कसैलाई जितै जीत,कसैलाई भने हार मात्रै

कसैलाई जितै जीत,कसैलाई भने हार मात्रै

विनोद ढकाल एमालेका ती नेता हुन् जसले निरन्तर निर्वाचनमा पराजित भएर ‘हयाट्रिक’ गरेका छन् । २०६४ को पहिलो संविधान सभा, २०६५ को उपनिर्वाचन र २०७४ मा सम्पन्न विराटनगर महानगरपालिकाको निर्वाचनमा पराजय भोगेका उनले यस पटकको निर्वाचनमा पनि जीत सुनिश्चित गराउन सकेनन् । 

ढकालले यस पटक मोरङको ४ नम्बर क्षेत्रबाट प्रतिनिधि सभामा हार व्यहोरेका हुन् ।  २०६४ मा मोरङको ७ नम्बर क्षेत्रबाट प्रतिनिधि सभामा मधेशी जनअधिकार फोरमका विजय गच्छेदारसँग पराजित भएका थिए । त्यसबखत काँग्रेसका डा. शेखर कोइराला दोस्रो र एमालेका ढकाल तेस्रो बने । 

दुई स्थानबाट विजयी विजय गच्छदारले मोरङको क्षेत्र छाडेर सुनसरी रोजेपछि २०६५ मा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा फोरमका चुमनारायण तवदारसँग चुनावी प्रतिस्पर्धा गरेका ढकाल पुनः तेस्रो भए । 

अखिलको केन्द्रीय नेता हुँदै पटक पटक एमाले मोरङको अध्यक्ष बनेका ढकालले पार्टीको जिल्ला अध्यक्षमा पनि महेश रेग्मीसँग हार व्यहोरेका थिए । २०७४ मा विराटनगर महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्दा काँग्रेसका भीम पराजुलीसँग पराजित भए । 

एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर समर्थक नेता ढकाल हाल पार्टी केन्द्रीय सदस्य छन् । यस पटक मोरङको निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनावी प्रतिस्पर्धा गरेका थिए। महानगरका केही वडा र ग्रामथान गाउँपालिका,बेलवारी नगरपालिकाको केही वडा रहेको मोरङ ४ मा पालिका निर्वाचनमा एमालेले वडा तहमा राम्रो जीत हासिल गरेको थियो । सोहीबमोजिम ढकालले पनि वडाध्यक्षहरु परिचालन गरेर सहज जीत सुनिश्चित गराउने योजना बनाएका थिए । 

थारु बाहुल्यता रहेको मोरङ ४ मा माओवादीका थारु समुदायका उम्मेदवारको अगाडि उनी निरीह सावित भएका छन् । स्थानीयका अनुसार अमनलाल मोदी र ढकालमध्ये तुलनात्मक रुपमा कम्युनिष्ट चरित्र मोदीमा धेरै भएकोले उनी निर्वाचित भएका हुन् । ढकालमाथि जनताको भन्दा अरुको सेवामा ध्यान दिने गरेको आरोप लाग्दै आएको छ । 

मोदीले ३० हजार ६१२ मत प्राप्त गर्दा ढकालले २४ हजार ४६३ मत पाएका छन् । २०७४ मा काँग्रेस नेता महेश आचार्यलाई भारी मतान्तरले पराजित गरेका मोदीले यस पटक ढकाललाई हराएर उनको पराजयमा ह्याट्रिक गराइदिएका छन् ।

मोरङको ४ नम्बर क्षेत्रमा  लोकतान्त्रिक गठबन्धनको २४ हजार १३९ मत देखिन्थ्यो । स्थानीय निर्वाचनमा सो क्षेत्रमा एमालेका वडा अध्यक्षहरुले २५ हजार ७३० मत प्राप्त गरेका थिए । यो हिसाबले सत्ता गठबन्धन १६ सय मतले अगाडि थियो ।

प्रदेश सभातर्फ सो क्षेत्रमा गठबन्धनबाट काँग्रेसका गुरुराज घिमिरे र भीम पराजुली,एमालेबाट जयप्रकाश चौधरी र जीवन घिमिरे, जसपाका सञ्जयकुमार सिंह राजपुतबीच मुख्य प्रतिस्पर्धा भएको थियो । प्रदेश सभामा ४ (१) बाट एमालेका जयप्रकाश विजयी भएका छन् भने ४ (२) मा एमालेका जीवन घिमिरेले काँग्रेसका भीम पराजुलीसँग हार व्यहोरेका छन् ।

टिप्पणीहरू