२५ लाख मत कट्नासाथ एमाले अध्यक्ष दङ्ग

२५ लाख मत कट्नासाथ एमाले अध्यक्ष दङ्ग

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले २५ लाख मत कटाएकोमा प्रसन्नता व्यक्त गर्नुभएको छ । उहाँले लोकप्रिय मत २५ लाख प्लस भएकोमा सबैलाई धन्यवाद दिँदै सामाजिक सञ्जालमा खुशीयाली मनाउनुभएको छ ।

अघिल्लो निर्वाचनमा एमालेले ३१ लाख ७३ हजार ४९४ मत प्राप्त गरेको थियो । त्यो भनेको कूल मतको ३३ दशमलव २५ प्रतिशत हो । यसपटक एमाले २७ दशमलव २७ प्रतिशतको हाराहारीमा पुगेको छ । पहिलेको बराबर मत पुर्याउन अझै ६ लाख बढी भोट आवश्यक देखिन्छ ।

 
अध्यक्षले सामाजिक सञ्जालमा २५ लाख भोटमा हर्ष व्यक्त गरेपछि अचम्मका प्रतिक्रिया पनि लेखिएका छन् । गौरी जी मगरले व्यङ्ग्य गर्दै लेखेकी छन्, ‘परिवर्तनको समय आयो भनेका थियौं हामीले तर होइन रहेछ । तिम्रो आत्मशान्ति गरिदिएछ जनताले । जनतालाई के दिन्छौ बा ? अराजक बानी नदेखाउनु फेरि ।’

सुमन कार्कीले भर्खरै खोलिएका पार्टीले १० लाख प्लस ल्याएको सन्दर्भ जोडेका छन् । उनले भर्खरका पार्टीले १० लाख कटाउँदा ‘के को फूर्ति ?’ भनेका छन् ।

टिप्पणीहरू