चुनावकै चटारोमा मन्त्रालयको ढोका थुनेर....

चुनावकै चटारोमा मन्त्रालयको ढोका थुनेर....

यदि, सरकारी कर्मचारीलाई देश विकासको चिन्ताले यसैगरी मन÷मुटु नै पोलिदिन्थ्यो भने नेपाल आज कहाँ हुँदो हो ? तर, कात्रोमा समेत कमिसन खान पल्केका कर्मचारी आफू फस्ने स्थिति आएपछि कसरी तिल्माउँछन् र फाइलै गायब गराउन सक्रिय रहन्छन्, एउटा उदाहरण देखा प¥यो अस्ति । सिंगो देश चुनावी माहोलमा होमिइरहेको स्थिति, अर्काेतिर सरकारी बिदा तर अस्ति सोमवार मध्याह्न सिंहदरबारमा सचिव, सहसचिवदेखि उपसचिव तहसम्मका आधा दर्जन कर्मचारी भेला भएर घण्टौं मन्त्रालयको ढोका थुनी मन्थन चल्दै थियो । 

 ​​​​​​चुनावताका दाङ, भालुवाङस्थित पौवा होटलबाट मध्यराति नै लखेटिएका एक सचिवले घर जानु अघिल्लो दिन यस्तै अर्काे बदमासी गरेका हुन् सिंहदरबारमा बसेर ।सरकारले निर्वाचनका कारण आइतबार र सोमबार सार्वजनिक बिदा दिएको थियो तर विकास र निर्माणको रकममा तर मार्न पल्किएका शहरी विकास सचिव रमेशप्रसाद सिंहले आफू घर जानु अघिल्लो दिन दाहिना हात मानिएका पदाधिकारी र कर्मचारीलाई मन्त्रालयमै डाकेर विगतको बदमासीबाट बच्ने उपाय खोजेका हुन् । 

मंगलबार (हिजो) बाट अनिवार्य अवकाशमा गएका सिंहले अस्ति सेटिङकलामा पारंगत मानिएका आफ्ना उत्तराधिकारी (शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक) सुरेन्द्रमोहन श्रेष्ठ (जो आफूभन्दा सिनियर ६ जनालाई पाखा लगाउँदै डिजी बन्न सफल भएका थिए ।) र, नियम कानुनै परिमार्जन गरेर नियुक्ति दिइएकी समाजशास्त्रकी विद्यार्थी जानुका ढकाल (उपत्यका विकास प्राधिकरणको आयुक्त), जिल्ला आयुक्त तथा सिडिई जगदिश लामिछाने, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका हाकिम सुवाष बस्नेत, मन्त्रालयकै इञ्जिनियर अर्जुनकुमार कुशवाह र झापाका निमित्त आयोजना प्रमुख सुदीप पौडेलसहित आधा दर्जनलाई मध्याह्न मन्त्रालयमा चुकुल लगाएर घण्टौं गोप्य वार्तालाप गरेका हुन् ।

सिंहले पछिल्ला एकै वर्षमा मात्रै ५ जना  महानिर्देशक फेरे । ६ जना वरिष्ठ सहसचिवलाई पन्छाएर सातौं नम्बरका सुरेन्द्रमोहन श्रेष्ठलाई महानिर्देशक बनाई चालु वर्षका लागि विनियोजित अधिकांश बजेट इच्छानुकूलका कन्सल्टेन्सीलाई दिए र गत कात्तिक अन्तिम साता अघि बढेको उपत्यका प्राधिकरणको सात करोडको ठेक्काको विषयमा समेत छलफल गरेको बुझिएको छ । 

गत मंसिर १ गते नै सचिवस्तरीय निर्णयबाट बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गर्नेगरी लगाइएको अर्काे निर्णयलाई बहादुर भवनले बदर गर्न निर्देशन दिएपछि तिल्मिलाएका सचिवले बैठक डाकेको शहरी स्रोतले जनाएको छ । साउन यता मात्र सचिव सिंहले कोटेशनका नाममा बीसौं करोड रूपैयाँ बाँडेको शहरीका कर्मचारीले बताए । सवा सयभन्दा बढी कन्सल्टेन्सीसँग विभागले विभिन्न शीर्षकका कोटेशन सम्झौता गरेमध्ये सचिवका आफन्तको नाममा ५ वटा छन् । जसमध्ये तीन वटाको अफिस आयुक्त जानुकाको घरमै राखिएका थिए ।  यसबीच, एकदेखि पाँच हजार घुस खाने नासु, खरिदारउपर विशेषमा मुद्दा चलाउने अख्तियारले रमेशको करोडौं अनियमितताको उजुरी भने तामेलीमा राखेको छ । 

यता, आचारसंहिता सक्रिय भएको अवस्थामा मंसिर १ गते मध्यराति मन्त्री भेट्न भन्दै डिजी सुरेन्द्रलाई लिएर भालुवाङस्थित पौवा होटलको रुम नम्बर ३०८, ४०२, ४०३, ४०८ नम्बरका ४ वटा कोटा बुक गरी बसेका सिंहबारे सूचना पाएपछि राति एक बजे एमाले नेता–कार्यकर्ताले लखेटेकोमा मध्यराति नै उनी प्रदेश ३ १०–०२२ च ३४९९ नम्बरको स्कोरपियो र बा २ झ २९५७ नम्बरको पिकअप गाडीमा बाहिरिएका थिए । मन्त्रीको निर्वाचन क्षेत्रमा पुगेर चुनाव प्रभावित पारेको विषयमा उनलाई आयोगले स्पष्टीकरण सोधिसकेको छ । अवकाश हुनु पाँच दिनअघि गरेका सात वटा निर्णय निर्वाचन आयोगले खारेज गर्न निर्देशन दिएको, आफ्ना गतिविधिविरुद्ध टंगालमा उजुरीको चाङ लागेपछि  मातहतका कर्मचारी बोलाएर सेटिङका गोप्य कागजपत्र गोलमाल पारिएको र त्यसमा स्टोर हेर्ने एक कर्मचारीले सघाएको स्रोतको भनाइ छ ।

 

टिप्पणीहरू