको छ । यसरी मत सर्वेक्षण गर्ने हो भने प्रभावित भएर गर्न सक्ने धेरै सम्भावना छ । गत स्थानीय तह निर्वाचनमा पनि कतै–कतै यस्तो देखिएको थियो । यसपालिको निर्वाचनमा दुई खालको सर्वेक्षणलाई बाहिर ल्याउने काम गरिएको छ । एउटा मतदाताको बीचमा पुगेर गरिएको भन्दै गरिएको छ । अर्को अघिल्लो निर्वाचनमा पाएको अंकगणितका आधारमा ।

निर्वाचनमा व्यक्त भएको मत केही महिनाको अन्तरालमा बदलिन्छ । निर्वाचनमा कति प्रतिशत तरल मत हुन्छ । तरल मत नै निर्णायक हुन्छ । निर्वाचनमा मतदाताको संख्यालाई यसको पक्षमा यति मत भनेर किटानीसाथ कसरी भन्न मिल्छ । निर्वाचनमा पार्टीको प्रभाव हुन्छ । व्यक्तिको प्रभाव हुन्छ । नीति कार्यक्रमको प्रभाव हुन्छ । प्रतिबद्धता पत्रमा उल्लेख गरिएका विषयको कुरा हुन्छ । निर्वाचनलाई धेरै कुराले तलमाथि पारेको हुन्छ । तर निर्वाचनमा केही व्यक्तिको भावनाका आधारमा सम्पूर्ण विश्लेषण गर्ने कुरा मनासिव होइन । यसपालिको निर्वाचनमा नेपाली सञ्चार यहीँ नेर चुकिरहेको छ । एउटाले सर्वेक्षण गरिदिँदा त्यसको मार अरु सञ्चारले पनि भोग्नुपर्छ ।

पार्टी प्रवेशको गणित

निर्वाचनलाई आफ्नो पक्षमा पार्न राजनीतिक दलले अर्काे पार्टीका नेता–कार्यकर्तालाई प्रवेश गराइरहेका हुन्छन् । ०४८ सालदेखि यो चल्दै आएको छ । ०४८ सालको निर्वाचनमा कांग्रेसले बहुमत ल्याएको थियो । ०५१ सालमा मध्यावधि निर्वाचन भयो । त्यो निर्वाचनको बेलामा सत्ता कांग्रेसको हातमा थियो । कांग्रेसले त्यतिवेला पार्टी प्रवेशको अभियान शुरु गरेको थियो । खागसरी पञ्चायती व्यवस्थाको पृष्ठभूमिमा रहेका कांग्रेसमा प्रवेश गर्दा त्यतिवेला कांग्रेसले पाएको मतभन्दा धेरै भएको थियो रे भन्ने चर्चा अहिले पनि चल्छ । त्यतिवेला रेडियो नेपालले यो काम भरपुर रूपमा गथ्र्याे ।

अहिले सञ्चार माध्यमको बहार आएको छ । अनेकन माध्यम छन् । सबैमा हरेक दिन कुन दलबाट कुन दलमा गएका समाचार आइरहेका हुन्छन् । कुनै नेता तहका, कुनै कार्यकर्ता तहका, कुनै मतदाता अर्को पार्टीबाट आएको भन्दै प्रचार गर्ने काम भइरहेको छ । राजनीतिक दलको एक खालको धर्मजस्तै हो यो विषय तर सञ्चारले यो विषयलाई नै उचालिदिँदा मतदाताको मनमा अनेकन प्रश्न उठ्न सक्छन् । निर्वाचनको स्वच्छता, निश्पक्षता र मर्यादामाथि कालो बादल मडारिने अवस्था उत्पन्न हुन्छ । यो कुरालाई ख्याल गर्नुपर्ने भएको छ ।

निश्चित दाबी

यसपालिको निर्वाचनमा नेपाली सञ्चारमाध्यमले अनेकन दाबी गरिरहेका छन् । फल्नोले जित्ने निश्चित वा फल्नोले हार्ने निश्चित । निर्वाचन आएको छैन । मतदान भएको छैन । मतगणना भएको छैन । मतगणना भएको समयमा पनि यस्ता शीर्षक राखेर समाचार सम्प्रेषण गर्न मिल्दैन भने कसरी जित्ने र हार्ने दाबी गर्न सकिन्छ । निर्वाचनको बेला लेखिने यस्ता शव्दले मतदातामा कस्तो प्रभाव पर्छ त्यो भन्न सकिँदैन तर मिडियाको विश्वसनियता गुम्दै जान्छ । मिडियाले जोगाउने भनेकै विश्वास हो । आर्जन गरेको विश्वासलाई एउटा घटनाले च्यातच्युत पार्नु हुँदैन । विश्वका कतिपय मुलुकमा कतिपय मिडियाको विश्वसनियता रहेको छैन । समाचारलाई नाटकीय शैलीमा प्रस्तुत गर्ने कतिपय माध्यमलाई पाठक, दर्शक र श्रोताले सञ्चारमाध्यम नै मान्दैन । जसरी कुनै सिनेमामा दृश्य देखाइएको हुन्छ त्यही रूपमा सञ्चारमाध्यमलाई बुझ्ने काम बढ्दै गयो भने सञ्चारमाध्यमको भविष्य कतिञ्जेल टिक्छ ? भनिन्छ, हरेकले आफ्नो आयु आफँै लिएर आएको हुन्छ । भौतिक र मानवीय विषयमा यो कुरा लागू हुन सक्छ तर कतिपय विषय सयौं वर्षसम्म रहन सक्छ । सञ्चारमाध्यम सयौं वर्षको इतिहास बोकेका छन् । विभिन्न विद्यालयले लामो इतिहास बोकेका छन् । यस कारणले गर्दा सञ्चारले आफूलाई संयमित बनाउनुपर्छ ।

निर्वाचनको दिन नजिक आएको यो समयमा मतदाता सबैभन्दा बढी संवेदनशील बन्नुपर्नेछ । निर्वाचनमा अरू भावनामा बगे पनि मतदाताले सत्य र न्यायको पक्षमा आफूलाई उभ्याउनुपर्छ । निर्वाचनको समय जब आउँछ तब तत्कालका लागि हुने र गरिने क्रियाकलापले भविष्यलाई अनिश्चित बनाउँछ भने धेरै पटक सोच्नुपर्छ । निर्वाचनको बेला मतदाताले कसले समग्र लोकतन्त्रलाई सही अर्थका साथ अघि बढाउन सक्छ भन्ने ख्याल गर्नुपर्छ । मतदाता नै अन्तिम निर्णायक हुन् । मतदाताले चाहेको खण्डमा परिणाम बदलिन सक्छ । मतदाताको मनलाई लोभ र प्रलोभनले होइन कि भविष्यप्रतिको आशाको सञ्चारले बदल्नुपर्छ । निर्वाचनलाई जीवन–मरणको विषय निर्वाचनमा उठ्नेहरूले बनाउलान तर सञ्चारको धर्म भनेको निर्वाचनबाट जसले जिते पनि जित्नेहरूलाई खबरदारी गर्ने कुरामै केन्द्रित रहनुपर्छ । 

टिप्पणीहरू