प्रधानमन्त्रीलाई बुझाइएको चुनावी रिपोर्टमा के छ ? काँग्रेसको ५७ र एमालेको ५१ सीट आउला त ?

प्रधानमन्त्रीलाई बुझाइएको चुनावी  रिपोर्टमा के छ ? काँग्रेसको ५७ र एमालेको ५१ सीट आउला त ?

निर्वाचनअघि मत प्रक्षेपण र सर्वेक्षण गर्न नपाइने भएकाले आज अपरान्ह ५ बजेसम्म धेरै किसिमका प्रक्षेपण र सर्वेक्षणलाई गोप्य राखिएको छ । तर,सरकारी सुरक्षा निकायहरुले तयार गरेका कतिपय रिपोर्ट सरकार विशेषगरी प्रधानमन्त्रीको जानकारीमा नहुने भन्ने प्रश्नै आउँदैन । 

मतदानको केही दिनअघि राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको चुनावी प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको बताइन्छ । उक्त प्रतिवेदनमा प्रत्यक्ष चुनावतर्फ नेपाली काँग्रेसले ५७ सीट र एमालेले ५१ सीट जित्ने ठोकुवा गरिएको छ ।

त्यसैगरी माओवादी केन्द्रले २४, एकीकृत समाजवादीले १०, जनता समाजवादी पार्टीले ७ र लोसपाले ४ सीट हात पार्ने अनुमान गरिएको छ । राप्रपाले ४, अन्यले ६ र स्वतन्त्र ३ सीटमा विजयी हुने अनुमान गरिएको प्रतिवेदन सरकारी उच्च अधिकारीहरुले पढेको बताइन्छ । 

त्यसमध्ये प्रदेश नम्बर १ बाट काँग्रेस १०,एमाले १३,माओवादी २, एकीकृत समाजवादी,जसपा,राप्रपा र अन्यले १–१ सीट जित्ने भनिएको छ । मधेश प्रदेशबाट काँग्रेस १०, एमाले ७,माओवादी ३,एकीकृत समाजवादी १,जसपा ६, स्वतन्त्र २ र लोसपाले ३ सीट हात पार्ने गुप्तचर विभागको प्रतिवेदनमा अनुमान गरिएको छ । 

रिपोर्टमा भनिएको छ, ‘बागमती प्रदेशमा काँग्रेस १२,एमाले १०, माओवादी ५,एकीकृत समाजवादी ३ र राप्रपा, स्वतन्त्र र नेमकिपाले एक एक सीट जित्नेछन् ।’ गण्डकीमा भने काँग्रेस र एमाले दुबैले ७–७ सीट,माओवादी ३ र राष्ट्रिय जनमोर्चा १ सीटमा विजयी हुने कोठे रिपोर्ट बुझाएर एमाले र काङ्ग्रेस दुबैलाई खुशी पार्न खोजिएको छ ।

लुम्बिनी प्रदेशमा पनि एमाले र काँग्रेसको टक्कर हुने अनुमान गरिएको छ । जसअनुसार दुबै पार्टीले ८–८ सीट ल्याउनेछन् । माओवादी केन्द्रले ५,एकीकृत समाजवादी, राप्रपा, लोसपा, जनमोर्चा र स्वतन्त्रले कम्तिमा एक एक सीट ल्याउन सक्ने भनिएको छ । रिपोर्टमा उल्लेख छ, ‘कर्णालीमा काँग्रेसले ४, एमालेले ३, माओवादीले ४, एकीकृत समाजवादीले २ र राप्रपाले १ सीट जित्ने पक्का छ  ।’

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा काँग्रेस ६, एमाले ५, माओवादी २, एकीकृत समाजवादी २ र नागरिक उन्मुक्ति पार्टी १ सीटमा विजयी हुने आकलन गरिएको छ । 

अनुसन्धान विभागको पछिल्लो रिपोर्टअनुसार आजको मतदानबाट काँग्रेसले ३३ दशमलव ९४ प्रतिशत, एमालेले ३२ दशमलब १२ प्रतिशत, माओवादी केन्द्र १४ दशमलव ५५ प्रतिशत र एकीकृत समाजवादीले ६ दशमलव ०६ प्रतिशत नतिजा हात पार्नेछन् । त्यसैगरी जसपाले ३ दशमलव ६४, राप्रपा र लोसपाले २ दशमलव ४२, स्वतन्त्रले १ दशमलव ८२ प्रतिशत र अन्यले ३ दशमलव ०३ प्रतिशत नतिजा आफ्नो पक्षमा पार्नेछन् ।

टिप्पणीहरू