ओलीका सल्लाहकारलाई वल्र्डकप लागेपछि

ओलीका सल्लाहकारलाई वल्र्डकप लागेपछि

‘पाडो होस् कि पाडी, के...जातिलाई बिगौती’ भनेजस्तो पार्टीले चुनाव जितोस् कि हारोस्, अवसरमा लिप्त हुनेलाई सधैं अवसरकै पर्खाई हुने रहेछ । पार्टीको हालत जे होस्, अरु नेता र उम्मेदवार हारुन् या मरुन् तर आफ्नो बफादारिता रहेको एक मात्र पात्रको उन्नति भए पुग्यो । 

समानुपातिकबाहेक प्रत्यक्षतर्फ पार्टीले देशभरिको मत परिणाममा क्षति व्यहोरिरहेको छ । मुख्य–मुख्य नेता हारिरहेका छन् । तर, एमाले उपमहासचिव विष्णु रिमाललाई भने विश्वकप फुटबलमै आनन्द छ । सोमबार दिउँसो १ बजे च्यासलस्थित पार्टी अफिसमा रिमालसँगै केपी ओलीका पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, विष्णु रिमालका भाञ्जा मनोज पाण्डे, पत्रकार श्रीधर आचार्यहरू जुट्दा ती हारको चिन्तामा थिएनन् । स्थानीय चुनाव होस् कि अहिलेको चुनाव– सभासम्मेलनको हल झकिझकाउ पार्न र ल्यापटप अगाडि राखेर सधैं मत प्रक्षेपणको आर्किटेक्ट तयार पारी अध्यक्ष ओलीलाई मुसुमुसु हाँसिरहने बनाउनमा सफल, आफू कहिल्यै कुनै चुनाव नलडेका विष्णु रिमाल भन्दै थिए, ‘आऽऽ आफू त रातभर वल्र्ड कप हेरिन्छ, बसिन्छ ।’ उनले भनेका थिए, ‘मनाङ र मुस्ताङमा जित्ने भनिएको सीट पनि हारियो, तर म हिजोदेखि वल्र्डकप हेर्न थालेँ, पत्तै पाइनँ ।’ 

रमेश बडालचाहिँ राजन भट्टराईले काठमाडौंको ४ नम्बर क्षेत्रबाट फेरि हार्ने भए भनेर चिन्तित देखिन्थे । उनी राजनका चुनावी कमाण्डर हुन् । क्षेत्र नंं. ८ मा जीवनराम श्रेष्ठ हार्ने कुराले उनी खुशी थिए तर जीवनरामको भन्दा थोरै मतका साथ एमालेकै शिवसुन्दर राजवैद्यले पनि हार्दै थिए । 

उनीहरूको विश्लेषणअनुसार, कांग्रेसले वामपन्थीलाई भोट नदिने पहिलेदेखिकै रुझान थियो । त्यसैले सुनियोजित रुपमा घण्टीलाई अगाडि सारियो । यसैबमोजिम काठमाडौंस्थित गगनको क्षेत्र नं. ४ मा घण्टीलाई उठाएनन्, १ मा प्रकाशमानसँग पनि पुकार बमले उम्मेदवारी निस्क्रिय पारे । ५ मा पनि प्रदीप पौडेललाई घण्टीको साथ थियो । विष्णु रिमालले गठबन्धनलाई कांग्रेसबाट यसरी धोका हुँदा एमालेलाई फाइदा भएको निश्कर्ष सुनाएका छन् । ‘कांग्रेसको भोट घण्टीमा जाँदा त्यो भोट मुख्यतः माओवादी र समाजवादीतिर जान पाएन’, उनी भन्दै थिए । ‘काभ्रेमा गोकुलले त जित्नैपर्ने हो,’ रमेश बडालको झिनो आश थियो । 

अर्कातिर, एमालेले समानुपातिकमा अहिलेसम्म कांग्रेसलाई जिते पनि घण्टीको मत बढ्दै जाँदा उसलाई समेत घाटा छ । यदि एमालेले त्यो स्थिति व्यहो¥यो भने उसले यो पराजयको कारक प्रचण्ड र माधवलाई देखाउने अनुमान लगाइँदैछ । यसबीच प्रत्यक्षसँगै समानुपातिक प्रणालीतर्फको मतगणना पनि जारी छ । तर, सोको खासै चर्चा छैन । मतगणनामा नेपाली कांग्रेस, एमाले, स्वतन्त्र, राप्रपापछि माओवादी केन्द्र, एकीकृत समाजवादीहरू पुगेका छन् ।

कूल मतदानको तीन प्रतिशत मत नल्याउने दलले समानुपातिकतर्फ सांसद चयन गर्न पाउँदैन । यसपटक देशभरि कम मतदान भएको कारण समानुपातिकको थ्रेसहोल्ड कटाउन कम मत आए पुग्ने भएको छ । प्रतिशत उही ३ हो, तर मत संख्यामा कमी भए पनि कतिपय दललाई थ्रेसहोल्ड कटाउन सजिलो पर्ने भएको छ । एक सांसद आउन एक लाख १२ हजार मत चाहिने भनिएकोमा अब ९५ हजारदेखि एक लाख बराबर एक सांसद हुने स्थिति भएको छ । थ्रेस होल्डको प्रतिशत कटाउन पाँच लाख चाहिनेमा अब चार लाखले हुने स्थिति छ । निर्वाचन आयोगले देशभरिमा करिब १ करोड ३२ लाख मतदान हुने अनुमान गरेको थियो । तर, १२ लाख कम मतदान भएको छ ।

 

टिप्पणीहरू