मुलुक चुनावमा मस्त,नेपाल टेलिकम अरबौंको गोप्य काण्डमा मस्त

मुलुक चुनावमा मस्त,नेपाल टेलिकम अरबौंको गोप्य काण्डमा मस्त

सरकारी स्वामित्वको नेपाल टेलिकममा आमनिर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा नहुँदै अरबौँको खरिद तमाम गर्ने खेल जारी छ । कम्तिमा नयाँ सरकार बन्नुअघि सबै काम सकाउने रोडम्यापबमोजिम झण्डै १७ मिलियन अर्थात् १ करोड ७० लाख अमेरिकी डलर बराबरको ठेक्का गुपचुप मिलाउने प्रपञ्च रचिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयस्थित उच्चस्तरीय कर्मचारी श्रोतको दावी छ । 

आरआरयु मोडर्नाइजेसन अर्थात रिमोट रेडियो युनिट परियोजना नाम दिइएको उक्त खेलोफड्कोमा २ अर्ब ३० करोड नेपाली रुपैयाँको बजेट बनाइएको छ । १७ मिलियन अमेरिकी डलरको परियोजना टेलिकम र विदेशी कम्पनीबीच सामान्य सहमतिमा गर्न लागिएको हो । 

अस्ति शुक्रबार बसेको टेलिकम बोर्ड बैठकमा त्यससम्बन्धी प्रस्ताव पेश भएको छ । टेलिकमभित्रका धेरैजसो हाकिम रुष्ट हुँदाहुँदै आज र ढिलोमा भोलिसम्म उक्त निर्णय गराउने तयारी छ । सोही कार्य फत्ये गर्नलाई आज साँझ टेलिकमको अर्को बोर्ड बैठक बोलाइएको स्रोतको दाबी छ ।

‘आज साँझको बोर्डमा पुनः सोही विषयमा छलफल हुँदैछ,’ स्रोतले भन्यो, ‘१७ मिलियन अमेरिकी डलर लागत देखाइएको छ । जबकि टेलिकमले अगाडि सारेको आरआरयु मोडर्नाइजेसन परियोजना २० देखि ३० लाख अर्थात दुईदेखि तीन मिलियन अमेरिकी डलरमा सम्पन्न हुन्छ । दुईदेखि तीन मिलियनको सामानलाई १७ मिलियन बनाएर बूढानीलकण्ठको चुनाव खर्च उठाउने र अन्य पात्रलाई गच्छेअनुसार भाग पुर्याउने खेल खेल्न थालिएको छ ।’

‘अब टुजी,थ्रीजी र फोरजीको फरक प्रविधिलाई हटाएर एउटै प्रविधिमा आवद्ध गर्ने भनिँदैछ । टावर पुरानै भएपनि नयाँ सामान जडान गर्ने हो,’

 

परियोजनाको निम्ति आवश्यक प्रविधि र सामान चीनको हुवावेइ कम्पनीसँग द्विपक्षीय सम्वादबाट खरिद गर्न लागिएको हो । यो परियोजनाअन्तर्गत मोबाइल टावरमा राखिएका यसअघिका सामान फेर्ने मुख्य उद्देश्य राखिएको छ । तर टेण्डर डकुमेण्टमा ‘रेफरेन्स प्राइस’ अर्थात सामानको प्रचलित मूल्य नतोकिनुले उक्त परियोजनालाई शंकाको दृष्टिले हेरिएको त्यहाँका कर्मचारी बताउँछन् ।

‘यस्तै काम बेलैमा सम्पन्न गर्न प्रधानमन्त्री पत्नी र बिचौलिया हनी इण्टर्प्राइजेजका दिनेश श्रेष्ठ र रुपकहरुले आफू अनुकूलको हाकिम ल्याएका हुन्,’कर्मचारी युनियनका एक जना पदाधिकारीले भने, ‘प्रविधि प्रोप्राइटरीमा किन्न लागेको भनिएको छ,तर त्यसवारे कहिँकतै उल्लेख छैन । हुवावेइले सामानको मूल्य १० हजार डलर तोकेर ५० प्रतिशत छुटमा उपलब्ध गराउने कार्यलाई नै अहिले प्रोप्राइटरी भन्न थालिएको जस्तो लाग्दैछ ।’ 

अरबौं पर्ने सामानको मूल्य पारदर्शी नभएको,मनलाग्दी मूल्य तोकेर हेर्दा आकर्षक छुट उल्लेख गरिएकाले खेल त्यसैमा गर्न खोजिएको स्रोतको दाबी छ । मोबाइलमा प्रयोग भइरहेको टुजीदेखि फोरजीसम्मको सिस्टम हटाएर नयाँ राख्ने भन्दै नयाँ परियोजना अघि सारिएको हो । 

जबकि फोरजी सिस्टम टेलिकमले जडान गरेकोसमेत धेरै भएको छैन । उक्त कार्यमा एक वर्षअघि दुई सय मिलियन डलर खर्च भएको थियो । अहिले त्यसलाई हटाएर मोडर्नाइजेसन गर्ने भनिएको छ । ‘अब टुजी,थ्रीजी र फोरजीको फरक प्रविधिलाई हटाएर एउटै प्रविधिमा आवद्ध गर्ने भनिँदैछ । टावर पुरानै भएपनि नयाँ सामान जडान गर्ने हो,’ नाम उल्लेख नगर्ने शर्तमा एक जना सञ्चालकले बताए ।
 
उनैले स्पष्ट पार्दै भने, ‘म्यानेजमेण्टले ल्याएको प्रस्तावमा पहिले एउटा टावरमा तीनथरि सामान झुण्ड्याइन्थ्यो, अब एउटा टावरमा एउटा मात्रै सामान झुण्ड्याए पुग्छ भनिएको छ । त्यसैलाई आरआरयु भनेर एउटै डल्लोभित्र फोरजीसम्म हुने भनेको विषयमा छलफल भएको छ ।’

टिप्पणीहरू