गण्डकीमा ६० कटेका ८ सांसद

गण्डकीमा ६० कटेका ८ सांसद

यस पटकको निर्वाचनमा गण्डकी प्रदेशको राजनीतिमा पुस्ता हस्तान्तरण भएको देखिएको छ । नतिजा सार्वजनिक भएका ३४ सीटमध्ये १५ जना ५० वर्षभन्दा कम उमेरका छन् ।  मुस्ताङ (क) बाट सबैभन्दा कान्छा सांसद निर्वाचित भएका छन् । काँग्रेस सांसद नम्डु गुरुङ भर्खर ३३ वर्षका छन् । उनीजस्तै चार जना ४० वर्ष मुनिका छन् । मुस्ताङकै प्रदेश सभा (ख) बाट काँग्रेसका ३९ वर्षे विकल शेरचन विजयी भएका छन् । 

याग्दीका पनि दुवै सांसद ४० वर्ष मुनिकै छन् । प्रदेशसभा (क) मा माओवादीका हरि भण्डारी ३८ वर्ष तथा (ख) बाट माओवादीकै ३९ वर्षका रेशम जुग्जाली सांसद बनेका छन् । बागलुङ १ (ख) मा काँग्रेसका ३८ वर्षका डिल्लीराम सुवेदी निर्वाचित भएका छन् । 

गोरखा १ (ख) बाट निर्वाचित काँग्रेसका नन्दप्रसाद न्यौपाने ४२ वर्षका हुन् । गोरखा २ (क) बाट निर्वाचित बाबुराम भट्टराईका फणिन्द्र देवकोटा ४६ वर्षका र मनाङ (क) बाट निर्वाचित भएका काँग्रेसका मुनिन्द्र जंग गुरुङ ४१ वर्षका छन् । 

लमजुङ (क) बाट निर्वाचित काँग्रेसका टकराज गुरुङ ४७ वर्षमा हिँडेका छन् भने (ख) का सांसद काँग्रेसकै भेषबहादुर पौडेल पनि ४७ वर्षका हुन् । कास्की ३ (ख) का सांसद काँग्रेसका प्रकाश बरालले बल्ल ४३ वर्ष टेकेको बताइन्छ । 

नवलपुर १२ (क) बाट एमालेकी पद्या जिसी ४७ वर्षमा संसद छिरेकी छन् । बागलुङ २ (क) बाट काँग्रेसकै जीत शेरचन निर्वाचित भएका छन् । उनी बल्ल ४३ वर्षका भए । २ (ख) का दोर्ण कुवँर पनि ४२ वर्षका हुन् । 

११ जना सांसद ५० देखि ६० वर्ष उमेरका छन् । गोरखा २ (ख) बाट निर्वाचित भएका काँग्रेसका सुरेन्द्रराज पाण्डे ५८ वर्षमा लागे । उनी मुख्यमन्त्रीका दाबेदारसमेत हुन् ।  कास्की १ (ख) का सांसद एमालेका बेदबहादुर गुरुङ ५२ वर्षका भए । कास्की २ (क) बाट एमालेका भीम कार्की ५२ वर्षको उमेरमा सांसद बनेका छन् ।

 
कास्की २ (क) बाट निर्वाचित एमालेका भीम कार्की ५२ वर्ष तथा (ख) बाट निर्वाचित काँग्रेसका विन्दुकुमार थापा ६५ वर्षका भए । तनहुँ १ (क) बाट काँग्रेसका अशोककुमार श्रेष्ठ ५९ वर्षका छन् भने १ (ख) बाट माओवादीका हरिबहादुर चुमान ५९ वर्षका ।

नवलपुर १ (ख) बाट एमालेका रोशन गाहा थापा ५९ वर्ष पुगेका छन् । २ (ख) बाट एमालेकै लक्ष्मण पाण्डे ५४ वर्षको उमेरमा सांसद बनेका छन् । बागलुङ १ (क) मा काँग्रेसका ५६ वर्षीय दीपेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । 

पर्वत १ (क) मा निर्वाचित एमालेका भक्त कुवँर ५६ वर्षको भए । स्याङ्जा १ (क) बाट एमालेकी ५६ वर्षीय सीता सुन्दास निर्वाचित भएकी छन् भने १ (ख) मा एमालेकै ५१ वर्षका सुधिर पौडेल निर्वाचित भएका छन् । 

हालसम्मको नतिजा अनुसार कास्की २ (ख) का काँग्रेस सांसद विन्दुकुमार थापा सबैभन्दा बढी उमेरका छन् । उनी ६५ वर्षका भए । पर्वत (ख) बाट निर्वाचित मित्रलाल बस्याल पनि समान ६५ वर्षकै छन् । उनी एमालेबाट विजयी भएका हुन् । 

तनहुँ २ का दुवै सांसद ६० नाघेका छन् । २ (क) बाट निर्वाचित एमालेका श्यामराजा महत ६३ वर्ष तथा २ (ख) बाट विजयी जीतप्रकाश आले ६० वर्षका छन् । नवलपुर १ को प्रदेश सभा (क) बाट निर्वाचित काँग्रेसका महेन्द्रध्वज जिसी ६४ वर्षका भए । गोरखा १ (क) बाट निर्वाचित माओवादीका कृष्ण धिताले ६२ वर्ष पुगेका छन् । 

कास्की १ (क) बाट निर्वाचित एमालेका खगराज अधिकारी ६० वर्ष लागे । कास्की ३ (क) का सांसद एमालेका गणेशमान गुरुङ पनि ६१ वर्षका छन् । स्याङ्जाका २ निर्वाचन क्षेत्रको मत गन्न अझै सुरु भएको छैन । २ (क) मा ६० नाघेका उम्मेदवारबीच प्रमुख प्रतिस्पर्धा छ भने (ख) मा ५५ र ४५ वर्ष उमेरका उम्मेदवारबीच प्रतिश्पर्धा हुने देखिन्छ ।

टिप्पणीहरू