सम्भव छ मंसिर १५ भित्र एमालेको सरकार ?

सम्भव छ मंसिर १५ भित्र एमालेको सरकार ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी १५ गतेभित्र आफ्नो नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ । उहाँले आज भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्र पुगेर उक्त धारणा राख्नुभएको हो । त्यसक्रममा यो पनि भन्नुभयो, ‘मंसिर १५ गतेभित्र देशले एमालेको नेतृत्वमा नयाँ सरकार पाउँछ । यसवर्ष मतगणना छिटो सम्पन्न हुने भएकाले मंसिर १५ गतेभित्रै देशले नयाँ सरकार पाउँछ ।’

तर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसअघि छिटोमा मंसिर २२ गतेभित्र अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाइने जानकारी दिनुभएको थियो । उहाँका अनुसार छिटोमा ७ गते र ढिलोमा १० गतेभित्र प्रत्यक्ष निर्वाचन प्रणालीको मतगणना सकिने छ । त्यसपछि कम्तिमा १२ दिनमा मात्रै समानुपातिकको नतिजा निकाल्न सकिने आयोगको हिसाब छ ।

 
आयोगले बुझाएको प्रतिवेदनपछि बल्ल नयाँ संसदको बैठक आह्वान हुने हो । सोही बैठकपछि मात्रै प्रधानमन्त्री चयन प्रक्रिया शुरु हुन्छ । यसको लागि छिटोमा मंसिर मसान्तसम्म प्रतिनिधि सभाको बैठक बस्न सक्छ । तर, एमाले अध्यक्षले मंसिर १५ गतेभित्र आफ्नो नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गर्नुको पछाडि चुनावलाई प्रभाव पार्नेबाहेक कुनै पनि प्रक्रिया मेल खाएको नदेखिने एक सुरक्षा प्रमुखले बताए ।

 

टिप्पणीहरू