जहाँ कङ्ग्रेसको उम्मेदवारी खाली,त्यहीँ घण्टीको हालिमुहाली यसकारण भयो सीके राउत र घण्टीको उदय

जहाँ कङ्ग्रेसको उम्मेदवारी खाली,त्यहीँ घण्टीको हालिमुहाली यसकारण भयो सीके राउत र घण्टीको उदय

आइतबार सम्पन्न आमनिर्वाचनको मतपरिणाम आउँदै गर्दा अचम्मको राजनीतिक प्रवृत्ति देखा परेको छ । तराईमा कुनैबेला दबदबा कायम राखेका लोसपा र जसपा दयनीय हालतमा पुगेका छन् । ती पार्टीलाई निकै पर पुर्याएर जनमत पार्टीले आफ्नो उपस्थितिलाई बलियो बनाएको छ । उक्त पार्टीका अध्यक्ष सीके राउतले फराकिलो अन्तरसहित जितेका छन् । उनले त्यही क्षेत्रका माननीय तथा जसपा अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार बढी मतले हराएका हुन् ।

प्रदेश सभामा पनि जनमतले दुई वटा सीट जितिसकेको छ । बाँकी दुई वटामा अगाडि देखिन्छ । सिरहामा अर्को एक सिट जित्ने सम्भावना उत्तिकै छ । यो सबै अवस्था आउनुका पछाडि  यसअघिका तराई केन्द्रित राजनीतिक दलले तराई,मधेश र मधेशीको नामलाई सत्तामा पुग्ने भर्याङ बनाउनु कारक हो भन्नुमा अप्ठेरो मानिरहन आवश्यक छैन । भलै राउतको भविष्यबारे आगामी दिनले निर्क्यौल गर्नेछ । 

यसवीच जसपाले पर्सा-४  जितेको छ । बारा २ मा भने चर्को प्रतिस्पर्धा देखिन्छ । महोत्तरी ४ मा प्रतिस्पर्धा भए पनि यसै भन्न सकिन्न । सिरहा ४ मा धनाढ्य उपेन्द्र महतोका भाइ डा.वीरेन्द्र उठेका छन् । त्यहाँ पनि  फराकिलो अन्तर रहेकाले जनमतले जित्ने सम्भावना कमै छ । त्यहाँ एकीकृत समाजवादीको तर्फबाट धर्मनाथ साह दोश्रा प्रतिस्पर्धी हुन् ।

धनुषा-१ मा भने जनमत पार्टीले जित्न सक्ने आकलन गरिएको छ । धनुषामा एमाले उम्मेदवार तथा महासेठ दम्पतीमध्ये जुलीको अवस्था बिजयोन्मुख छ । रघुवीरको बारेमा अहिले नै यसै हो भनेर किटान गर्न नसकिने स्थानीय विश्लेषण छ ।

काठमाडौं,चितवन र केही शहरी क्षेत्रमा घण्टीको राम्रो प्रभाव देखिए पनि मुलुकका पहाडी र दुर्गम भागमा उल्लेख्य उपस्थिति छैन । विशेषगरी मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव अत्यन्त कम देखिएको छ ।

घण्टीतिर जनमत आकर्षण हुनुको कारणवारे एक जना राजनीतिक विश्लेषकले बताए,‘माओवादीसँग नेपाली काँग्रेसको गठबन्धन हुनु नै यसको प्रमुख कारक हो । उदाहरणको लागि ललितपुर र काठमाडौंतिर नेपाली काँग्रेसको उम्मेदवार नभएका र विशेषगरी माओवादी उम्मेदवार रहेका क्षेत्रमा घण्टीको विजयले यसैको संकेत गर्छ ।’

टिप्पणीहरू