कर्णालीमा बदर मत उस्तै,मतदाता शिक्षा मरुभूमिमा पानी

कर्णालीमा बदर मत उस्तै,मतदाता शिक्षा मरुभूमिमा पानी

कर्णालीका चार जिल्लामा झण्डै १६ प्रतिशतसम्म मत बदर भएको पाइएको छ । सल्यानमा ८३ हजार ७०४ मत खसेमध्ये १३ हजार ६१४ मत बदर भएको छ । 

प्रदेशको राजधानी सुर्खेतमा आठ हजार ३१८ मत बदर भएको निर्वाचन कार्यालयहरुको प्रारम्भिक तथ्याङ्कले जनाएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा १ लाख ५४ हजार ८११ मत खसेको थियो । करिब ५ दशमलव ३७ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालय प्रमुख दुर्गाप्रसाद चालिसेले बताए ।  

डोल्पामा करिब दुई हजार मत बदर भएको छ । निर्वाचन कार्यालय डोल्पाले १७ हजार ८३७ मत खसेकोमा एक हजार ९९९ मत बदर भएको जनाएको छ । यो करिब ११ प्रतिशतभन्दा बढी हो । 

यसैगरी,जाजरकोटमा पनि ११ प्रतिशत मत बदर भएको छ । त्यहाँका प्रत्येक मतदान केन्द्रमा ४ देखि ११ प्रतिशतसम्म मत बदर भएको निर्वाचन कार्यालय जाजरकोटका निमित्त प्रमुख नवीन कठायतले जानकारी दिए । 

पाँच वर्षअघिको निर्वाचनको तुलनामा मत बदर संख्या उल्लेख्य रुपमा घटेको पाइएको छैन । करोडौं खर्च गरिएको मतदाता शिक्षा कार्यक्रमको प्रभावकारिता कर्णालीमा न्यून पाइएको हो । मतदाता शिक्षाको कमि र राजनीतिक दलहरुले निर्वाचन तालमेल गरे पनि भोट हाल्ने तरिका नसिकाएको प्रष्ट देखिएको छ ।

अर्कोतर्फ मतदाता शिक्षा कार्यक्रम सबै टोल बस्तीमा पुर्याउन नसकेको र त्यसलाई सदरमुकाम र सहज स्थानमा मात्र प्रयोग गरिएको पाइएको छ । यसले मतदाता शिक्षा कार्यक्रममा गरिएको करोडौंको खर्च बालुवामा पानी सरह भएको छ ।

टिप्पणीहरू