कम्युनिष्टले सराप्ने, पञ्चहरू रुने

कम्युनिष्टले सराप्ने, पञ्चहरू रुने

यसपालिको चुनावको अचम्म– एउटा कम्युनिष्टले अर्को कम्युनिष्टलाई हराउन पाउँदा निक्कै ठूलो लडाइँ जितेझैँ ताली र गालीको वर्षा छ । तर, राजावादीहरू जतिसुकै टुक्रामा विभाजित भए पनि एउटाले हार्दा अर्कोलाई ‘वर्गीय प्रेम’ ले सताइरहेको छ ।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रको पराजयमा कमल थापापक्षीय राप्रपा नेपालका मानिसहरू पनि बेखुश छन् । थापा राप्रपाका सहमहामन्त्री दमन बस्नेतले रवीन्द्र हार्नेबित्तिकै काठमाडौँको १ नम्बर क्षेत्रका अर्का उम्मेदवार तथा पूर्व डिआइजी रमेश खरेलसँग रिस पोख्दै फेसबुकमा लेखे, ‘बाँदरले आफ्नो घर बनाउँदैन, अरुको घर पनि भत्काउँछ । रमेश खरेलको अस्वाभाविक महत्वाकांक्षाका कारण मुलुकले थुप्रै सम्भावना भएको एक होनहार नेता रवीन्द्र मिश्र गुमाउन पुग्यो । धेरै दुःख लागेको छ ।’

गत मंगलबार बिहान दमनले पोष्ट गरेको यो स्ट्याटसपछि रवीन्द्रले उनलाई ‘त्यस्तो नलेख्नुस् न यार’ भनेर अनुरोध गरे । अनि, दिउँसो १ बजे फेरि रविन्द्रको फोटो राखेर लेखे, ‘६६ मतको (यद्यपि १ सय २५ हो) झिनो अन्तरमा पराजयपश्चात् तपाईंको उर्जाशील सकारात्मक प्रतिक्रियाको अगाडि हामी नतमस्तक छौं । एक माघले जाडो जाँदैन । तपाईं राजनीतिज्ञ हो । आउने ५ वर्षपछिको चुनावले सांसदमात्रै होइन, तपाईं मुलुकको प्रधानमन्त्री बन्नुपर्छ भन्ने कामना गर्दछु । श्री पशुपतिनाथले सम्पूर्ण नेपालीलाई सद्बुद्धि दिऊन् !’

अचम्म पनि कस्तो भने, उही प्रतिस्पर्धी, उही निर्वाचन क्षेत्र । तर, साँघुरो मतान्तर, अनि थोरै मतमा नतिजा निकालिएको काठमाडौं क्षेत्र नं. १ को कुरा हो यो । यहाँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेसका प्रकाशमान सिंहले ०७४ को भन्दा कम मतले जित हासिल गरे । त्यही निर्वाचन क्षेत्रमा उनले ०७४ मा १० हजार ९ सय ३६ मत ल्याएर प्रतिस्पर्धी रविन्द्र मिश्रलाई नै ८ सय १८ मतान्तरसहित हराएका थिए । यसचोटि उनै प्रतिस्पर्धीसँग ७ हजार १४३ मतका साथ १ सय २५ मतले पराजित गर्नुपरेको छ ।
 

टिप्पणीहरू