मतगणना शुरु हुन नपाउँदै मतपरिणामवारे अनुमान

मतगणना शुरु हुन नपाउँदै मतपरिणामवारे अनुमान

भर्खरै मुलुकभर प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदान सकिएको छ । निर्वाचन आयोगले काठमाडौंसहित सुगम जिल्लामा आज राति ९ बजेबाट मतगणना शुरु हुने बताएको छ । त्यस्तै,हिमाली भेगका जिल्लामा भोलि बिहान ५ बजेबाट मतगणना थालिनेछ । 

मतगणना सुचारु हुन नपाउँदै ईञ्जिनियर तथा वाम बुद्धिजीवी नन्द बञ्जाडेले स्थानीय चुनावताका झैं मत परिणामको अनुमान लगाएका छन् । आफ्नै स्वः अध्ययन र सूचनाका आधारमा निर्वाचनको नतिजा आकंलन गरेको उनले बताए । 

प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सीट गरी २७५ सीटको अनुमानित नतिजा उनले सार्वजनिक गरेका हुन् । उनकाअनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ६५–७० सीटमा विजय हासिल गर्नेछ । 

त्यस्तै,नेकपा एमालेले रुपन्देही-२,अर्घाखाँची,काठमाण्डौ -५ र ९  मा समेत गरी  ३०–३५,नेकपा माओवादी केन्द्रले गोरखा,रोल्पा,रुकुममा गरी २५,नेकपा एकीकृत समाजवादी पार्टीले रौतहट र अछाममा समेत १०–१२ सीट जित्नेछ । 

मधेशी दलअन्तर्गत जनता समाजवादी पार्टीले ६–७ सीट पाउने उनको अन्दाज छ । महन्थ ठाकुरहरुको लोकतान्त्रिक समाजवादी पार्टीले ४–५,राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्ला,झापा,बाँकेमा गरी ३,राष्ट्रिय स्वतन्त्र पार्टीले १-३, राष्ट्रिय जनमोर्चा पार्टीले १ सीट आफ्नो हातमा पार्ने इञ्जिनियर बञ्जाडेको दाबी छ । 

त्यसैगरी,नेपाल मजदुर किसान पार्टीले १, नागरिक उन्मुक्ति पार्टीले २ र स्वतन्त्र (गठबन्धन समर्थितसहित) ले रुपन्देही-१ र रौतहटमा समेत ५ सीटमा जीत हासिल गर्ने उनको अनुमान छ । यता,समानुपातिकतर्फ कांग्रेसले ३७ सीट ल्याउने उनी बताउँछन् ।

एमालेले ३२–३५, माओवादीले १६–१७, समाजवादीले ७–८, जसपाले ५–७,लोसपाले ३–४, राप्रपाले ३–४, स्वतन्त्र पार्टीले ३–५ र अन्यले ४–६ सीट जित्न सक्ने उनको धारणा छ । उनलाई त्यस्तो किन लाग्यो त ? कुन पार्टीले कति सीटमा जीत हासिल गर्न सक्छ भनेर यसरी ढुक्कसँग भन्न सक्ने आधार के ? 

यसबारे जनआस्थासंग कुरा गर्दै उनले गठबन्धनको प्रभावका कारण कांग्रेसले सबैभन्दा धेरै निर्वाचन क्षेत्रमा सफलता प्राप्त गर्ने बताए ।  विभाजनको असर एमालेमा देखापर्ने बताउँदै अध्यक्ष केपी शर्मा ओलीको रवैयाले पनि मत काटिने उनले सुनाए । ‘पार्टीको मानमर्यादा बिर्सिएर जसरी ओलीले भाषण गर्दै आएका छन्, अन्तरवार्ता दिएका छन्, यसको प्रतिफल नतिजामा अवश्य पनि देखिनेछ’, उनले भने । 

एमालेले कुनै पनि हालतमा कांग्रेसको मत नाघ्न नसक्ने इञ्जिनियर बञ्जाडेको दाबी छ । गत स्थानीय तहको चुनावको नतिजाले पनि यो कुरा स्पष्ट पारिसकेको उनले प्रतिक्रिया दिए ।अहिलेको अवस्था हेरेर अन्य पार्टीले उल्लेखितभन्दा धेरै सीटमा आफ्नो प्रभुत्व जमाउन नसक्नेमा आफू विश्वस्त रहेको उनी बताउँछन् ।

टिप्पणीहरू