नयाँ पुस्ता आयो मात्रै हैन,हजुर बा पुस्ता पनि दोहोरियो

नयाँ पुस्ता आयो मात्रै हैन,हजुर बा पुस्ता पनि दोहोरियो

बागलुङको क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष ८१ वर्षीय चित्रबहादुर केसी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार डा.सूर्य पाठकलाई पराजित गरेका हुन् । सम्भवतः ज्येष्ठ नागरिकको हैसियतमा केसीले नै संसदको पहिलो बैठकको अध्यक्षता गर्ने छन् ।  

सत्ता गठबन्धनका कारण केसीका लागि चुनावी प्रतिस्पर्धा सहज हुने अनुमान गरिएको थियो । तर नेपाली काँग्रेस र माओवादी केन्द्रका मत आशातित रुपमा ट्रान्सफर नभएपछि उनलाई जीत निकाल्न हम्मे परेको हो । सत्ता गठबन्धनका उम्मेदवार केसीले २१ हजार ४५१ मत ल्याएर विजयी हुँदा नेकपा एमाले उम्मेदवार पाठकले १८ हजार ८२५ मत पाए । 

निर्वाचनमा केसी २ हजार ६२६ मतान्तरसहित विजयी भएका छन् । तर सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केसी सातदेखि आठ हजार मतको अन्तरमा विजयी हुने आकलन थियो । बागलुङ १ मा एमालेको प्रभाव अत्यन्त कमजोर मानिन्छ । 

२०७४ को निर्वाचनमा एमालेबाट  राजमो र माओवादीको मतका कारण पाठक विजयी भएका थिए । केसीको मतान्तर कम हुनुले काँग्रेस र माओवादीको मत अपेक्षाकृत ट्रान्सफर नभएको स्पष्ट देखिन्छ । बागलुङ १ मा नेकपा एकीकृत समाजवादीको उपस्थिति निकै कमजोर छ । 

उमेरले आठ दशक व्यतित गरेका केसीको राजनीतिक जीवनमा धेरै उतारचढाव आएको छ । २०७२ कात्तिक १९ गते उपप्रधानमन्त्री तथा सहकारी तथा गरिवी निवारण मन्त्री बनेका थिए । २०७४ को निर्वाचनमा बृध्द अवस्थाको कारण देखाउँदै केसीले चुनाव लड्न मानेका थिएनन्  । यसअघि ७५ वर्षको उमेरमा उपप्रधानमन्त्री बनेका उनका राजनीतिक चेलाहरु झलनाथ खनाल, बाबुराम भट्टराई र पुष्पकमल दाहाल प्रचण्ड मुलुकको प्रधानमन्त्री बनिसकेका छन् ।

केसी २०५६ र २०६४ को चुनावमा प्रत्यक्ष निर्वाचित भएका थिए । २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बने । त्यसअघि २०५१ को आमनिर्वाचनमा केसीले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा काँग्रेसका उम्मेदवार मीनबहादुर खत्रीसँग पराजय व्यहोरेका थिए । त्यसपछि २०५६ को संसदीय निर्वाचनमा क्षेत्र नम्बर २ बाटै निर्वाचन लडे र विजयी बने । 

संघीयता विरोधीको परिचय बनाएका केसी मुलुकमा संघीय गणतन्त्र लागू भएपछि २०६४ को संविधानसभा सदस्यमा पनि विजयी भए । लाक्षणिक रुपमा शब्द प्रहार गर्न र स्थानीय झर्रा शब्दमा मिठासपूर्ण अभिव्यक्ति दिन सिपालु केसी सबै दलका नेताबीच प्रिय मानिन्छन् । उनी संघीयताविरोधी ‘आइकन’ पनि हुन् । केसीको यो चौथो पटकको संसद यात्रा हो ।

टिप्पणीहरू