पराजित उम्मेदवारमाथि कुटपिट, निवासमा ढुंगामुढा

पराजित उम्मेदवारमाथि कुटपिट, निवासमा ढुंगामुढा

सिरहाको गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साहको घरमा तोडफोड गरिएको छ । एमाले कार्यकर्ताले गरेको ढुंगामुढा र कुटपिटविरुद्ध सर्वसाधारणले सडक अवरुद्ध गरेका हुन् ।

सिरहा ३ बाट निर्वाचित लिलानाथ श्रेष्ठसहित सहभागी विजय र्यालीका कार्यकर्ताले प्रमुख प्रतिस्पर्धी विश्वनाथ साह र उनका दाजु देवनाथको घरमा ढुङ्गामुढा गरेको आरोप छ । सोही घटनाको विरोध गर्दै दोषीलाई कारवाहीको मागसहित आज गोलबजार बन्द गरेर सडक अवरुद्ध पारिएको साह निकटस्थहरुले बताएका छन् ।

 
एमाले कार्यकर्ताले गोलबजार नपा–४ स्थित साहको घरमा ढुंगामुढा गर्दै एक जनालाई कुटपिट समेत गरेको स्थानीयको भनाइ छ । त्यसैको विरोधमा आज बिहानैदेखि स्थानीय र माओवादी नेता कार्यकर्ताले गोलबजार बन्द गरेका थिए । उनीहरुले पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्डमा टायर बालेर सडक अवरुद्ध पारे ।

टाउकोमा चोट लागेका साहको गोलबजारस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सडक अवरुद्ध भएपछि लामो समयसमम्म पूर्व–पश्चिम राजमार्गको गोलबजार क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको बताइन्छ ।

एमालेका श्रेष्ठले सत्ता गठबन्धनका उम्मेदवार साहलाई एक हजार एक सय ८२ मतान्तरले पछि पार्दै निर्वाचित भएका छन् । जीतको उन्मादमा ढुंगामुढा गरेको माओवादी केन्द्र जिल्ला कमिटीले आरोप लगाएको छ ।

टिप्पणीहरू